गृहमन्त्री र सुनसरी घटनाका मृतक परिवारबीच ७ बुँदे सहमति

२०८३ श्रावण १५ शुक्रवार
सारांश
  • सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गएराति ७ बुँदे सम्झौता भएको छ ।

काठमाण्डौ, १५ श्रावण । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गएराति ७ बुँदे सम्झौता भएको छ ।

 

गृहमन्त्रालयका अनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र परिवारलाई १०-१० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

 

गृहमन्त्रीले हस्ताक्षर गरेको सहमति पत्रमा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया तत्काल अघि बढाइने उल्लेख छ । प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा गठित छानबिन समितिको प्रतिवेदनमा समेटिएका सुझाव र सिफारिसहरू कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्ने दुवै पक्ष सहमति भएको छ ।

 

त्यसैगरी, मृतकको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने उल्लेख सम्झौतामा गरिएको छ ।

 

सहमतिका बुँदा:

 

१- मृतकद्वयलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रकृया तत्काल अगाडि बढाउने । साथै मृतकका परिवारलाई रु.१०,००,०००।- (अक्षरेपि दश लाख मात्र) नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने ।

 

२- २०८३ साल श्रावण १० गते राति देवानगञ्ज-३, कप्तानगञ्जमा भएको घटनाको निश्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उपर प्रचलित कानून बमोजिम आवश्यक कार्वाही प्रकृया तत्काल अगाडि बढाउने ।

 

३- देवानगञ्ज गाउँपालिका-३, स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयहरुबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने ।

 

४- प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउने ।

 

५- उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरु प्रचलित कानून बमोजिम यथाशिघ्र कार्यान्वयनका लागि आवश्यक प्रकृया अगाडि बढाउने ।

 

६- मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने ।

 

७ - मिति २०८३/०४/१५ गते दिनको २ बजे मृतकको अन्तिम संस्कार गर्ने ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार