डिसेम्बर २५: सूर्यदिवस कि क्रिसमस डे

२०८१ पुष ९ गते मंगलवार
सारांश
  • पोप जुलियस पनि अघि रोमन धर्मको पूजारी थियो । पूजारी छँदा उसले पनि सूर्य देवताकै पूजा गथ्र्याे । जब ऊ पनि इसाइ बन्यो तब उसैले आफूले पूजी आएको सूर्यदेवताकोे दिनलाई क्रिसमस घोषणा गरिदियो ।

समाज हल्लाको पछाडि कुद्छ । जसले यो बुझेका छन्, तिनीहरूले कमसल वस्तुलाई पनि महँगो दाममा बेचिरहेका छन् र बिकिरहेको छ पनि । फेयर एण्ड लभ्ली नामको क्रिमले छाला गोरो हुन्छ भन्दै विज्ञापन बजायो । थुप्रै थुप्रैले त्यो क्रिम किने र लगाए पनि तर कुनै कालोे छाला गोरो भएन ।

 

यदि साँच्चिैक गोरो हुन सकिन्थ्यो त्यो क्रिम अनुहारमा दलेर भने, अफ्रिकामा त्यसको ठुलो माग हुनुपर्ने अथवा संसारमा सबै जना गोरैगोरा हुनुपर्ने । उसको विज्ञापन झूठो हो । सबैलाई थाहा छ तर पनि किने; प्रयोग गरे । कम्पनीले थुप्रै पैसा कमायो । त्यसकै सिको गरेर अन्य पनि क्रिम निस्के, छालालाई गोरो बनाउने ।

 

नेपालको इसाइ मिसन तथा डिसेम्बर २५ मा येशु जन्मेको विश्वास पनि त्यस क्रिमले अँगालेको बजार रणनीति अनुसारै चलिरहेका छन् । कमजोर बौद्धिकता तथा अन्धविश्वासी समाजमा त्यसैले यो पन्थ निकै फस्टाएको छ र यसका प्रचारकर्ताहरूले पनि खुबै धन कमाइरहेका छन् ।

 

येशुको जीवनीमाथि धेरै खोज अनुसन्धान हुँदा धेरै फरक तथ्य सार्वजनिक भइसके; बाइबलमा येशुबारे पाइने विवरणहरू झूठो हुँदैछन्; इजरायलको कुनै भागमा रहेको एउटा रित्तो चिहान देखाएर येशुको वास्तविकता प्रमाणित गर्ने प्रयास इसाइ जगतले निरन्तर गरिरहेको छ र त्यसैलाई मानसिक गुलामीमा फसेका मानिसहरू अन्तिम सत्य मानिरहेका छन् ।

 

बाइबलभित्र येशुको जन्मबारे मत्ती र लुकाको पुस्तकमा कथा छ, तर दुवै पुस्तकले दिएको कथा फरक छ । एउटा मान्छेको जीवनमा एउटै घटना दुई फरक ढंगले कसरी सम्भव भयो ? आजसम्म इसाइहरूले सोच्न सकेको देखिँदैन । अनि दुवै पुस्तकले येशू डिसेम्बर २५ मा जन्मेको प्रमाणित गर्दैनन् तर पनि डिसेम्बर २५ मा येशु जन्मेको भन्दै क्रिसमस मनाइन्छ । के इतिहासको यथार्थमाथि झुठले श्रृङ्गारेको कार्पेट विछ्याउन मिल्छ ? कुन विवरण वा इतिहासले प्रमाण दिन्छ–डिसेम्बर २५ मा येशु जन्मेको ?

 

मत्तीले भन्छ–यहुदियाको वेथलेहममा भर्खर जन्मेका बालक येशुलाई राजा हेरोदले मार्न खोज्यो । त्यसैले, योसेफ र मरियम बालक येशुको ज्यान जोगाउन रातारात मिश्र गए र हेरोद नमरेसम्म उतै बसे । तर, लुकाको पुस्तक यस महत्वपूर्ण प्रसंगमा मौन छ । उल्टै, वेथलेहम मै येशुको खतना र नामकरण भएको संकेत दिन्छ, लुकाले ।

 

प्रश्न उठ्छ–मिश्र–गमन कहिले भयो ? खतनाअघि वा खतनापछि ?

अनि, मत्ती भन्छ–हेरोदको मृत्युसम्म उनीहरू मिश्र मै बसे । तर, लुका भन्छ–यहुदी परम्परा अनुसारको ४० दिने सुत्केरी जुठोबाट शुद्ध भएपछि उनीहरू बाँकी काम सिध्याउन यरूशलेम गए ।

 

फेरि प्रश्न उठ्छ– भर्खरकी सुत्केरी श्रीमती र नवजात शिशु बोकेर ६९६ किलोमिटरको दोहोरो यात्रा, चालिस दिनमा सम्भव छ ? मत्ती अनुसार, उनीहरू केही समय मिश्रमै बसेका छन् । ४० दिनको छोटो समयमा, ६९६ किलोमिटरको दोहोरो यात्रा, साथमा नवजात शिशु र सुत्केरी, केही दिन मिश्रको बसोबास, कुनै कोणबाट पनि मिश्र–गमन र यरूशलेम भ्रमणबीच तालमेल बस्दैन । हवाइजहाजमा गएका थिए भन्न नमिल्ने ।

 

मत्ती भन्छ–हेरोदको मृत्युपछि उनीहरू मिश्रबाट फर्केर गालीलको नासरत भन्ने नगरमा बस्न गए । तर लुका अनुसार, येशु जन्मनुभन्दा अघिदेखि नै योसेफ नासरत नगरका बासिन्दा हुन् । लुका अनुसार, नासरतबाटै गर्भवती मरियमलाई साथमा लिई उनी यहुदियाको वेथलेहम गए, जनगणनामा नाम दर्ता गर्न र त्यहीँ येशुको जन्म भयो । आठौँ दिनमा येशुको खतना गरियो र नामकरण पनि । यहुदी परम्परा अनुसार, चालिस दिने सुत्केरी जुठोबाट शुद्ध भएपछि बालक येशुलाई लिएर उनीहरू यरूशलेम गए र बाँकी कामहरू सिध्याई गालीलको नासरतमा फर्के ।

 

फेरि पनि प्रश्न उठ्छ–योसेफ येशु जन्मनु अघिदेखि नै नासरतका बासिन्दा हुन वा मिश्रबाट फर्केपछि मात्रै मरियम र येशुलाई साथमा लिई नासरत गएका हुन् ?कुन सत्य हो ? कुन झुठ हो ?

 

जन्मको सम्बन्धमा प्रष्ट र एकमत विवरण उपलब्ध छैनन् अनि केको आधारमा डिसेम्बर २५ मा येशु क्रिसमस ? किनभने एउटा इसाइ समूहले जनवरी ६ तारिखमा क्रिसमस मान्दछ, अर्काे इसाइ समूहले डिसेम्बर २५ मा । एउटा तर्क अर्काे छ–उत्तर अफ्रिकामा फेला परेको एउटा कागजात अनुसार येशु मार्च २८ तारिखमा जन्मेका हुन् । यो कागजात ईस्वी संवत २४३ मा लेखिएको अनुमान छ ।

 

खोजकर्ताहरू भन्छन्–‘गोठालाहरू चउरमा बसीरहेका थिए’ भन्ने लुकाको भनाइले वसन्त ऋतु वा गर्मीको समयतीर संकेत गर्दछ किनभने, डिसेम्बर अत्यधिक जाडो र वर्षाको समय हो; यस्तो मौशममा कुन मुर्ख मान्छे होला घरभित्र नबसी चउरमा बस्ने ? जनगणना भईरहेको थियो पनि भनेको छ लुकाले । अत्यधिक जाडोको समयमा जनगणना सम्भव र सुहाउँदो कार्य होईन ।

 

मत्तीमा ताराहरूको उल्लेख छ । यस विषयमा पनि खोजकर्ताहरूको दाबी छ–त्यसप्रकारको आकाशीय अवस्था ईशापूर्व २ जुन अथवा ईशापूर्व ७ अक्टोबरको हुनसक्छ । त्यसो हुँदा, येशु काल्पनिक पात्र ठहरिन्छन् ।  

 

