ग्यास उद्योग सङ्घको अपिल: ग्यास अभाव अस्थायी, अनावश्यक रूपमा संकलन नगर्न आग्रह

१९ श्रावण, २०८३, मगलवार
सारांश
  • सङ्घले आयात नियमित हुँदाहुँदै पनि बजारमा ग्यास अभाव देखिनुको कारण विगत चार महिनामा करिब ४५ हजार मेट्रिक टन ग्यास नियमित आवश्यकताभन्दा कम आयात हुनु, लामो समयसम्म आधा सिलिन्डरको प्रयोग हुनु तथा ग्यास नपाइने हो कि भन्ने चिन्ताले धेरै उपभोक्ताले एकैपटक खाली सिलिन्डर भर्न खोज्नु रहेको स्पष्ट पारेको छ ।

काठमाडौँ: एलपिजी ग्यास उद्योग सङ्घ नेपालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव अस्थायी भएको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास संकलन नगर्न आग्रह गरेको छ । 

 

सङ्घले पछिल्लो समय ग्यासका लागि विभिन्न स्थानमा लामो लाइन लाग्ने र लाइनमा बसेर पनि ग्यास नपाउने अवस्था देखिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

सङ्घका अनुसार विगतमा तेस्रो मुलुकमा भएको अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित भएपछि उपभोक्ताको सहजताका लागि आधा सिलिन्डर (७.१ किलोग्राम) ग्यास वितरण गरिएको थियो। अहिले अन्तर्राष्ट्रिय अवस्था सामान्य बन्दै गएको, ग्यास आयात नियमित भएको र उपभोक्ताको माग पनि पूरा सिलिन्डर (१४.२ किलोग्राम) तर्फ रहेकाले पुनः पूरा सिलिन्डर वितरण नियमित गरिएको जनाएको छ।

 

सङ्घले आयात नियमित हुँदाहुँदै पनि बजारमा ग्यास अभाव देखिनुको कारण विगत चार महिनामा करिब ४५ हजार मेट्रिक टन ग्यास नियमित आवश्यकताभन्दा कम आयात हुनु, लामो समयसम्म आधा सिलिन्डरको प्रयोग हुनु तथा ग्यास नपाइने हो कि भन्ने चिन्ताले धेरै उपभोक्ताले एकैपटक खाली सिलिन्डर भर्न खोज्नु रहेको स्पष्ट पारेको छ ।

 

सङ्घले कम्तीमा एक महिनासम्म पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल लाइनमा नबस्न, विक्रेतालाई पारदर्शी र व्यवस्थित रूपमा उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न तथा उद्योग र नेपाल आयल निगमलाई बजार सहज नभएसम्म आवश्यकताभन्दा बढी ग्यास आयात र वितरणको व्यवस्था गर्न आग्रह गरेको छ। सबै पक्षले इमान्दारीपूर्वक सहकार्य गरे बजारको अवस्था छिट्टै सामान्य हुने विश्वास पनि सङ्घले व्यक्त गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार