सौरभ राज पन्तको टिप्पणी: “राजतन्त्रपछि नेपालको अर्को स्थायी शक्ति मानिएको नेपाली कांग्रेस पनि अस्तित्व संकटको चरणमा!”
१० मार्ग, २०८३
- पन्तले नेपाली कांग्रेसको अवस्था कुनै बेला बनारसको मणिकर्णिका घाटमा बसेर संगठन निर्माण गर्ने अवस्थाभन्दा पनि झरझर भएको बताएका छन्।
काठमाडौँ : ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभ राज पन्तले नेपाली कांग्रेसमा पछिल्लो समय देखिएको आन्तरिक विवाद, शक्ति संघर्षले पार्टीको ऐतिहासिक संगठनात्मक आधारमाथि नै प्रश्न खडा गरेको टिप्पणी गरेका छन्।
पन्तले नेपाली कांग्रेसको अवस्था कुनै बेला बनारसको मणिकर्णिका घाटमा बसेर संगठन निर्माण गर्ने अवस्थाभन्दा पनि झरझर भएको बताएका छन्।
उनले भने, “अहिले आम कांग्रेस कार्यकर्ताले गगन थापाको नेतृत्वमा निर्वाचन आयोगले पार्टी अद्यावधिक गरेर नयाँ नेतृत्वलाई आधिकारिकता दिएको र कांग्रेसमा युवा नेतृत्व आएकोमा खुसी हुने कि नेपाली कांग्रेस तलैदेखि दुई चिरा भएकोमा दुःखी हुने भन्ने मूल प्रश्न हो।”
पन्तका अनुसार, नेपाली कांग्रेसको वर्तमान संकट अर्को एउटा गम्भीर राजनीतिक प्रश्नसँग पनि जोडिएको छ। “नेपाली कांग्रेसको अस्तित्वसँग नेपालको राज्य र राजनीतिक इतिहाससमेत गाँसिएको छ। राजतन्त्रपछि नेपाली कांग्रेसलाई नेपालको अर्को स्थायी राजनीतिक शक्तिका रूपमा हेरिँदै आएको हो। तर, अहिले यो ऐतिहासिक शक्ति पनि धुजाधुजा हुँदै गएको देखिन्छ,” उनले टिप्पणी गरेका छन्।
पन्तले नेपाली कांग्रेसजस्तो ऐतिहासिक राजनीतिक शक्ति आन्तरिक विवादका कारण कमजोर हुँदै जानु एउटा पार्टीको मात्र समस्या नभई नेपालको समग्र राजनीतिक प्रणालीका लागि पनि चिन्ताको विषय भएको बताएका छन्।
नेपालका परम्परागत राजनीतिक शक्तिहरू क्रमशः कमजोर हुँदै गएको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत राजनीतिक विकासको प्रारम्भिक चरणमै रहेको अवस्थामा नेपालको आगामी राजनीतिक दिशा र राष्ट्रिय सामर्थ्यबारे गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ।
पन्तले सामाजिक सञ्जालबाट नयाँनयाँ चटक देखाएर चटकेहरू नेता बन्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पुर्खाहरूको रगत र पसिनाले आर्जेको मुलुकलाई कसरी जोगाउने भन्ने प्रश्न आज झन् गम्भीर बनेको बताएका छन्।
अन्तर्राष्ट्रिय राजनीति अत्यन्तै जटिल र अनिश्चित मोडमा पुगेको वर्तमान अवस्थामा नेपाल कहाँ उभिएको छ, हाम्रो राष्ट्रिय क्षमता के हो र बदलिँदो विश्व व्यवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा राष्ट्रिय चिन्तन आवश्यक रहेको पन्तले बताएका छन्।
उनले नेपालले अब ‘आर्ट अफ सर्भाइभल’ अर्थात् राष्ट्रिय अस्तित्व जोगाउने कला र दर्शनबारे गम्भीर चिन्तन गर्नुपर्ने समय आएको उल्लेख गरेका छन्। नेपालको भौगोलिक अवस्थितिलाई अवसरमा बदल्दै सार्वभौमिकता, राष्ट्रिय स्वार्थ, आर्थिक समृद्धि र रणनीतिक स्वायत्तता जोगाउने विषयमा साझा राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको उनको धारणा छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।