डिजिटल मिडियामा एआईको प्रयोग र साइबर सुरक्षाको चुनौती: काठमाडौँमा विशेष प्रशिक्षण सम्पन्न
२०८३ असार १२ शुक्रवार
- डि.एस.पि साहले पछिल्लो समय अनलाइन सञ्चारमाध्यम र पत्रकारहरू साइबर अपराधीको निशानामा परिरहेको भन्दै सुरक्षित पासवर्डको प्रयोग, टु-फ्याक्टर अथेन्टिकेसन र फिसिङ लिङ्कहरूबाट बच्ने प्राविधिक तरिकाहरू सिकाए ।
काठमाण्डौ, १२ अषाढ़ । तिव्र गतिमा विकास भइरहेको सूचना प्रविधिको युगमा डिजिटल मिडियालाई सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ 'डिजिटल मिडियामा साइबर सुरक्षा तथा कृत्रिम बौद्धिकता (AI)' विषयक एक दिवसीय प्रशिक्षण कार्यक्रम आज काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ । अनलाइन संघ नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पत्रकारिता र सुरक्षा क्षेत्रका विज्ञहरूले वर्तमान समयमा डिजिटल मिडियाले भोगिरहेका प्राविधिक चुनौती र अवसरका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका प्रेस रजिष्ट्रार रेवती प्रसाद सापकोटाले डिजिटल मिडियाको संख्या बढेसँगै यसको व्यवस्थापन र सुरक्षामा ध्यान दिनु अपरिहार्य रहेको बताए । उनले भने, "प्रविधिको प्रयोगले पत्रकारितालाई सहज त बनाएको छ, तर यससँगै जोडिएर आउने साइबर जोखिम र भ्रामक सूचनाका बारेमा पत्रकारहरू थप सचेत हुन जरुरी छ ।"
विशिष्ट अतिथिको रूपमा बोल्दै प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत झबिन्द्र भुसालले डिजिटल माध्यममा आचारसंहिताको पालना र तथ्यपरक पत्रकारिताको महत्त्वमा जोड दिए । उनले नयाँ प्रविधिलाई आत्मसाथ गर्दा पत्रकारिताको विश्वसनीयतामा आँच आउन दिन नहुने धारणा राखे ।
प्रशिक्षणको प्राविधिक सत्रमा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता विभागका उप-प्राध्यापक डा. घमराज लुईंटेलले 'ए.आई.को विश्वसनीयता र नेपाली पत्रकारितामा यसको प्रयोग' विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । डा. लुईंटेलले ए.आई.ले पत्रकारको कामलाई छिटो र छरितो बनाउन सहयोग गरे तापनि यसले सृजना गर्न सक्ने 'फेक न्यूज' र नैतिकताको संकटप्रति सजग रहनुपर्ने बताए । उनले नेपाली सञ्चारमाध्यममा ए.आई.को सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे प्रयोगात्मक जानकारी समेत प्रदान गरे ।
त्यसैगरी, साइबर सुरक्षाका क्षेत्रमा विशेष दख्खल राख्ने नेपाल प्रहरी साइबर ब्युरोका डि.एस.पि. उमेश प्रसाद साहले 'साइबर आक्रमण र यसबाट बच्ने उपाय'का बारेमा तालिम दिएका थिए । डि.एस.पि साहले पछिल्लो समय अनलाइन सञ्चारमाध्यम र पत्रकारहरू साइबर अपराधीको निशानामा परिरहेको भन्दै सुरक्षित पासवर्डको प्रयोग, टु-फ्याक्टर अथेन्टिकेसन र फिसिङ लिङ्कहरूबाट बच्ने प्राविधिक तरिकाहरू सिकाए । उनले साइबर कानून र कानुनी उपचारका प्रक्रियाबारे पनि सहभागीहरूलाई प्रष्ट पारे ।
कार्यक्रममा अतिथि तथा न्युज २४ दैनिकका प्रधान सम्पादक नवराज चालिसेले डिजिटल मिडियाको भविष्य प्रविधिमै निर्भर रहेको बताउँदै यस्ता प्रशिक्षणले पत्रकारहरूको क्षमता अभिवृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको समापन गर्दै अनलाइन संघ नेपालका अध्यक्ष अमृत पन्थीले सहभागी तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गरे । उनले सञ्चारकर्मीहरूलाई प्रविधिमा पोख्त बनाउन र उनीहरूको पेसागत सुरक्षा सुनिश्चित गर्न संघले आगामी दिनमा पनि यस्ता ज्ञानमूलक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौँका विभिन्न अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चार उद्यमीहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमले डिजिटल मिडियाको सुरक्षा र प्रविधिमा ए.आई.को भूमिकाबारे नयाँ बहसको सुरुवात गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।