‘कांग्रेस कम्युनिष्टको पिछलङ्गु भयो, अब उदार अर्थतन्त्रको बाटो नसमाते देश बन्दैन’: अन्जनी कोइराला
२०८२ मङ्सिर २८ आइतवार
- कांग्रेसले सत्ताको जोडघटाउमा लागेर आफ्नो गौरवमय इतिहास र सिद्धान्तलाई दाउमा राखेको टिप्पणी समेत गर्नुभयो।
काठमाडौँ: नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि सिन्धुली क्षेत्र नं. १ बाट सिफारिस गरेका युवा नेता अन्जनी कोइरालाले पार्टीले आफ्नो मौलिक बाटो बिराएको बताउनुभएको छ। शहिद वशिष्ठ कोइरालाका सुपुत्र समेत रहनुभएका कोइरालाले बिन्दु पोस्टसँग कुरा गर्दै, कांग्रेस नेतृत्वको कार्यशैली र देशको वर्तमान आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। कांग्रेसले सत्ताको जोडघटाउमा लागेर आफ्नो गौरवमय इतिहास र सिद्धान्तलाई दाउमा राखेको टिप्पणी समेत गर्नुभयो।
उहाँले कांग्रेस अहिले कम्युनिस्टहरूको एजेन्डामा हिँडिरहेको र माओवादीको ‘पिछलङ्गु’ बनेको आरोप पनि लगाउनुभयो।
आर्थिक नीतिमा कांग्रेसले बाटो बिरायो
नेता कोइरालाले नेपाली कांग्रेसले २०४६ सालपछि लिएको उदार अर्थतन्त्रको नीति छोडेको कारण देश र पार्टी दुवै कमजोर भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, "शैलजा आचार्य, रामशरण महत र महेश आचार्यहरूले अर्थतन्त्रमा लिएको खुलापनको नीतिकै कारण देशले यो स्तरको फड्को मारेको हो। तर आज कांग्रेस नेतृत्वलाई देशको अर्थतन्त्र र निजी क्षेत्रको चिन्ता छैन।"
उहाँले थप्नुभयो, "अहिले उद्योगी व्यवसायीहरू पलायन भइरहेका छन्, रोएर बसेका छन्। तर पार्टी नेतृत्व उनीहरूको पक्षमा एक शब्द बोल्दैन। नेतृत्वको ध्यान केवल ठेक्कापट्टा कसरी हात पार्ने, कसरी आफ्ना मान्छे सेटिङ गर्ने भन्ने चक्करमा मात्र केन्द्रित छ।"
पुरानो पुस्ताबाट नतिजा आएन
पटक-पटक अवसर पाउँदा पनि नतिजा दिन नसकेको भन्दै उहाँले अबको पालो नयाँ पुस्ताको भएको बताउनुभयो। नयाँ पुस्ता मात्रै भनेर पनि हुँदैन, स्पष्ट नीति सहित नयाँ नेतृत्व आउनुपर्छ। पुराना नेताहरूप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, "उहाँहरूसँग भएको एजेन्डा फेल भइसक्यो। मेरै जिल्लामा ५१ सालमा होमराज दाहाल २९ वर्षमा सांसद बन्नुभयो भने मैले ४० को उमेरमा दाबी गर्न किन नपाउने?"
पछिल्लो समय देखिएको ‘जेन-जी’ विद्रोहलाई उहाँले विध्वंस नभई वितृष्णाको उपज मान्नुहुन्छ। "यो विद्रोह किन भयो भनेर नेतृत्वले समीक्षा गर्नुपर्छ। म ‘जेन-वाई’ पुस्ताको प्रतिनिधि हुँ, त्यसैले मैले जेन-जीको रगत उम्लिएको आक्रोश र उनीहरूको महत्त्वाकांक्षालाई राम्रोसँग बुझेको छु," उहाँले भन्नुभयो। उहाँले 'युवा' मात्र भनेर नहुने तर भिजन र स्पष्ट खाका सहितको 'नीतिगत हस्तक्षेप' गर्न सक्ने नयाँ नेतृत्व अबको आवश्यकता रहेको औंल्याउनुभयो।
द्वन्द्वको घाउ: ‘हत्यारा जनप्रतिनिधि हुँदा पनि पश्चाताप छैन’
आफ्ना पिता वशिष्ठ कोइरालालाई २०६० सालमा तत्कालीन माओवादी विद्रोहीले घरबाटै अपहरण गरी ६ वर्षसम्म बेपत्ता पारी हत्या गरेको घटना स्मरण गर्दै उहाँ भावुक बन्नुभयो। "निर्दोष नागरिकको हत्या राजनीतिक गतिबिधि हुन सक्दैन, यो जघन्य अपराध हो," उहाँले भन्नुभयो।
उहाँले भन्नुभयो, "विडम्बना कस्तो छ भने, मेरो बुवालाई अपहरण गरेर लैजाने व्यक्तिहरू अहिले मेरै गाउँपालिकामा जनप्रतिनिधि (वडाध्यक्ष) भएर बसेका छन्। उनीहरूसँग भेट हुन्छ, तर उनीहरूमा रत्तिभर मानवीयता र पश्चाताप देखिँदैन। उल्टै उनीहरू सत्ताको आडमा छन्।" उहाँले आफू संसदमा पुगेमा आफ्नो पिताको लागि मात्र नभई द्वन्द्वकालमा मारिएका हजारौं निर्दोष नागरिकको न्यायका लागि 'मानव अधिकार' को पक्षमा लड्ने प्रतिबद्धता जनाउनुभयो।
राष्ट्रियता र इतिहासको सम्मान
कोइरालाले नेपालको इतिहास र राष्ट्रनिर्माताहरूप्रति भइरहेको अपमानले राष्ट्रियता कमजोर बनाएको बताउनुभयो। नेपाली काङ्ग्रेस राष्ट्रियताको पक्षमा दृढ भएर उभिनुपर्ने हो। "पृथ्वीनारायण शाहको सालिक फोर्ने र इतिहासलाई गाली गर्ने प्रवृत्ति गलत छ," उहाँले भन्नुभयो, "विदेशी शक्तिसँग डराएर आफ्नो इतिहास मेट्न खोज्दा देशको अस्तित्व संकटमा पर्छ।" देशको राष्ट्रियता माथि चौतर्फी आक्रमणहरू भैरहेका बेला काङ्ग्रेस जस्तो पार्टी मौन रहनु हुँदैन।
पैसाले होइन, नैतिक बलले जित्छु
चुनाव महँगो हुँदै गएको सन्दर्भमा उहाँले आफूसँग टिकट किन्न वा भोट किन्न पैसा नभएको तर 'नैतिक बल' भएको स्पष्ट पार्नुभयो। "म एक सामान्य किसानको छोरा हुँ, सरकारी स्कुल पढेर यहाँसम्म आएको छु," उहाँले भन्नुभयो, "म आर्थिक बलले होइन, कांग्रेसको विचार र मेरो परिवारको त्यागको नैतिक बलले चुनाव जित्छु।"
अन्त्यमा, उहाँले आफू प्राध्यापन पेशामा समेत आवद्ध रहेकोले संसदमा पुगेर नीतिगत तहमा हस्तक्षेप गर्न सक्ने क्षमता आफूसँग रहेको दाबी गर्नुभयो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।