आईजीपी हटाउने निर्णयमा आङ्देम्बेको प्रश्न– ‘यो सुशासन होइन, शक्ति प्रदर्शन हो’

१९ कार्तिक, २०८३
सारांश
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) लाई कार्यकाल सकिन १७ महिना बाँकी रहँदै पदबाट हटाउने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन् ।

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) लाई कार्यकाल सकिन १७ महिना बाँकी रहँदै पदबाट हटाउने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन् ।

 

आङ्देम्बेले अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर प्रहरी प्रमुख हटाउनु सुशासन नभई शक्ति प्रदर्शन भएको टिप्पणी गरेका हुन् ।

उनले वर्तमान सरकारको प्राथमिकता नागरिकका समस्या समाधान गर्नुभन्दा आईजीपी परिवर्तन गर्नेतर्फ केन्द्रित भएको आरोप लगाएका छन् ।

 भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीबाट नागरिक पीडित भएको, सुकुम्वासी विस्थापनको समस्या रहेको र महँगीले जनजीवन प्रभावित भइरहेका बेला प्रहरी प्रमुख परिवर्तन गर्नु नै राष्ट्रिय आवश्यकता हो भन्दै उनले प्रश्न गरेका छन् ।

 

त्यस्तै, प्रहरी महानिरीक्षकलाई कुन तथ्य र प्रमाणका आधारमा हटाइएको हो भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने उनको माग छ ।

सरकारका प्रवक्ता र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताको अभिव्यक्तिबीच देखिएको विरोधाभासप्रति पनि उनले प्रश्न उठाएका छन् । सरकार पार्टीको निर्देशनमा चलेको हो वा होइन भन्ने विषयमा स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

 

अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेको बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको भनिएको घटनालाई पनि आङ्देम्बेले गम्भीर रूपमा उठाएका छन् । अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो र त्यसमा भएको के मेटाउन खोजिएको थियो भन्दै उनले प्रश्न गरेका छन् ।

 

जनताले वर्तमान सरकारलाई सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको जीवनस्तर सुधार गर्न मत दिएको उल्लेख गर्दै उनले सत्ता र शक्तिको दुरुपयोग गर्न तथा प्रहरी प्रशासनलाई नियन्त्रणमा राख्न जनमत प्राप्त नभएको बताएका छन् ।

‘अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर आईजीपी हटाउनु गलत छ। यो सुशासन होइन, शक्ति प्रदर्शन हो,’ आङ्देम्बेले भनेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार