प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन

२६ असोज, २०८३
सारांश
  • प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अधिकारीहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अधिकारीहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् । 

 

प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नैतिकता, निष्ठा, इमानदारी र अनुशासन प्रहरी सेवाका महत्त्वपूर्ण आधार भएको बताएका छन् ।

 

उनले संविधान, प्रचलित कानुन, नियम र कार्यविधिको पालना गर्दै जिम्मेवारीप्रति जवाफदेही हुन प्रहरी अधिकारीहरूलाई आग्रह गरेका छन्। शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र सङ्कटका बेला नागरिकको जिउधनको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको रहेको उनले उल्लेख गरेका छन् ।

 

प्रधानमन्त्री शाहले व्यक्तिगत स्वार्थमा नलाग्न र सङ्गठनको मर्यादाविपरीतका गतिविधिमा संलग्न नहुन पनि प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन्। प्रहरीले भेदभावरहित ढङ्गले काम गर्दै आम नागरिकले अनुभूति गर्ने गरी सेवा दिनुपर्ने उनको भनाइ छ ।

 

उनले बदलिँदो समयसँगै अपराधका स्वरूप र प्रवृत्ति परिवर्तन भइरहेकाले निष्पक्ष, वैज्ञानिक र प्रमाणमा आधारित अनुसन्धानका लागि सूचना प्रविधिको सही उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । यस्तो अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उनले बताएका छन् ।

 

१६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै प्रधानमन्त्री शाहले सफल कार्यकालको शुभकामना दिएका छन् । उनले तालिमका क्रममा सहयोग गर्ने अभिभावक, परिवारजन र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानप्रति पनि आभार व्यक्त गरेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार