गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप

२०८३ जेठ १० आईतवार
सारांश
  • युरोपेली उपभोक्ता समूह ‘बिईयूसी’ले युरोपेली आयोगसमक्ष दिएको उजुरीमा गुगल, मेटा र टिकटकलगायतका मञ्चहरूले आफ्ना प्रयोगकर्तालाई नक्कली तथा ठगीपूर्ण विज्ञापनबाट सुरक्षित राख्न नसकेको उल्लेख गरिएको छ ।

काठमाण्डौ, १० जेठ । प्रविधि क्षेत्रका ठूला कम्पनी गुगल, मेटा र टिकटकमाथि युरोपेली सङ्घका उपभोक्ता समूहहरूले गम्भीर आरोप लगाएका छन् । ती कम्पनीहरूले आफ्ना प्रयोगकर्तालाई आर्थिक ठगीबाट जोगाउन असफल भएको भन्दै औपचारिक उजुरी दर्ता गरिएको हो । आरोप पुष्टि भए ती कम्पनीहरूले ठूलो जरिवाना तिर्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ ।

 

यो विवादको केन्द्रमा युरोपेली सङ्घको ‘डिजिटल सेवा ऐन’ रहेको छ । युरोपेली उपभोक्ता समूह ‘बिईयूसी’ले युरोपेली आयोगसमक्ष दिएको उजुरीमा गुगल, मेटा र टिकटकलगायतका मञ्चहरूले आफ्ना प्रयोगकर्तालाई नक्कली तथा ठगीपूर्ण विज्ञापनबाट सुरक्षित राख्न नसकेको उल्लेख गरिएको छ ।

 

डिजिटल सेवा ऐनअनुसार ठूला प्रविधि कम्पनीहरूले आफ्ना मञ्चमा रहेका गैरकानुनी वा हानिकारक सामग्री पहिचान गरी तत्काल हटाउनुपर्ने कानुनी दायित्व हुन्छ । तर उपभोक्ता समूहले ती कम्पनीहरूले यसमा गम्भीर लापरवाही गरेको आरोप लगाएका छन् ।

 

‘बिईयूसी’का महानिर्देशक अगस्टिन रेयनाका अनुसार समस्या केवल नक्कली विज्ञापनमा सीमित छैन । कम्पनीहरूले उजुरी आएपछि पनि प्रभावकारी कदम नचालेको उनको भनाइ छ । उनले चेतावनी दिँदै यदि तत्काल कडा कदम नचालिए ठगी गर्ने समूहहरूले हरेक दिन लाखौँ युरोपेली उपभोक्तासम्म पहुँच बढाइरहने बताएका छन् ।

 

उपभोक्ता समूहहरूले सार्वजनिक गरेको तथ्याङ्कले पनि चिन्ता बढाएको छ । गत वर्ष डिसेम्बरदेखि यस वर्ष मार्चसम्म करिब ९ सय शंकास्पद तथा कानुनविपरीत विज्ञापन फेला परेको दाबी गरिएको छ । तर तीमध्ये केवल २७ प्रतिशत विज्ञापन मात्र हटाइएको बताइएको छ ।

 

त्यस्तै, कुल उजुरीमध्ये ५२ प्रतिशतलाई सीधै अस्वीकार गरिएको वा बेवास्ता गरिएको उपभोक्ता समूहको दाबी छ । यसले सामाजिक सञ्जाल मञ्चहरूको सुरक्षा प्रणाली र उजुरी व्यवस्थापन कमजोर रहेको देखाएको उनीहरूको भनाइ छ ।

 

आरोपपछि गुगल, मेटा र टिकटकलगायत कम्पनीहरूले भने आफ्नो बचाउ गरेका छन् । उनीहरूले प्रयोगकर्ताको सुरक्षाका लागि निरन्तर काम भइरहेको दाबी गरेका छन् ।

 

गुगलका प्रवक्ताले कम्पनीको विज्ञापन नीति निकै कडा रहेको र ९९ प्रतिशतभन्दा बढी नक्कली विज्ञापन प्रयोगकर्तासम्म पुग्नुअघि नै रोक्ने गरिएको बताएका छन् । साथै ठगी गर्ने समूहभन्दा एक कदम अगाडि रहन सुरक्षा प्रणाली नियमित अद्यावधिक गरिरहेको जनाइएको छ ।

 

मेटाले पनि गत वर्ष मात्रै १५ करोड ९० लाखभन्दा बढी ठगीसम्बन्धी विज्ञापन हटाइएको जनाएको छ । तीमध्ये ९२ प्रतिशत विज्ञापन कसैले उजुरी गर्नुअघि नै कृत्रिम बुद्धिमत्ता तथा अन्य उपकरणमार्फत पहिचान गरिएको कम्पनीको दाबी छ ।

 

टिकटकले पनि नियम उल्लङ्घन गर्नेविरुद्ध कडा कारबाही भइरहेको जनाएको छ । तर अनलाइन ठगी अहिले सम्पूर्ण प्रविधि उद्योगकै साझा चुनौती बनेको उसले स्वीकार गरेको छ ।

 

अब यस विषयमा नियामक निकायहरूको निर्णयलाई चासोका साथ हेरिएको छ । यदि अनुसन्धानमा डिजिटल सेवा ऐन उल्लङ्घन भएको पुष्टि भए ती कम्पनीहरूले वार्षिक विश्वव्यापी आम्दानीको ६ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ ।

 

यो घटनाले सामाजिक सञ्जालको बढ्दो नकारात्मक प्रभावप्रति विश्वभर चिन्ता बढिरहेको संकेत गरेको छ । विशेषगरी बालबालिका तथा संवेदनशील प्रयोगकर्तालाई अनलाइन ठगी र आर्थिक अपराधबाट जोगाउन ठूला प्रविधि कम्पनीमाथि नैतिक र कानुनी दबाब बढ्दै गएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार