विमलेन्द्र निधिको प्रतिवेदन : गगन-विश्वले पार्टी कब्जा गर्न नेतृत्वविरुद्ध अपमानित खेल खेले

३० श्रावण, २०८३, शनिवार
सारांश
  • निधिले यही प्रकरणबाट महामन्त्रीद्वयले नेपाली कांग्रेसमा विभाजन ल्याउने, पार्टीलाई एकलौटी रूपमा कब्जा गर्ने तथा नेताहरूको तेजोवध गर्ने संगठित प्रयास सुरु गरेको दाबी गरेका छन्।

काठमाडौं: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य नै समाप्त भइसकेको अवस्थामा अचानक रहस्यमय ढङ्गले हस्ताक्षर र मिति घोषणा गरेर कांग्रेसमा षड्यन्त्रपूर्वक तथा योजनाबद्ध रूपमा अनपेक्षित चिरा पार्ने काम गरिएको आरोप लगाएका छन्।

 

कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै निधिले आक्रमणमा परी जीवनमरणको सङ्घर्ष गरिरहेका सभापति शेरबहादुर देउवालाई नेतृत्व छाड्न र आफूहरूमा नेतृत्व हस्तान्तरण गर्न महामन्त्रीद्वयबाट निरन्तर दबाब दिइएको बताएका छन्।

 

प्रतिवेदनमा भनिएको छ, ‘जसलाई नेतृत्व हस्तान्तरणको अवाञ्छित प्रक्रिया अवलम्बन गर्न खोजिएको रूपमा प्रस्टसँग बुझ्न सकिन्छ । रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरण जस्ता शब्दहरू प्रयोग गर्दै महामन्त्रीद्वयबाट क्रमशः महत्त्वाकाङ्क्षी योजना मात्र प्रकट भइरहेको थियो । रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरण जस्ता शब्दहरूप्रति हाम्रो विमति नभएपनि हरेक निर्णयहरू विधिसम्मत, स्थापित, स्वाभाविक र मर्यादित ढङ्गबाट हुनुपर्छ भन्नेमा हामी दृढ थियौँ र छौँ ।’

 

निधिले रूपान्तरण वा हस्तान्तरणका नाममा नेतृत्वमा पुग्ने, असमझदारी र असहमति फराकिलो बनाउने तथा पुस्तान्तरणको नाममा पार्टी आन्दोलनका हरेक चरणमा योगदान गर्ने नेताहरूलाई विधि विपरीत पन्छाउने र अपमानित गर्ने प्रयास भइरहेको बताएका छन्।

प्रतिवेदनमा भनिएको छ, ‘यसमा हामी कुनै पनि हालतमा सहमत छैनौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने पूर्व सन्ध्यामा अवैध तरिकाबाट विशेष महाधिवेशन गरी पार्टीको नेतृत्व कब्जा गर्ने दुराशयपूर्ण रणनीति यसबाट स्पष्ट हुन्छ ।’

 

निधिले यही प्रकरणबाट महामन्त्रीद्वयले नेपाली कांग्रेसमा विभाजन ल्याउने, पार्टीलाई एकलौटी रूपमा कब्जा गर्ने तथा नेताहरूको तेजोवध गर्ने संगठित प्रयास सुरु गरेको दाबी गरेका छन्।

 

प्रतिवेदनमा भनिएको छ, ‘अहिले १५ औँ महाधिवेशनका लागि निर्धारित समयभित्रै क्रियाशील सदस्यता नवीकरण गरिसकेका सदस्यहरूलाई पनि अद्यावधिक गर्न गराउन धम्कीपूर्ण दबाब दिइरहेको छ । यो सरासर विधान विपरीत दुराशयपूर्ण कार्य हो भन्ने हाम्रो ठहर छ । एउटै महाधिवेशनका लागि दोहोरो सदस्यता नवीकरणको प्रावधान कतै पनि आवश्यक नहुने भनिरहनु पर्ने विषय होइन। हामीले स्पष्ट भनेका छौँ, अद्यावधिकको पासो थाप्नु हुँदैन ।’

त्यस्तै, नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई आफूहरूले स्वागत गरेको निधिले बताएका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार