तिहारका लागि ६४ करोडभन्दा बढीका झिलिमिली बत्ती भित्रिए, मूल्य बढ्ने

१६ कार्तिक, २०८३
सारांश
  • तिहारलाई लक्षित गरी चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा ६४ करोड ५२ लाख रुपैयाँ बराबरका झिलिमिली बत्ती आयात भएका छन्। भन्सार विभागको तथ्यांकअनुसार असोज मसान्तसम्म २८ लाख ५९ हजार थान यस्ता बत्ती नेपाल भित्रिएका हुन्।

काठमाडौं : तिहारलाई लक्षित गरी चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा ६४ करोड ५२ लाख रुपैयाँ बराबरका झिलिमिली बत्ती आयात भएका छन्। भन्सार विभागको तथ्यांकअनुसार असोज मसान्तसम्म २८ लाख ५९ हजार थान यस्ता बत्ती नेपाल भित्रिएका हुन्।

 

गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान झिलिमिली बत्ती आयात भएका थिए। यस वर्ष आयातको मूल्य करिब ८ प्रतिशतले बढेको छ भने परिमाणमा करिब २७ प्रतिशतले कमी आएको छ।

 

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि, अमेरिकी डलरको विनिमय दरमा आएको परिवर्तन र ढुवानी खर्च बढ्दा झिलिमिली बत्तीलगायत विद्युतीय सामग्री महँगिएका छन्।

 

नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलले यी कारणले विद्युतीय सामग्रीको मूल्य १५ देखि २० प्रतिशतसम्म बढेको बताए।

 

उनका अनुसार विद्युतीय सामग्री उत्पादन तथा आयातमा प्रयोग हुने अधिकांश कच्चा पदार्थ चीनबाट र केही भारतबाट आउने गरेका छन्। विशेषगरी चीनमा उत्पादन लागत बढ्दा नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ।

 

झिलिमिली बत्तीमा प्रयोग हुने तामाको तार र बाहिरी आवरणमा राखिने प्लास्टिकको मूल्यसमेत बढेको पौडेलले जानकारी दिए। कच्चा पदार्थकै मूल्य वृद्धि भएपछि स्रोत बजारबाटै सामान महँगोमा खरिद गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

 

त्यस्तै, अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिले पनि आयात लागत बढाएको छ। डलर महँगिँदा विदेशबाट सामान खरिद गर्न व्यवसायीले बढी रकम खर्च गर्नुपर्ने अवस्था आएको उनले बताए।

 

ढुवानी खर्चमा भएको अस्वाभाविक वृद्धिले पनि विद्युतीय सामग्रीको मूल्य बढाएको छ। पौडेलका अनुसार अघिल्लो वर्ष एउटा कन्टेनर ढुवानी गर्न २ हजारदेखि २ हजार २०० अमेरिकी डलर लाग्ने गरेकोमा अहिले ६ हजार डलरसम्म खर्च गर्नुपरेको छ। यति रकम तिर्दासमेत कन्टेनर सहजै उपलब्ध हुन नसकेको उनले बताए।

 

यसका अतिरिक्त चीनसँग जोडिएको केरुङ नाकाबाट नियमित रूपमा सामान ल्याउन नसक्दा पनि आयात प्रभावित भएको छ। केरुङ नाका हुँदै सामान ल्याउँदा कम खर्च लाग्ने भए पनि अहिले वीरगन्जलगायत अन्य नाका प्रयोग गरेर सामान ल्याउनुपर्ने बाध्यता रहेको पौडेलको भनाइ छ।

 

उनका अनुसार बजारमा विद्युतीय सामग्रीको माग रहे पनि आपूर्ति सहज छैन। अघिल्लो वर्षको तुलनामा यस वर्ष व्यवसायीहरूसँग पर्याप्त मौज्दातसमेत छैन।

 

आयातको कुल मूल्य बढे पनि बत्तीको परिमाण घट्नु र आपूर्ति व्यवस्थामा समस्या देखिनुले यस वर्ष तिहारमा झिलिमिली बत्तीको मूल्य बढ्ने संकेत गरेको छ। व्यवसायीहरूका अनुसार कच्चा पदार्थ, डलर र ढुवानी खर्चको बढ्दो लागतको असर अन्ततः उपभोक्ताको खरिद मूल्यमा पर्नेछ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार