परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

२२ असोज, २०८३
सारांश
  • परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

काठमाण्डौ, २२ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे । परराष्ट्र मन्त्रालयका अनुसार उनले ८० भन्दा बढी बैठक तथा कार्यक्रममा सहभागिता जनाए, जसमा करिब ४० द्विपक्षीय र बहुपक्षीय भेटघाट थिए। यो संख्या अघिल्ला वर्षभन्दा उल्लेख्य बढी हो ।

 

यसपटक प्रधानमन्त्री बालेन्द्र शाहले अधिकांश द्विपक्षीय भेटघाटमा सहभागिता नजनाउने निर्णय गरेपछि परराष्ट्रमन्त्री खनालले नै नेपालको मुख्य कूटनीतिक भूमिका निर्वाह गरे । सामान्यतया प्रधानमन्त्रीले गर्ने वार्ता र भेटघाट यसपटक उनले सम्हाले ।

 

खनालले सेप्टेम्बर २२ मा महासभाको 'General Debate' उद्घाटनमा सहभागिता जनाउँदै जलवायु परिवर्तन, हिमाली संकट र दिगो विकासका विषय उठाए । नेपालले आयोजना गरेको उच्चस्तरीय कार्यक्रम “सगरमाथादेखि समुद्रसम्म: जलवायु-सहनशील भविष्यका लागि कार्यवाचा” को अध्यक्षता गर्दै उनले हिमालयी प्रभाव र समुद्री सतह वृद्धिबीचको सम्बन्धमा विश्वको ध्यान खिच्ने प्रयास गरे ।

 

भारतले आयोजना गरेको ग्लोबल साउथ मिनिस्टेरियल बैठकमा बोल्दै उनले दक्षिण-दक्षिण सहयोग, एकजुटता र विश्वव्यापी शासन संरचनामा समानताको पक्षमा आवाज उठाए । विकासोन्मुख देशले अन्तर्राष्ट्रिय नियम निर्माणमा बढी भूमिका पाउनुपर्ने उनको भनाइ थियो । डरबन घोषणापत्रको २५औं वार्षिकोत्सवमा उनले पूर्ण कार्यान्वयनमा जोड दिए र कृत्रिम बुद्धिमत्तामा हुन सक्ने पूर्वाग्रहबारे चेतावनी दिए । महामारी रोकथाम, तयारी र प्रतिकार्य विषयक बैठकमा रोकथामको संस्कृति विकास गर्नुपर्ने धारणा राखे ।

 

द्विपक्षीय तथा बहुपक्षीय भेटघाटमा खनालले महासभा अध्यक्ष खलिलुर रहमान, महासचिव एन्टोनियो गुटेरेस र मानवअधिकार उच्चायुक्त भोल्कर टर्कसँग छलफल गरे । जलवायु प्रभाव, संयुक्त राष्ट्रसंघ सुधार, नेपाल-संयुक्त राष्ट्रसंघ सहयोग र मानवअधिकार मुख्य एजेन्डा थिए । भारतीय विदेशमन्त्री एस. जयशंकरसँग बाढीपहिरोपछिको पुनर्लाभ र विकास सहयोग, अमेरिकी राजनीतिक मामिला राज्यमन्त्री एलिसन हुकरसँग बाढी राहत, पुनर्निर्माण र नेपाल-अमेरिका सम्बन्धबारे कुराकानी भयो । अस्ट्रेलिया, पोल्यान्ड, पोर्चुगल, जापान, युरोपियन युनियन, श्रीलंका, यूएई, स्लोभाकिया, माल्दिभ्स र रोमानियालगायतका समकक्षीसँग पनि भेटघाट भयो ।

 

सेप्टेम्बर २४ मा एसिया सोसाइटीमा “एसियाको उदीयमान शताब्दीमा नेपालको भविष्य” विषयक सम्बोधन गर्दै उनले नेपाल आर्थिक, डिजिटल र रणनीतिक पुलका रूपमा उभिन सक्ने बताए । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री डा. केभिन रडसँग संवाद गर्दै भौगोलिक चुनौतीलाई आकांक्षाको सीमा मान्न नहुने धारणा राखे ।

 

प्रवासी तथा कन्सुलर गतिविधिअन्तर्गत सेप्टेम्बर २३ मा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास भ्रमण गर्दै कन्सुलर सेवाबारे जानकारी लिए । सेप्टेम्बर २६ मा नेपाली डायस्पोरालाई सम्बोधन गर्दै प्रवासी नेपालीलाई विकासको महत्त्वपूर्ण स्तम्भ भने । कार्यक्रममा डायस्पोराले बाढीपहिरो पीडितका लागि २ लाख २६ हजार अमेरिकी डलरको चेक हस्तान्तरण गरे ।

 

कूटनीतिक उपलब्धिमा नेपालले ग्रेनाडा, नामिबिया र सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्यो । सेनेगलसँग सम्बन्ध जोडिएपछि नेपालका कूटनीतिक साझेदार देशको संख्या १८८ पुगेको छ । रुवान्डासँग सामान्य सहयोग सम्झौता, सर्बियासँग द्विपक्षीय परामर्श संयन्त्र स्थापना र बेलारुससँग भिसा छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार