रोनाल्डोको दुई गोलमा उज्बेकिस्तानमाथि पोर्चुगलको शानदार जित

२०८३ अषाढ़ १० बुधवार
सारांश
  • यो गोलसँगै उनी विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका छन् । यसअघि सन् १९९४ मा क्यामरुनका रोजर मिल्लाले ४२ वर्षको उमेरमा रुसविरुद्ध गोल गरेका थिए ।

काठमाण्डौ, १० अषाढ़ । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगलले जारी फिफा फुटबल विश्वकपमा उज्बेकिस्तानलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रभावशाली जित निकालेको छ । यससँगै रोनाल्डो विश्वकपका लगातार ६ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

 

४१ वर्षीय रोनाल्डोले खेलको छैटौं मिनेटमा जोआओ क्यान्सेलोको क्रसलाई नजिकको पोस्टमा हाफ भलीमार्फत गोलमा परिणत गर्दै कीर्तिमान बनाएका हुन् । यो गोलसँगै उनी विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका छन् । यसअघि सन् १९९४ मा क्यामरुनका रोजर मिल्लाले ४२ वर्षको उमेरमा रुसविरुद्ध गोल गरेका थिए ।

 

प्रतियोगिताको पहिलो खेलमा डिआर कङ्गोसँग १-१ को बराबरी खेलेपछि आलोचना खेपेको पोर्चुगलले यसपटक भने विश्वकपमा पहिलोपटक सहभागी बनेको उज्बेकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्‍यो ।

पोर्चुगलले १७औं मिनेटमा अग्रता दोब्बर बनायो । नुनो मेन्डेसले करिब २० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक सिधै जालीमा पुगेको थियो ।

 

उज्बेकिस्तानले अजीज गानिएभमार्फत शानदार गोल फर्काएको जस्तो देखिए पनि अब्बोसबेक फैजुल्लाएभले क्यान्सेलोलाई फाउल गरेको पाइएपछि गोल मान्यता पाएन ।

 

त्यसपछि खेलको ३९औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए । ब्रुनो फर्नान्डेसले मध्यभागबाट उत्कृष्ट पास उपलब्ध गराएपछि रोनाल्डोले सहज रूपमा बललाई जालीको कुनामा पुर्‍याएका थिए ।

 

त्यसपछि उज्बेकिस्तानका गोलरक्षक अब्दुभोहिद नेमातोभको आत्मघाती गोलबाट पोर्चुगलले ४-० को अग्रता बनायो । अन्तिम समयमा वैकल्पिक खेलाडी राफाएल लिआओले पाँचौं गोल थप्दै जित सुनिश्चित गरेका थिए ।

 

यो जितसँगै पोर्चुगल दुई खेलबाट शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि बुधबार हुने अर्को खेलमा कोलम्बियाले डिआर कङ्गोलाई हराएमा पोर्चुगललाई पछि पार्न सक्नेछ । उज्बेकिस्तान भने लगातार दोस्रो हारसँगै अंकविहीन रहेको छ ।

 

रोनाल्डोले भने अब विश्वकपमा कुल १० गोल पुर्‍याएका छन् । उनले सन् २००६, २०१०, २०१४ र २०२२ मा एक-एक गोल गरेका थिए भने सन् २०१८ मा चार गोल गरेका थिए । त्यसक्रममा स्पेनविरुद्धको ३-३ को बराबरीमा उनले ह्याट्रिक समेत पूरा गरेका थिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार