विश्वकप फाइनलको दौडमा चार देश, को छ अगाडी ?

२०८३ अषाढ़ २९ सोमवार
सारांश
  • विश्लेषकहरुले अहिलेसम्मको खेल विश्लेषण गर्दा फ्रान्सलाई उपाधिको सबैभन्दा बलियो दाबेदार मानेको छ ।

काठमाण्डौ, २९ अषाढ़ । जारी फिफा विश्वकप फुटबलको १०० खेल पूरा गर्दै अन्तिम चरणमा प्रवेश गरेको छ । अब उपाधिका लागि फ्रान्स, स्पेन, इङ्ग्ल्यान्ड र अर्जेन्टिना मात्र प्रतिस्पर्धामा बाँकी छन् । विश्लेषकहरुले अहिलेसम्मको खेल विश्लेषण गर्दा फ्रान्सलाई उपाधिको सबैभन्दा बलियो दाबेदार मानेको छ ।

 

क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ले हरायो । स्पेनले अतिरिक्त समयमा मिकेल मेरिनोको निर्णायक गोलमा बेल्जियमलाई पराजित गर्‍यो । इङ्ग्ल्यान्डले जुड बेलिङ्घमको दुई गोलमा नर्वेमाथि पुनरागमन जित निकाल्यो भने अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३-१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो ।

 

विशेष कुरा, प्रतियोगिता सुरु हुनुअघि उपाधिका शीर्ष चार दाबेदारका रूपमा छनोट गरिएका चारै टोली सेमिफाइनलमा पुगेका छन् ।

 

लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको फ्रान्स विश्वकपको सबै भन्दा ठुलो दाबेदारको रुपमा सेमिफाइनलमा स्पेनको सामना गर्ने तयारीमा रहेको छ । मुख्य प्रशिक्षक डिडियर डेसचाम्पको टोलीका लागि किलियन एम्बाप्पे र उस्मान डेम्बेले उत्कृष्ट लयमा छन् । एम्बाप्पेले प्रतियोगितामा आठ गोल गरेका छन् भने डेम्बेलेले पाँच गोल गरेका छन् । विश्वकपको एउटै संस्करणमा पाँच वा सोभन्दा बढी गोल गर्ने दुई खेलाडी भएको टोली बन्ने क्रममा फ्रान्स पछिल्लो ५० वर्षमा ब्राजिलपछि दोस्रो राष्ट्र बनेको छ ।

 

अर्कोतर्फ स्पेनले यस विश्वकपमा पहिलो पटक बेल्जियमविरुद्ध गोल खाएको थियो । त्यसअघि टोलीले लगातार ६४९ मिनेटसम्म कुनै गोल खाएको थिएन । तर फेरि पनि मिकेल मेरिनोले बेन्चबाट आएर निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनल पुर्‍याए । सन् २०२४ मार्चयता स्पेन लगातार ३६ खेल अपराजित छ । टोलीले यस अवधिमा २७ जित र ९ बराबरी खेलेको छ । स्पेनलाई फ्रान्सपछि विश्वकप जित्ने दोस्रो ठूलो दाबेदार रुपमा हेरिएको छ ।

 

त्यसैगरी इङ्ग्ल्यान्डले नर्वेविरुद्ध पुनरागमन जित निकाल्दा जुड बेलिङ्घम नायक बने । उनले दुई गोल गर्दै टोलीलाई सेमिफाइनल पुर्‍याए । अन्तिम १६ मा मेक्सिकोविरुद्ध पनि दुई गोल गरेका बेलिङ्घम विश्वकपको नकआउट चरणमा लगातार दुई खेलमा दुई वा बढी गोल गर्ने सन् १९८६ मा डिएगो म्याराडोनापछि पहिलो खेलाडी बनेका छन् ।

इङ्ग्ल्यान्ड विश्वकप जित्ने सम्भावना सेमिफाइनलमा पुगेका चार देशमा तेस्रो धेरै रहेको विश्लेषण गरिएको छ । इङ्ग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छ ।

 

साबिक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३–१ ले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो । लियोनेल मेसीले यस प्रतियोगितामा पहिलो पटक गोल गर्न नसके पनि उनको कर्नरबाट एलेक्सिस म्याक एलिस्टरले गोल गरेका थिए । त्यसपछि जुलियन आल्भारेज र लाउतारो मार्टिनेजले गोल गर्दै जित सुनिश्चित गरेका थिए । विश्वकप इतिहासमा अर्जेन्टिनाले सबैभन्दा धेरै १३ पटक अतिरिक्त समय खेलेको छ, जसमा ११ पटक विजयी भएको छ । यद्यपि विभिन्न आँकडाको विश्लेषणअनुसार बाँकी चार टोलीमध्ये अर्जेन्टिना उपाधिको सबैभन्दा कमजोर दाबेदार मानिएको छ ।

 

यस पटकको विश्वकपमा सेमिफाइनल पुगेका चारै टोली यसअघि विश्वकप जितिसकेका राष्ट्र हुन् । विश्वकप इतिहासमा यस्तो तेस्रो पटक मात्र भएको हो । यसअघि सन् १९७० र १९९० मा पनि सेमिफाइनलमा चारै पूर्व विजेता राष्ट्र पुगेका थिए । अब सेमिफाइनलमा फ्रान्स र स्पेन तथा अर्जेन्टिना र इङ्ग्ल्यान्ड आमनेसामने हुँदैछन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार