मेड इन मधेश, समृद्ध प्रदेशको नारासहित मधेश सरकारको नीति तथा कार्यक्रम सार्बजनिक
२०८३ जेठ १५ शुक्रवार
- सरकारले 'मेड इन मधेश, समृद्ध प्रदेश' नारासहित कृषि उत्पादन र आत्मनिर्भरतालाई मुख्य प्राथमिकतामा राखेको छ ।
जनकपुरधाम, १५ जेठ । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, रोजगारी, स्वास्थ्य, शिक्षा, पूर्वाधार, सुशासन र डिजिटल सेवामा केन्द्रित महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
सरकारले 'मेड इन मधेश, समृद्ध प्रदेश' नारासहित कृषि उत्पादन र आत्मनिर्भरतालाई मुख्य प्राथमिकतामा राखेको छ । धान, गहुँ, मकै, कोदो, तेलहन र दलहन बालीको बीउमा आत्मनिर्भर बनाउन ‘बीउ प्रवर्द्धन परियोजना’ सञ्चालन गरिने भएको छ । मखान खेतीको व्यावसायिक विस्तार, माछा तथा मासु उत्पादन वृद्धि, सौर्य सिँचाइ कार्यक्रम र कृषि बीमामा थप अनुदानको व्यवस्था पनि गरिने उल्लेख गरिएको छ ।
प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा कृषि सङ्कलन केन्द्र, चिस्यान केन्द्र र दूध चिस्यान केन्द्र स्थापना गर्ने नीति लिएको छ । कृषि उपज बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स र चिस्यानयुक्त ढुवानी साधन सञ्चालनमा सहकारी तथा निजी क्षेत्रलाई अनुदान दिइने भएको छ ।
त्यस्तै रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै कम्तीमा एक हजार जनालाई रोजगारी दिने उद्योगीलाई ‘रोजगारदाता सम्मान’ प्रदान गरिने भएको छ । युवालाई स्वदेशमै बसेर विदेशी कम्पनीका लागि काम गर्ने वातावरण बनाउन विल्यान्सिङ, आउटसोर्सिङ र डिजिटल सीप विकास कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ । एक लाख नयाँ डिजिटल उद्यमी तयार गर्ने लक्ष्यसमेत सरकारले राखेको छ ।
स्वास्थ्यतर्फ मातृ तथा शिशु स्वास्थ्य, पूर्ण खोप, नसर्ने रोग नियन्त्रण र मानसिक स्वास्थ्य सेवामा विशेष जोड दिइएको छ । प्रदेश अस्पतालहरूमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न वर्गका लागि विशेष उपचार कक्ष स्थापना गरिनेछ भने मानसिक स्वास्थ्य उपचार कक्ष र मनोसामाजिक परामर्श सेवा विस्तार गरिने भएको छ ।
शिक्षातर्फ सामुदायिक विद्यालयमा डिजिटल बोर्ड जडान, शिक्षकलाई ‘स्टिम’ तालिम, विद्यालय नर्स कार्यक्रम विस्तार तथा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा आवासीय नमुना विद्यालय सञ्चालन गरिने नीति ल्याइएको छ । त्यसैगरी, महिला तथा सामाजिक सशक्तीकरणका लागि ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गरी महिला स्वरोजगारसँग जोडिने भएको छ । बालविवाह, दाइजो प्रथा र लैंगिक हिंसा अन्त्यका लागि विशेष अभियान सञ्चालन गरिने सरकारको घोषणा छ ।
पूर्वाधारतर्फ प्रदेश सरकारले सडक, सिँचाइ, सुरक्षित आवास र बहुवर्षीय गौरवका आयोजना अघि बढाउने जनाएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा मुख्य सडक र आवश्यक स्थानमा पक्की पुल निर्माणलाई निरन्तरता दिइने भएको छ ।
जनकपुरधामलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रूपमा विकास गर्ने, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल तथा धार्मिक पर्यटन प्रवर्द्धनका कार्यक्रम पनि समेटिएका छन् । प्रदेश सरकारले ‘पेपरलेस, लाइनरहित र अनुहाररहित सेवा’ अवधारणासहित डिजिटल सेवा विस्तार गर्ने नीति लिएको छ । ‘नमस्ते मधेश एप’ र ‘हेलो सीएम’ पोर्टललाई एकीकृत गुनासो व्यवस्थापन प्रणालीका रूपमा विकास गरिने भएको छ । यस्तै, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र प्रविधिमैत्री बनाइने सरकारले जनाएको छ ।
सुशासनतर्फ डिजिटल सेवा प्रवाहलाई मुख्य आधार बनाइएको छ । 'कागजरहित, लाइनरहित र अनुहाररहित सेवा' प्रणाली लागू गर्ने, ‘नमस्ते मधेश एप’ र ‘हेलो सीएम’ पोर्टललाई एकीकृत गुनासो व्यवस्थापन प्रणालीका रूपमा विकास गर्ने नीति ल्याइएको छ । भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति कडाइका साथ लागू गरिने सरकारले जनाएको छ ।
समग्रमा, मधेश प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि आत्मनिर्भरता, रोजगारी सिर्जना, पूर्वाधार विस्तार, डिजिटल शासन र सामाजिक रूपान्तरणलाई केन्द्रमा राख्दै प्रदेशलाई समृद्ध र आधुनिक बनाउने दीर्घकालीन लक्ष्य नीति तथा कार्यक्रममा उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।