महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

१ जेठ, २०८३, शुक्रवार
सारांश
  • प्रतिवेदनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार कायम हुनुपर्ने राजस्व तथा खर्चको अभिलेख व्यवस्थित नहुँदा ठूलो रकम बेरुजु देखिएको उल्लेख गरिएको छ ।

काठमाडौँ: महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०८१/८२ को प्रतिवेदनअनुसार देशभरका सरकारी निकाय, स्थानीय तह, समिति तथा अन्य संस्थामा बेरुजु रकम बढ्दै गएको देखिएको छ ।

 

प्रतिवेदनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार कायम हुनुपर्ने राजस्व तथा खर्चको अभिलेख व्यवस्थित नहुँदा ठूलो रकम बेरुजु देखिएको उल्लेख गरिएको छ ।

 

प्रतिवेदनअनुसार आर्थिक बर्ष २०८१/८२ मा सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, समिति तथा अन्य संस्थासमेतको लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख बेरुजु कायम भएको छ ।

 

महालेखा परीक्षकको कार्यालयले बेरुजु घटाउन नीतिगत, कानुनी र प्रणालीगत सुधार आवश्यक रहेको जनाएको छ । कार्यालयका अनुसार बेरुजु फर्छ्योट नगर्ने, जिम्मेवारी नलिने, प्रमाण कागजात पेश नगर्ने, नियमित गर्नुपर्ने खर्च अनियमित रूपमा गर्ने तथा राजस्व व्यवस्थापन कमजोर हुँदा बेरुजु बढेको हो ।

 

प्रतिवेदनमा बेरुजुको अवस्थालाई विभिन्न शीर्षकमा वर्गीकरण गरिएको छ । असुल गर्नुपर्ने बेरुजु, नियमित गर्नुपर्ने बेरुजु, प्रमाण कागजात पेश नगरेको, पेश्की तथा सोधभर्ना नगरेको लगायतका शीर्षकमा रकम देखाइएको छ ।

 

लेखापरीक्षण सम्पन्न भएका निकायमध्ये सबैभन्दा बढी बेरुजु सङ्घीय सरकारी कार्यालयतर्फ देखिएको छ । त्यसपछि स्थानीय तह, समिति तथा अन्य संस्था र प्रदेश सरकारका कार्यालय रहेका छन् ।

 

प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, स्थानीय तह, समिति र अन्य संस्थासमेतको ४७ खर्ब ५८ अर्ब २० करोड १८ लाख बराबरको लेखापरीक्षण सम्पन्न गरिएको थियो । सो क्रममा कुल बेरुजु  ८८ अर्ब ९ करोड ११ लाख कायम भएको हो ।

 

यस्तै, सङ्घीय मन्त्रालय तथा निकायतर्फ सबैभन्दा बढी बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ । त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय तथा गृह मन्त्रालय रहेका छन् ।

 

प्रतिवेदनमा उल्लेख भएअनुसार प्रदेश सरकारतर्फ लेखापरीक्षण अंक पनि बढेको छ । प्रदेश सरकारी कार्यालयतर्फ १ खर्ब ५३ अर्ब बराबरको लेखापरीक्षण भएकोमा ५ अर्ब २३ करोडभन्दा बढी बेरुजु देखिएको छ । प्रदेश सरकारको बेरुजु औसत १.६३ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

 

स्थानीय तहतर्फ ७२१ स्थानीय तहको लेखापरीक्षण गर्दा १९ अर्ब ५ करोडभन्दा बढी बेरुजु कायम भएको छ । स्थानीय तहमा बेरुजुको प्रतिशत प्रदेश र सङ्घीय निकायको तुलनामा उच्च देखिएको प्रतिवेदनमा उल्लेख छ ।

 

महालेखा परीक्षकको कार्यालयले समयमा बेरुजु फर्छ्योट नगर्ने प्रवृत्ति बढेको जनाएको छ। प्रतिवेदनअनुसार अघिल्ला वर्षको बेरुजु अझै ठूलो परिमाणमा बाँकी रहेको छ ।

 

कार्यालयले सार्वजनिक खरिद, योजना कार्यान्वयन, पेश्की व्यवस्थापन, राजस्व असुली, कार्यक्रम सञ्चालन तथा अनुदान व्यवस्थापनमा कमजोरी देखिएको उल्लेख गरेको छ ।

 

यस्तै, समयमै काम सम्पन्न नगर्दा, लागत अनुमानभन्दा बढी खर्च गर्दा, बिल भरपाई तथा प्रमाण कागजात नराख्दा र अनियमित भुक्तानी गर्दा बेरुजु बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा कारबाही टुंगो लगाउनुपर्ने रकम पनि उल्लेख गरिएको छ। विभिन्न सरकारी कार्यालय, स्थानीय तह, समिति तथा संस्थाबाट ८७ करोडभन्दा बढी रकम कारबाही टुंगो लगाउनुपर्ने अवस्थाको रहेको उल्लेख छ ।

 

महालेखा परीक्षकको कार्यालयले बेरुजु नियन्त्रणका लागि वित्तीय अनुशासन, पारदर्शिता, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा जवाफदेहितामा सुधार आवश्यक रहेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार