बागमती प्रदेशमा एमालेका भरत केसी मन्त्री बन्ने पक्का
२०८२ श्रावण २० मङ्गलवार
- दोलखा क्षेत्र नम्बर ‘ख’ बाट प्रत्यक्ष निर्वाचित केसी एमाले भित्रको सहमति अनुसार मन्त्री बन्न लागेका हुन् । एमाले बागमती प्रदेश कमिटी र संसदीय दलले केसीलाई मन्त्री बनाउने सहमति गरिसकेको स्रोतको दाबी छ । एक वर्षअघि सरकार गठन हुँदा पनि उनी मन्त्रीका दाबेदार थिए । त्यसबेला पार्टीले अर्को चरणमा मन्त्री बनाउने वाचा गरेको थियो
मकवानपुर : बागमती प्रदेश सभामा दोलखाबाट प्रत्यक्ष निर्वाचित नेकपा (एमाले) का सांसद भरत केसी मन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँको नेतृत्वमा बन्ने नयाँ मन्त्रीपरिषद्मा केसी पनि सहभागी हुने पक्का भएको हो ।
दोलखा क्षेत्र नम्बर ‘ख’ बाट प्रत्यक्ष निर्वाचित केसी एमाले भित्रको सहमति अनुसार मन्त्री बन्न लागेका हुन् । एमाले बागमती प्रदेश कमिटी र संसदीय दलले केसीलाई मन्त्री बनाउने सहमति गरिसकेको स्रोतको दाबी छ । एक वर्षअघि सरकार गठन हुँदा पनि उनी मन्त्रीका दाबेदार थिए । त्यसबेला पार्टीले अर्को चरणमा मन्त्री बनाउने वाचा गरेको थियो ।
केसी २०७४ सालको स्थानीय तह निर्वाचनमा दोलखाको भीमेश्वर नगरपालिकाका प्रमुख बनेका थिए । त्यसपछि २०७९ सालको प्रदेशसभा निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारका रूपमा रहेका कांग्रेसका बर्मा लामालाई १,८१९ मतान्तरले हराउँदै विजयी भएका थिए । उनले १९ हजार ४१४ मत प्राप्त गरेका थिए ।
स्रोतका अनुसार उनले पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयको चाहना राखेका छन् । कांग्रेसले दोलखाबाट आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई अघि सारेपछि एमालेमा पनि दोलखाबाट मन्त्री बनाउने दबाब थियो ।
यसैबीच, एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले आज दिउँसो १ बजेसम्म मन्त्रीको टुंगो लगाइने जानकारी दिएका छन् । पार्टीभित्र छलफल जारी रहेको र संसदीय दलको बैठकले अन्तिम निर्णय गर्ने उनले बताए ।
बहादुरसिंह लामाको नेतृत्वमा एमालेका तर्फबाट बनेका मन्त्रीमध्ये स्वास्थ्य मन्त्री किरण थापालाई मात्रै पुनः दोहोर्याउने तयारी छ । एमालेले यसपालि विगतका मन्त्रीलाई नदोहोर्याउने र प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकता दिने नीतिअनुसार अघि बढेको छ ।
मन्त्री बन्ने दौडमा भरत केसीसँगै प्रत्यक्ष निर्वाचित सांसदहरू मधुसुदन पौडेल (ललितपुर), जयराम थापा (काठमाडौं) र समानुपातिक सांसद बिन्दु श्रेष्ठको नाम चर्चामा छ। यद्यपि मन्त्री आकांक्षीको संख्या धेरै भएकाले अन्तिम नामावली दिउँसो सार्वजनिक हुने एमाले स्रोतको भनाइ छ ।
बागमतीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ मन्त्रालय छन्। कांग्रेस–एमाले गठबन्धनको सरकारमा अघिल्लै मोडलअनुसार कांग्रेसतर्फबाट मुख्यमन्त्रीसहित ८ र एमालेतर्फबाट ६ जना मन्त्री सहभागी हुनेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’