मौरिसले अन्नपूर्ण चढ्दा प्रयोग गरेको ‘आइस एक्स’ पर्वतीय सङ्ग्रहालयमा

२०८२ जेठ २३ शुक्रवार
सारांश
  • हिमाल आरोहणमा इतिहास कायम भएको ७५ वर्ष पूरा भएको अवसरमा यस वर्ष अन्नपूर्ण हीरक महोत्सव सञ्चालन भइरहेको छ ।

गण्डकी, २३ जेठ : आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलोपटक मानव पाइला परेको दिन हो सन् १९५० जुन ३ अर्थात् विसं २००७ जेठ २१ । जुन दिन फ्रान्सका मौरिस हर्जोग र लुइस लचेनले विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको कीर्तिमान आरोहण गरेका थिए । 

 

हिमाल आरोहणमा इतिहास कायम भएको ७५ वर्ष पूरा भएको अवसरमा यस वर्ष अन्नपूर्ण हीरक महोत्सव सञ्चालन भइरहेको छ ।

 

सोही क्रममा बिहीबार पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा विविध कार्यक्रमको आयोजना गरियो । उक्त अवसरमा ७५ वर्षअघि अन्नपूर्ण हिमाल आरोहणका फ्रान्ेसीले आरोही हर्जोगले प्रयोग गरेको ‘आइस एक्स’ सङ्ग्रहालयलाई प्रदान गरिएको थियो ।

 

हर्जोगका छोरा म्याथियसलगायत परिवारका सदस्यले उक्त आरोहण सामग्री सङ्ग्रहालय सञ्चालक नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानिरु शेर्पालाई हस्तान्तरण गरेका थिए ।

स्वीटजरल्यान्डको ओलम्पिक म्युजियममा रहेको रहेको उक्त ‘आइस एक्स’लाई एक वर्षका लागि पर्वतीय सङ्ग्रहालयको प्रदर्शनीकक्षमा राखिने भएको हो । 

 

सोही अवसरमा सङ्ग्रहालय परिसरमा निर्मित हर्जोग र उहाँको आरोहण दलका मुख्य सहयोगी आङ थार्के शेर्पा र वालुङ सोनाम शेर्पाको सालिक अनावरण गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र फ्रोन्सेली राजदूत भर्जिनी कोर्टेभलले सालिक अनावरणसँगै माल्यापर्ण गर्नुभएको थियो ।

 

सो अवसरमा मन्त्री पाण्डेले विश्वकै पर्वतारोहण इतिहासमा अन्नपूर्ण आरोहणको बेग्लै स्थान रहेको बताउनुभयो । “अन्नपूर्ण हिमाल आरोहण मानव जातिकै इतिहासमा नौलो घटना थियो, जसले नेपालको गौरवलाई समेत विश्वव्यापी बनायो”, उहाँले भन्नुभयो, “नेपाललाई चिनाउने बुद्ध, बेद र हिमालले हो, हाम्रो देश हिमालहरूको तीर्थस्थल हो ।” पर्वतारोहणका माध्यमबाट नेपालले ठूलो लाभ लिनसक्ने भन्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनको असरबाट हिमाललाई जोगाउनुपर्ने चुनौती थपिएको बताउनुभयो ।

 

उहाँले पर्यटन ऐन र नीति चाँडै ल्याउने बताउनुभयो । पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी आकर्षण गर्नुपर्नेमा उहाँको जोड थियो । फ्रान्सका राजदूत कार्टेभलले फ्रोन्सेली टोलीले पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेको दिन नेपाल–फ्रान्स मित्रताको कोशेढुङ्गाका रूपमा रहेको बताउनुभयो । हर्जोगका छोरा म्याथियस, नातिलगायत परिवारका सदस्य उक्त कार्यक्रममा सहभागी थिए ।

 

म्याथियसले सङ्ग्रहालयलाई प्रदान गरेको ‘आइस एक्स’ एक वर्षपछि पुनः ओलम्पिक म्युजिममै पठाइने सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिनुभयो । उहाँले हर्जोगको स्मृतिमा सङ्ग्रहालयमा ‘क्लाइम्बिङ वाल’ बनाउने योजना रहेको सुनाउनुभयो । सो अवसरमा मौरिसले अन्नपूर्ण हिमाल आरोहणबारे लखेको पुस्तक ‘अन्नपूर्ण’को नेपाली संस्करणको आवरणसमेत सार्वजनिक गरिएको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार