आज श्रावण १५, खीर खाएर मनाईँदै

२०८३ श्रावण १५ शुक्रवार
सारांश
  • श्रावण १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला अषाढ़ १५ गते दही च्युरा र श्रावण १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

काठमाण्डौ, १५ श्रावण  । श्रावण १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला अषाढ़ १५ गते दही च्युरा र श्रावण १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

 

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

 

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद्हरु बताउछन् । साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दुध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

 

अर्कोतर्फ साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् बताउँछन् । यद्यपि यसको कुनै शास्त्रीय वचन भने नभएको बताइन्छ ।      

 

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।

 

नेपाली बृहत् शब्दकोषले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै' भनी खीरलाई परिभाषित गरिएको छ । आर्युवेदमा समेत खिरलाई प्राचीन भोजनका रूपमा व्याख्या गरिएको छ । खिर शब्द पनि संस्कृत शब्द ‘क्षीरमा’बाट आएको मानिन्छ । क्षीरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्छ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्त्वका रूपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतै–कतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरूलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रूपमा खिर पकाउने चलन छ ।

 

नेपाली समाजमा अषाढ़ १५ गते दही-च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार