रास्वपामा कानुनभन्दा माथि कोही छैन, समर्थकको गल्ती पनि स्वीकार्य हुँदैन: रवि लामिछाने
२० कार्तिक, २०८३
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र नेतृत्व विकासलाई तल्लो तहदेखि नै अघि बढाउनुपर्ने बताएका छन्।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र नेतृत्व विकासलाई तल्लो तहदेखि नै अघि बढाउनुपर्ने बताएका छन्।
निर्वाचन क्षेत्रको भ्रमणका क्रममा इच्छाकामनाका स्थानीय नेता तथा कार्यकर्तासँगको भेटमा उनले पार्टीको आगामी नेतृत्व तयार पार्न अहिलेबाटै जिम्मेवारी बाँडफाँड र नेतृत्व निर्माणको अभ्यास गर्नुपर्ने बताए।
लामिछानेले वडा तहदेखि पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म जिम्मेवारी सम्हाल्न सक्ने सक्षम जनशक्ति निर्माणमा पार्टीले ध्यान दिनुपर्ने उल्लेख गरे। पार्टीको संगठन बलियो बनाउन स्थानीय तहमा रहेका सम्भावित नेतृत्वको पहिचान गर्दै उनीहरूलाई अवसर दिनुपर्ने उनको भनाइ थियो।
उनले रास्वपाको सदस्य वा समर्थक भएकै कारण कसैलाई पनि कानुन उल्लंघन गर्ने छुट नहुने स्पष्ट पारे। पार्टी विधि र कानुनमा विश्वास गर्ने भएकाले आफ्ना नेता तथा समर्थकले गलत काम गरे त्यसलाई संरक्षण गर्न नसकिने उनले बताए।
लामिछानेले पार्टी विधिको शासनमा विश्वास गर्ने उल्लेख गर्दै राज्यका सबै निकायले कानुनी प्रक्रिया र संस्थागत मर्यादाको पालना गर्नुपर्ने धारणा राखे। पार्टीले पनि विधिको अभ्यासलाई व्यवहारमै स्थापित गर्ने दिशामा काम गरिरहेको उनको भनाइ थियो।
लामो समयदेखि विभिन्न जिम्मेवारीका कारण आफ्नो निर्वाचन क्षेत्रमा पर्याप्त समय दिन नसकेको स्वीकार गर्दै उनले आफू जनताबाट टाढा नरहेको बताए। ठूलो पार्टीको नेतृत्व, सांसदहरू तथा संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने जिम्मेवारीका कारण समय व्यवस्थापन चुनौतीपूर्ण बनेको उनको भनाइ थियो।
चितवनमा पार्टीको पहिलो महाधिवेशन सम्पन्न भएको प्रसंग उल्लेख गर्दै लामिछानेले अब संगठन विस्तारसँगै सरकारसँग आवश्यक समन्वय गर्ने कामलाई पनि अघि बढाउनुपर्ने बताए। पार्टीको संस्थागत संरचना बलियो बनाएर स्थानीय विकास निर्माणका काममा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।
नागरिकले हरेक विषयमा सांसदकै खोजी गर्ने अवस्थाको अन्त्य हुनुपर्ने उल्लेख गर्दै उनले स्थानीय तहबाटै नेतृत्व विकास गर्न कार्यकर्तालाई आग्रह गरे। वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रसम्म जिम्मेवारी लिन सक्ने नेतृत्व तयार पार्ने काम अहिलेबाटै सुरु गर्नुपर्नेमा उनले जोड दिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।