इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट

१७ कार्तिक, २०८३
सारांश
  • सामरिक रूपमा महत्त्वपूर्ण केश्म टापु होर्मुज जलडमरूमध्यको प्रवेश क्षेत्रमा अवस्थित छ । इरानले यहाँ सुरुङ, भूमिगत सैन्य संरचना, तटीय क्षेप्यास्त्र प्रणाली र तीव्र गतिका आक्रमणकारी नौका राखेको बताइन्छ ।

काठमाण्डौ, १७ कार्त्तिक । अमेरिकामा मध्यावधि निर्वाचनको मतदान हुनुअघि इरानको केश्म टापुमा सोमबार कम्तीमा पाँच शक्तिशाली विस्फोट भएका छन् । नजिकैको बन्दर लेंगेह सहरमा पनि विस्फोट भएको खबर छ ।

 

अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलले अधिकारीहरूलाई उद्धृत गर्दै आक्रमण अमेरिकाले गरेको दाबी गरेको छ । तर इरानी सञ्चारमाध्यमले अमेरिका वा इजरायलको संलग्नता पुष्टि गरेका छैनन् ।

 

सामरिक रूपमा महत्त्वपूर्ण केश्म टापु होर्मुज जलडमरूमध्यको प्रवेश क्षेत्रमा अवस्थित छ । इरानले यहाँ सुरुङ, भूमिगत सैन्य संरचना, तटीय क्षेप्यास्त्र प्रणाली र तीव्र गतिका आक्रमणकारी नौका राखेको बताइन्छ । यस क्षेत्रबाट विश्वको महत्त्वपूर्ण तेल तथा ग्यास आपूर्ति हुने भएकाले टापुको सामरिक महत्त्व बढी छ ।

 

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल पुनः आक्रमण गर्ने योजना नरहेको बताएका छन् । उनले इरानसँग सम्झौता हुन सक्ने आशा व्यक्त गर्दै दुई देशबीच ठूलो युद्धको सम्भावना घटेकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल करिब १० डलर घटेको दाबी गरेका छन् ।

 

अमेरिका र इजरायलले सन् २०२६ फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा इरानले क्षेप्यास्त्र र ड्रोनमार्फत इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई निशाना बनाएको थियो । तनावका कारण होर्मुज जलडमरूमध्यमा जहाज आवागमन प्रभावित हुँदा विश्व बजारमा तेल आपूर्तिको चिन्ता बढेको थियो ।

 

पाकिस्तानको मध्यस्थतामा अप्रिल ८ मा दुई साताको युद्धविराम भए पनि इस्लामाबादमा भएको वार्ता सफल हुन सकेन । त्यसपछि जुनमा व्यापक सम्झौताका लागि समझदारीपत्र तयार भए पनि अगस्टसम्म युद्धविराम प्रभावकारी हुन सकेन । पछिल्लो विस्फोटले अमेरिका र इरानबीचको तनाव पुनः बढ्न सक्ने आशंका पैदा गरेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार