- भारी वर्षापछि धाप बाँधको अवस्थाबारे प्रश्न उठेपछि नागमती तथा धाप बाँध आयोजनाले अवस्था स्पष्ट पारेको हो ।
काठमाडौँ: धाप बाँध आयोजनाले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
नागमती तथा धाप बाँध आयोजनाले शनिबार विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकाको सुख्खायामको पानीको आवश्यकता पूर्ति गर्न निर्मित धाप बाँध र यसको मुख्य संरचना हालसम्म पूर्ण रूपमा सुरक्षित रहेको जनाएको हो ।
भारी वर्षापछि धाप बाँधको अवस्थाबारे प्रश्न उठेपछि नागमती तथा धाप बाँध आयोजनाले अवस्था स्पष्ट पारेको हो । आयोजनाले बाँध क्षेत्रमा केही दिनअघि देखिएको जोखिम पनि पूर्णरुपमा हटेको वस्तुस्थितिकै भिडियो पनि सार्वजनिक गरेको छ ।
आयोजनाकाअनुसार निरन्तरको मनसुनजन्य वर्षाका कारण जलाशय तथा आसपासका क्षेत्रमा पानीको बहाव बढेपछि प्राविधिक टोलीले बाँधको अवस्था, जलसतह तथा पानीको आवगमन माथि नियमित निगरानी गरिरहेको छ ।
गत भदौ २४ गते साँझ स्याडल ड्याम-१ नजिकै सडक किनारामा पहिरो गएपछि सुरक्षात्मक कदम छिटो चालिएको थियो । आयोजनाका अनुसार सोही दिन साँझदेखि आउटफ्लोमार्फत करिब ४०० लिटर प्रतिसेकेन्ड पानी निरन्तर बाहिर पठाइएको छ । जसका कारण जलाशयको जलसतह २.३८ मिटरले घटेर हाल २०८४.८० मिटरमा आएको छ भने कुल सञ्चित पानीको करिब ३५ प्रतिशत हिस्सा सुरक्षित रूपमा निकासा भइसकेको छ ।
आयोजनाकाअनुसार धाप बाँधको सामान्य जलसतह २०८७.१४ मिटर रहेको छ । यदि आगामी दिनमा भारी वर्षा भई जलसतह यो बिन्दुभन्दा माथि पुगेमा अतिरिक्त पानी स्पिलवे बाट स्वतः बाहिर जाने प्राविधिक व्यवस्था मिलाइएको छ । हाल वर्षाको मात्रा घट्दै गएकाले बाँधमा भित्रिने पानीको मात्रा पनि कम हुँदै जाने अनुमान गरिएको छ ।
आयोजनाले पहिरो प्रभावित क्षेत्रमा आवश्यक पानी निकास, तटबन्ध तथा आपत्कालीन व्यवस्थापनका कार्यहरू द्रुत गतिमा अघि बढाएको छ । बाँधको सुरक्षा र प्राविधिक मूल्याङ्कन निरन्तर भइरहेकाले कुनै अप्रिय जोखिम नरहेको र सर्वसाधारणलाई अनावश्यक त्रास नमान्न तथा आधिकारिक सूचनामा मात्र विश्वास गर्न आयोजनाले अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।