डिसेम्बर २५ को यथार्थ

येशु वितेको झण्डै ३०० वर्षसम्म क्रिसमस मनाइएको छैन ।

बाइबलमा येशुका पिता, आमा, भाइ, चेलाहरूको विवरण भेटिन्छ तर ‘क्रिसमस डे’ को विवरण भेटिँदैन । यदि येशु डिसेम्बर २५ मा जन्मेका हुन्थे भने उनका आमाबुवा, भाइ र चेलाहरूले उनको जन्मदिन मनाएको विवरण पक्कै फेला पर्नुपर्ने । पावेल र पत्रुस–जसले येशुको धेरै स्थानमा प्रचार गरे; विश्वासीहरूलाई अनेक पत्र लेखे–समेत क्रिसमस डे बारे अनविज्ञ थिए ।

 

रोमन सम्राट कन्स्टान्टाइनको दरबारमा बाइबल संकलनको कार्य चलिरहँदा समेत क्रिसमसबारे कुनै ठोस प्रमाण देखा पर्दैन तर कन्स्टान्टाइनले आफ्नो साम्राज्यभित्र रोमन धर्ममाथि प्रतिबन्ध लगाएपछि चाहिँ बल्ल ‘क्रिसमस डे’ जन्मेको हो ।

 

एक जना पोप थिए–जुलियस प्रथम, सन् ३३७–३५० तिर । तिनले नै रोमनहरूले सूर्यदेवतालाई पूजिरहेको डिसेम्बर २५ लाई येशुको जन्मदिन घोषणा गरे । ती पोप राजा कन्स्टान्टाइनसँग राम्रो सम्बन्ध राख्ने । कतिपय खोजकर्ता भन्छन्–राजाले बप्तिस्मा लिएको थिएन । ऊ भित्रभित्रै सूर्यदेवताको पूजा गथ्र्याे तर आमाको दबाब सहन नसकेर उसले रोमन साम्राज्यमा इसाइ पन्थ फैलाएको थियो किनभने उसकी आमालाई इसाइ मिसनरीले प्रभावमा ल्याई, इसाइ पनि बनाइसकेका थिए ।

 

पोप जुलियस पनि अघि रोमन धर्मको पूजारी थियो । पूजारी छँदा उसले पनि सूर्य देवताकै पूजा गथ्र्याे । जब ऊ पनि इसाइ बन्यो तब उसैले आफूले पूजी आएको सूर्यदेवताकोे दिनलाई क्रिसमस घोषणा गरिदियो । यो कुरालाई विश्लेषण गर्दा, पोेप जुलियसलाई येशूमाथि भन्दा पनि सूर्यदेवतामाथि नै श्रद्धा रहेको देखिन्छ त्यसैले उसले रोमनहरूले पूज्ने गरेका देवताको दिनलाई सदासर्वदा पूज्य नै राख्ने प्रयास गरेको महसुस हुन्छ ।

 

अत्यधिक जाडोको समयमा रोमनहरू कृषि–व्यापार आदि सबै कार्य रोकेर 'स्याटर्नलिया' मनाउने गर्दथे । घर सिँगार्ने, मैनबत्ती बाल्ने, गाउने, नाच्ने, खानेपिउने, उपहार आदानप्रदान गर्ने गर्दथे । सूर्य–पुजा सिरिया र मिश्रमा पनि हुने गर्दथ्यो । पर्सिया, मेसोपोटामिया, चीन, जापान, अफ्रिकामा पनि सूर्याेपासना हुन्थ्यो । वैदिकहरू अहिले पनि सूर्याेपासना गर्दछन् । 

 

यसरी अरूको देवीदेवतालाई सैतान ठान्ने इसाइहरूलाई नै घुमाउरो बाटोबाट सूर्यदिवस मान्न र स्विकार्न बाध्य पारेको देखिन्छ पोप जुलियसले । किनभने जसरी रोमनहरू डिसेम्बर २५ मनाउने गर्दथे त्यसरी नै इसाइहरू क्रिसमस मनाउने गर्दछन् । फरक यत्ति हो, रोमन धर्ममा डिसेम्बर २५ को दिन सूर्य देवतालाई सूर्य देवता नै मानेर पूजिन्थ्यो । अहिले डिसेम्बर २५ मा सूर्य देवतालाई येशू मानेर पूजिन्छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप लेखहरु