'इन्डक्सनमा भ्याट, ग्यासमा लाइन—यो कस्तो विडम्बना? : कुलमान घिसिङ

२३ श्रावण, २०८३, शनिवार
सारांश
  • सर्वसाधारण र किसानलाई करको भार थप्नुको साटो डेडिकेटेड तथा ट्रंक लाइनको अर्बौं रुपैयाँ बक्यौता असुल गर्न तत्काल कडा कदम चाल्नुपर्ने उनको भनाइ छ।

काठमाडौं : पूर्व ऊर्जामन्त्री तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) बिनासर्त तुरुन्त फिर्ता गर्न सरकारसँग जोडदार माग गरेका छन्। सर्वसाधारण र किसानलाई करको भार थप्नुको साटो डेडिकेटेड तथा ट्रंक लाइनको अर्बौं रुपैयाँ बक्यौता असुल गर्न तत्काल कडा कदम चाल्नुपर्ने उनको भनाइ छ।

 

विशेषगरी कृषिका लागि प्रयोग हुने सिँचाइ र खानेपानी लिफ्टिङ विद्युतमा १३ प्रतिशत भ्याट थपिएको प्रति घिसिङले तीव्र असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले कृषकको सिचाइँ गर्ने विद्युत र जनताले पिउने खानेपानी लिफ्ट गर्ने विद्युतमा झन् १३ प्रतिशत भ्याट लगाएछ। हामीले सिचाइँको महसुल डिमाण्ड चार्ज छुट गरेर ७ रूपैंयाबाट करिब २ रूपैंया प्रति युनिट र सामुदायिक खानेपानी लिफ्टको डिमाण्ड चार्ज छुट गरेर ९ रूपैंयाबाट करिब ४ रूपैंया २० पैसाप्रति युनिट कायम गरेका थियौं।’ घिसिङ अगाडि थप्छन्, ‘कृषि सिचाईको लागि विद्युत नि:शुल्कै गर्दा पनि हुन्छ। यस्ता अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउने सरकारको कदम गलत छ।’

 

अहिलेको महँगीमा मल, बीउ, कृषि औजार र श्रमको लागत निरन्तर बढिरहेको तर किसानले भने आफ्ना उत्पादन अझ सस्तोमा बेच्न बाध्य हुनुपरेको यथार्थ उनले दिलाए। लिफ्ट सिँचाइबिना खेतीपाती सम्भव नरहेको र पहाडी तथा ग्रामीण भेगमा पानी लिफ्ट नगरी पीउने पानीको जोहो गर्न नसकिने वास्तविकतालाई सरकारले बेवास्ता गरेको उनको तर्क छ। उनले भने, ‘कृषकको मल, बीउ, ज्याला र कृषि यन्त्रको भाडा आदि सबैको भाउ बढेको बढ्दैछ। त्यसमाथि विद्युतमा पनि भ्याट। तर उत्पादित वस्तुको मूल्य अझ घटाएर बेच्नु परेको छ। कृषकले लिफ्ट सिंचाई नगरी खेति गर्न सकिँदैन। गाउँगाउँमा पानी लिफ्ट नगरी खानेपानी पिउन कठिन छ।’

 

एलपी ग्यासको संकट भइरहने अवस्थामा सर्वसाधारणलाई इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहन गर्नुको साटो विद्युतमा भ्याट असुल्नु ठूलो प्राविधिक तथा नीतिगत त्रुटि भएको घिसिङको ठहर छ। नेपालको वर्तमान विद्युतीय संरचनाले जतिसुकै इन्डक्सन र विद्युतीय सवारीसाधन चलाए पनि सहजै धान्न सक्ने दाबी गर्दै उनले भनेका छन्:

‘घरघरमा ग्यास अभाव छ। यस्तो बेलामा विद्युतमा सहुलियत दिएर ईन्डक्सन चुल्हो बाल्न प्रोत्साहन गर्नुपर्नेमा उल्टै घरायसी ग्राहकलाई पनि विद्युतमा भ्याट। ग्यास सिलिण्डर होइन अब ईन्डक्सन चुल्हो बाँड्ने स्किम सरकारले ल्याउनु पर्छ। देशमा उत्पादित विद्युत खेर फाल्ने अनि ग्यासमा लाईन लगाउने। यो कस्तो विडम्वना। हाम्रो विद्युतीय पूर्वाधार जति ईन्डक्सन बाले पनि जति गाडी चार्ज गरे पनि धान्ने अवस्थामा छ। केही प्राविधिक समस्या आए पनि तत्काल समाधान गर्न सक्ने क्षमता प्राधिकरणले विकास गरिसकेको छ। मेरो घरमा भान्सा र गाडी सबै विद्युतबाटै चल्छ।’

स्वदेशी ऊर्जाको प्रयोग बढाएर मात्र देशलाई आर्थिक रूपमा बलियो बनाउन सकिने उल्लेख गर्दै प्राधिकरणका पूर्व प्रमुख घिसिङले पुनः दोहोर्याए, ‘अब सबैको घरघर विद्युतबाट चलाऔं। देश आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडि बढ्छ। विदेशी मुद्रा संचिति बढ्छ। तसर्थ सरकारले विद्युतमा लगाएको भ्याट तत्काल फिर्ता लिन जोड्दार माग गर्दछौं। यस्को सट्टा डेडिकेटेड र ट्रंक लाइनको अर्वौंको बक्यौता उठाउन त्तकाल कदम चालियोस्।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार