मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिशन पोर्चुगलमा हुँदै

२०८१ फागुन १ गते बिहिबार
सारांश
  • यस्तै नेपालका लागि बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसन गरिने बताइएको छ ।

लिस्बन: सर्वाधिक धनराशि १–१ करोड रुपैयाँ पुरस्कार भएको विश्वस्तरीय नेपाली गायन र नृत्यको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को अडिसन पोर्चुगलमा हुँदैछ ।


इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको उक्त शो को दोस्रो संस्करणको अडिसन यही फेब्रुअरी १६ मा पोर्चुगलको राजधानी लिस्बनमा हुन लागेको हो । अमेरिकाबाट सुरु भएको रियालिटी शो को अडिसन हाल पोर्चुगलमा गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।


पोर्चुगलमा पहिलोपटक हुन लागेको अडिसनका लागि युरोपका विभिन्न मुलुकका गरि हालसम्म ४५ जना प्रतियोगीले आवेदन दिएको फाउन्डेसनकी युरोप संयोजक देवी गर्बुजामगरले जानकारी दिइन् । लिस्बनस्थित ’लभ लिस्बन’ रेष्टुरेन्टमा हुने अडिसनको तयारी अन्तिम चरणमा पूगेको मगरले बताए । अडिसनका लागि फाउन्डेसनको केन्द्रीय टोली अमेरिकाबाट पोर्चुगल आइसकेको उनले बताए । 


अमेरिका र क्यानडामा सम्पन्न भएको अडिसन बेलायत, पोर्चुगल, थाइल्याण्ड, हङकङ, जापान, दुबई, कतार, अष्ट्रेलिया र भारतमा अडिसनको तयारी भइरहेको संस्थाले जनाएको छ । यस्तै नेपालका लागि बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसन गरिने बताइएको छ । विश्वभरबाट अडिसनमा छनौट हुने गायन तर्फका एक सय २० प्रतिभा र नृत्य तर्फका एक सय २० गरी कुल दुई सय ४० जना प्रतियोगीलाई फाउन्डेसनले अर्को चरणका लागि काठमाण्डौं लैजाने छ । नेपाल बाहिरको अडिसनमा भाग लिनका लागि १८ वर्ष उमेर पूगेको नेपाली मूलका नेपालीभाषी हुनुपर्ने र नेपालमा हुने अडिसनमा भाग लिनका लागि १६ वर्ष उमेर पूगेको हुनुपर्ने आयोजक संस्थाले जनाएको छ ।


विश्वभर छरिएर रहेका नेपाली प्रतिभाका कलाकारहरुबीच प्रतिस्पर्धा गराइने दुवै शोका विजेताले एक–एक करोड, उपविजेताले २५–२५ लाख र तेस्रो हुनेले १०–१० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि काठमाडौंमा गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायकको भूमिकामा रहनु हुनेछ । यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को निर्णायकहरुमा कलाकार मिथिला शर्मा, अभिनेता दीलिप रायमाझी, अभिनेत्री शिल्पा मास्के, कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा रहने फाउन्डेसनले जनाएको छ ।


विश्वभर छरिएर रहेका नेपाली समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरुको पहिचान गर्न र नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने अभियानका साथ विश्वस्तरीय रियालिटी शो को आयोजना गरिएको फाउन्डेसनले जनाएको छ । यसअघि फाउन्डेसनले सन् २०२३ मा दुबै रियालिटी शो को पहिलो संस्करण सफतापूर्वक सम्पन्न गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार