एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ

२०८३ जेठ २६ मङ्गलवार
सारांश
  • प्रविधि कम्पनी एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’लाई ठूलो स्तरमा रूपान्तरण गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता प्रणालीयुक्त ‘सिरी एआई’ सार्वजनिक गरेको छ ।

काठमाण्डौ, २६ जेठ । प्रविधि कम्पनी एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’लाई ठूलो स्तरमा रूपान्तरण गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता प्रणालीयुक्त ‘सिरी एआई’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ संस्करणले प्रयोगकर्तालाई अझ प्रभावकारी, व्यक्तिगत र संवादमुखी अनुभव प्रदान गर्नेछ ।

 

कम्पनीको वार्षिक विश्वव्यापी विकासकर्ता सम्मेलनमा यो घोषणा गरिएको हो । सम्मेलन एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकको अन्तिम सम्मेलन पनि बनेको छ । उनी आगामी सेप्टेम्बरमा १५ वर्षे कार्यकालपछि पदबाट बाहिरिने भएका छन् । उनको स्थानमा जोन टर्नसले नेतृत्व सम्हाल्नेछन् ।

 

सिरीमा कृत्रिम बुद्धिमत्ताको नयाँ युग

 

एप्पलले पछिल्लो समय कृत्रिम बुद्धिमत्ता प्रविधिमा प्रतिस्पर्धी कम्पनीहरूभन्दा पछि परेको आलोचना खेपिरहेको थियो । त्यसैबीच कम्पनीले सिरीको नयाँ संस्करण सार्वजनिक गर्दै आफ्नो रणनीतिक दिशा स्पष्ट गरेको छ ।

 

नयाँ सिरी एआईले एप्पलका विभिन्न उपकरण र एपबीच एकीकृत रूपमा काम गर्नेछ । साथै, कम्पनीले कृत्रिम बुद्धिमत्ता सहायकका लागि छुट्टै एप पनि ल्याउने घोषणा गरेको छ, जसले अन्य अग्रणी प्रविधि कम्पनीहरूले उपलब्ध गराउँदै आएका सेवासँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

 

कम्पनीका अनुसार सिरी एआईले प्रयोगकर्ताको अघिल्लो प्रयोग, तस्बिरहरूको बुझाइ, विश्वव्यापी जानकारी तथा व्यक्तिगत आवश्यकता समेटेर काम गर्नेछ । यसले हालको सिरीभन्दा धेरै सक्षम र स्वाभाविक संवाद गर्न सक्ने सहायकको भूमिका निर्वाह गर्ने दाबी गरिएको छ ।

 

हाल एप्पल इन्टेलिजेन्समार्फत लेखन सहयोग र तस्बिर सम्पादनजस्ता सुविधा उपलब्ध भए पनि सिरीको उन्नत संस्करण सार्वजनिक गर्न कम्पनीले अपेक्षाकृत लामो समय लगाएको थियो ।

 

प्रविधि विश्लेषक बेन वुडले एप्पलले कृत्रिम बुद्धिमत्तासम्बन्धी कमजोरीको जवाफ दिनैपर्ने अवस्था रहेको र सम्मेलनमार्फत केही उत्तर दिएको बताए । उनका अनुसार अब कम्पनीले गोपनीयतामा आधारित तथा एकीकृत प्रणालीले प्रयोगकर्ताको दैनिक अनुभव वास्तवमै सुधार्न सक्छ भन्ने प्रमाणित गर्नुपर्ने चुनौती छ ।

 

नयाँ सिरी एआईको परीक्षण संस्करण यसै वर्ष अंग्रेजी भाषामा चल्ने समर्थित उपकरणमा उपलब्ध गराइनेछ । यद्यपि युरोपेली सङ्घका देशहरूमा भने तत्काल उपलब्ध नहुने एप्पलले जनाएको छ ।

 

कम्पनीका अनुसार पछिल्ला केही महिनादेखि युरोपेली नियामक निकायहरूसँग छलफल भए पनि अन्य भर्चुअल सहायक सेवासँग सुरक्षित रूपमा सहअस्तित्व कायम गर्ने प्रस्ताव स्वीकार नभएकाले त्यहाँ सेवा विस्तार रोकिएको हो ।

यस वर्षको सुरुवातमा एप्पलले गुगलसँग सहकार्य गर्दै गुगलको जेमिनी मोडल र क्लाउड प्रविधिमा आधारित एप्पल फाउन्डेसन मोडल सार्वजनिक गरेको थियो ।

 

बालबालिकाको सुरक्षामा नयाँ कदम

 

एप्पलले आफ्नो आगामी सञ्चालन प्रणाली ‘आईओएस २७’ अन्तर्गत बालबालिकाको सुरक्षासम्बन्धी नयाँ व्यवस्था पनि घोषणा गरेको छ । कम्पनीले ‘आस्क’ नामक सुविधा विस्तार गर्दै अभिभावकलाई आफ्ना बालबालिकाले कससँग कुरा गर्न पाउने वा नपाउने भन्ने नियन्त्रण दिने जनाएको छ । अब अपरिचित व्यक्तिसँग कुराकानी गर्नुअघि अभिभावकको स्वीकृति आवश्यक हुनेछ ।

 

त्यस्तै, बालबालिकाको उपकरणमा पठाइने तस्बिर कम्पनीको प्रणालीले यौनजन्य वा हिंसात्मक सामग्री भएको आशङ्का गरेमा स्वतः सेन्सर गरिनेछ । फेडेरिघीले अभिभावकलाई बालबालिकाले के हेर्ने, कससँग कुरा गर्ने र कहिले पहुँच पाउने भन्ने व्यवस्थापन गर्न शक्तिशाली तथा प्रयोग गर्न सजिलो उपकरण उपलब्ध गराइएको बताए । बालबालिका सुरक्षाका पक्षधर समूहहरूले भने एप्पलले पर्याप्त कदम नचालेको आरोप लगाउँदै आएका छन् ।

 

सम्मेलन सुरु हुनुअघि एप्पलको आगन्तुक केन्द्रबाहिर केही प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका थिए । ‘हिट इनिसिएटिभ’ नामक अभियान समूहकी सारा गार्डनरले एप्पलको एप स्टोरबाट सबै प्रकारका नग्न तस्बिर सिर्जना गर्ने प्रविधि हटाउन माग गर्दै विरोध जनाइन् ।

 

उनले कम्पनीको क्लाउड सेवाबाट बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री हटाउन पनि माग गरिन् । उनका अनुसार यस्ता कृत्रिम बुद्धिमत्तामा आधारित अश्लील तस्बिर बनाउने एपबाट कम्पनीले कम्तीमा १७ करोड ७० लाख अमेरिकी डलर आम्दानी गरेको छ । एप्पलले भने यस्ता एप आफ्ना नियमविपरीत रहेको र धेरै अनुप्रयोग पहिल्यै हटाइसकेको जनाएको छ ।

 

टिम कुकको भावुक बिदाइ

 

यस वर्षको सम्मेलन एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकका लागि विशेष रह्यो । एप्पलका सहसंस्थापक स्टिभ जब्स स्वास्थ्य समस्याका कारण पदबाट हटेपछि कुकले सन् २०११ मा नेतृत्व सम्हालेका थिए । १५ वर्ष नेतृत्व गरेका कुकलाई एप्पल पार्कमा उपस्थित हजारौँ कर्मचारी र विकासकर्ताले उभिएर सम्मान व्यक्त गरेका थिए । मञ्चमा उनले मजाक गर्दै 'यति धेरै आईफोन मैले पहिले कहिल्यै देखेको थिइनँ' भनेका थिए ।

 

बिदाइका क्रममा उनी भावुक पनि देखिए । उनले विश्वभरका मानिसहरूको जीवन सहज बनाउन विकासकर्ताहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै विगत १५ वर्षको यात्राका लागि आभार व्यक्त गरे । कुकले एप्पलको नेतृत्व गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो सम्मान भएको बताए ।

 

उनका उत्तराधिकारी जोन टर्नस मुख्य प्रस्तुतीकरण कार्यक्रममा बोल्न भने आएनन् । तर उनी सञ्चारकर्मीसँगको कार्यक्रममा कुकको छेउमै अगाडि बसेका थिए ।

 

बजार अनुसन्धान संस्था आईडीसीका विश्लेषक फ्रान्सिस्को जेरोनिमोका अनुसार सन् २०२६ को विकासकर्ता सम्मेलनले जोन टर्नसलाई थप व्यक्तिगत उपकरण, सन्दर्भ बुझ्ने सफ्टवेयर, बुद्धिमान सेवा तथा चिप, हार्डवेयर र कृत्रिम बुद्धिमत्ताबीचको गहिरो एकीकरणतर्फ अघि बढ्ने स्पष्ट मार्ग प्रदान गरेको छ ।

 

विश्लेषकहरूको भनाइमा एप्पलले प्रयोगकर्ताले अपेक्षा गरेअनुसारको विश्वसनीय, आकर्षक र सुरक्षित अनुभव दिन सके सिरी एआई र एप्पल इन्टेलिजेन्स कम्पनीको भविष्यको केन्द्रबिन्दु बनेको क्षणका रूपमा यो सम्मेलन सम्झिनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार