साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

४ श्रावण, २०८३, सोमवार
सारांश
  • हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको सबैभन्दा प्रिय महिना मानिन्छ ।

काठमाडौं: आज साउन महिनाको पहिलो सोमबार देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ । भगवान् शिवप्रति आस्था राख्ने श्रद्धालुहरू व्रत बसेर पूजा आराधना, जलाभिषेक, दुग्धाभिषेक तथा रुद्राभिषेक गरिरहेका छन् ।

 

राजधानीको पशुपतिनाथ मन्दिरसहित डोलेश्वर महादेव, किर्तिपुरको बाघभैरव परिसरस्थित शिवालय, हलेसी महादेव, देवघाट, ऋषेश्वर महादेव तथा देशका विभिन्न जिल्ला र स्थानीय तहमा रहेका शिव मन्दिरहरूमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको लाम लागेको छ । मन्दिर परिसरमा भक्तजनको सहज व्यवस्थापनका लागि सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ ।

 

हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको सबैभन्दा प्रिय महिना मानिन्छ । विशेषगरी यस महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत बस्ने, पूजा–आराधना गर्ने, मन्त्र जप गर्ने, अभिषेक गर्ने तथा दान–पुण्य गर्ने परम्परा सनातनकालदेखि नै चलिआएको धार्मिक विश्वास छ ।

 

धार्मिक मान्यताअनुसार साउन महिनाको सोमबार श्रद्धा र भक्तिभावका साथ व्रत बसेर भगवान् शिवको आराधना गरेमा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने विश्वास गरिन्छ । अविवाहित युवायुवतीले योग्य जीवनसाथी प्राप्तिको कामना गर्दै तथा विवाहित महिलाले परिवारको सुख, शान्ति, दीर्घायु र समृद्धिको कामना गर्दै पनि साउन सोमबारको व्रत बस्ने परम्परा रहेको छ ।

 

साउन महिनाभर शिव मन्दिरहरूमा बेलपत्र, धतुरो, आकको फूल, चन्दन, गंगाजल, दूध, दही, घिउ, मह र चिनी चढाएर भगवान् शिवको पूजा गर्ने चलन छ। शिवपुराण तथा अन्य धार्मिक ग्रन्थहरूमा साउन महिनामा भगवान् शिवको आराधनाको विशेष महत्व उल्लेख गरिएको छ ।

 

आजको दिन मन्दिरमा दर्शन गर्न नसक्ने श्रद्धालुहरूले घरमै शिवलिङ्ग स्थापना गरेर वा ‘ॐ नमः शिवाय’ मन्त्र जप गर्दै भगवान् शिवको तस्बिरमा पूजा-आराधना गर्ने गर्दछन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार