कर्णालीमा आजदेखि राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी प्रतिस्पर्धामा उत्रिँदै
८ मार्ग, २०८३
- राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक समितिबाट स्वीकृत खेलतालिकाअनुसार आजदेखि क्रिकेट, फुटबल, ह्यान्डबल, बास्केटबल, टेनिस र पौडी गरी छ खेल विधाका प्रतिस्पर्धा सुरु हुनेछन्।
सुर्खेत: लामो समयको प्रतीक्षापछि कर्णाली प्रदेशमा आजदेखि १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा सुरु हुँदैछन्। प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि त्यसको आठ दिनअघि नै विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन हुन लागेका हुन्।
राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक समितिबाट स्वीकृत खेलतालिकाअनुसार आजदेखि क्रिकेट, फुटबल, ह्यान्डबल, बास्केटबल, टेनिस र पौडी गरी छ खेल विधाका प्रतिस्पर्धा सुरु हुनेछन्। प्रारम्भिक चरणमा पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल र महिला बास्केटबलका खेल सञ्चालन हुने तालिका छ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। करिब ६ हजार ५०० खेलाडीले ३२ खेलका ३८४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव रविन्द्र चन्दले जानकारी दिए।
१०औँ राष्ट्रिय खेलकुदका ३२ खेलमध्ये २३ खेल सुर्खेतमा सञ्चालन गर्ने तयारी गरिएको छ। एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्ट्स र सेपाकताक्रोका खेल सुर्खेतमा हुनेछन्।
अन्य खेलमध्ये टेनिस र खोखो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने अवसर पाए पनि कर्णालीका सबै जिल्लामा खेल सञ्चालन हुन सकेका छैनन्। हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा कुनै पनि खेल आयोजना हुने छैनन्। लुम्बिनी प्रदेशका बाँके र बर्दियामा समेत केही खेल सञ्चालन हुने भएपछि कर्णालीभित्रै खेलस्थलको समान वितरण हुन नसकेको देखिएको छ।
प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा रहेको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला सोमबार निर्माण कम्पनीले प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीको उपस्थितिमा निर्माण कम्पनी एमएसी–जीएसएल जेभीले रंगशाला सरकारलाई बुझाएको हो।
रंगशाला निर्माणमा एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ। करिब १० हजार दर्शक अट्ने क्षमताको रंगशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान, आठ लेनको एथ्लेटिक्स ट्र्याक तथा बहुउद्देश्यीय खेल संरचना निर्माण गरिएको छ।
लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको रंगशाला औपचारिक रूपमा प्रदेश सरकारको स्वामित्वमा आएसँगै प्रतियोगिता सञ्चालनका लागि आवश्यक महत्वपूर्ण पूर्वाधार तयार भएको छ।
करिब नौ हजारको सहभागिता रहने अपेक्षा
आयोजकका अनुसार प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा भएको छ। विभिन्न प्रदेश र विभागीय टोलीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरू वीरेन्द्रनगर पुगिसकेका छन्।
प्रतियोगिताको प्रचारप्रसार तथा उत्साह अभिवृद्धिका लागि वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित र्यालीसमेत आयोजना गरिएको थियो। र्यालीमा मुख्यमन्त्री मंगलबहादुर शाही, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रविन चन्द, खेलाडी तथा स्थानीयवासी सहभागी भएका थिए।
आयोजकले प्रतियोगितामा खेलाडी र अफिसियल गरी करिब नौ हजार जनाको सहभागिता रहने अपेक्षा गरेको छ। प्रतियोगिताका लागि सरकारले ४४ करोड १० लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ भने आवश्यकताअनुसार खर्च करिब ७२ करोड रुपैयाँसम्म पुग्न सक्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
कर्णालीको पहिचान स्थापित गर्ने अवसर
कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रदेशको खेलकुद इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। तीन पटकसम्म मिति घोषणा भएर पनि आयोजना हुन नसकेको प्रतियोगिता यसपटक सञ्चालन हुन लागेपछि कर्णालीवासीमा उत्साह थपिएको छ।
प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा हुनेछ। प्रतियोगिता मङ्सिर २७ गते सोही रंगशालामा समापन गर्ने कार्यक्रम छ।
प्रतियोगिताले कर्णालीको खेल पूर्वाधारलाई राष्ट्रियस्तरमा चिनाउनुका साथै पर्यटन, होटल व्यवसाय, यातायात, व्यापार र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। देशभरबाट खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी तथा दर्शकको आगमनले कर्णालीको सामाजिक र सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने अवसरसमेत सिर्जना गर्नेछ।
यस प्रतियोगिताले कर्णालीका खेलाडीलाई आफ्नै प्रदेशमा राष्ट्रियस्तरको प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ खेल प्रतिभाको पहिचान, उत्पादन र खेलकुद संस्कृतिको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।