अमेरिकी प्रविधि कम्पनी ओरेकलबाट २१ हजार कर्मचारी कटौती

२०८३ अषाढ़ १० बुधवार
सारांश
  • कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगले कम्पनीहरूको कार्यक्षमता बढाउने अपेक्षा गरिए पनि यसले विश्वभर लाखौँ कर्मचारीको रोजगारीमा चुनौती थप्न थालेको छ ।

काठमाण्डौ, १० अषाढ़ । कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगले कम्पनीहरूको कार्यक्षमता बढाउने अपेक्षा गरिए पनि यसले विश्वभर लाखौँ कर्मचारीको रोजगारीमा चुनौती थप्न थालेको छ । यसको पछिल्लो उदाहरण अमेरिकी प्रविधि कम्पनी ओरेकल बनेको छ, जसले २०२६ मा विश्वभर करिब २१ हजार कर्मचारी कटौती गरेको छ ।

 

कम्पनीका अनुसार कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोगसँगै कार्यप्रणाली तीव्र रूपमा परिवर्तन भइरहेको छ र आगामी दिनमा पनि कर्मचारी संख्या थप घट्न सक्ने सम्भावना रहेको छ ।

 

सार्वजनिक वार्षिक प्रतिवेदनअनुसार ३१ मे २०२६ सम्म ओरेकलमा कार्यरत कर्मचारीको संख्या घटेर करिब एक लाख ४१ हजारमा पुगेको छ । एक वर्षअघि यो संख्या करिब एक लाख ६२ हजार थियो । यसरी कम्पनीको कुल कार्यबलमा करिब १३ प्रतिशतले कमी आएको छ ।

 

ओरेकलले आफ्नो विभिन्न सञ्चालन प्रक्रियामा कृत्रिम बुद्धिमत्ता प्रविधिको प्रयोग बढाउँदा कर्मचारी संख्या घटेको र भविष्यमा पनि यसको प्रभाव जारी रहने स्पष्ट पारेको छ ।

 

यद्यपि कम्पनीले कर्मचारी कटौतीको कारण केवल कृत्रिम बुद्धिमत्ता मात्र नभई व्यवस्थापन सुधार, उत्पादनसम्बन्धी परिवर्तन, कार्यसम्पादन मूल्याङ्कन, रणनीतिक पुनर्संरचना तथा विभिन्न कम्पनी अधिग्रहणजस्ता कारण पनि रहेको जनाएको छ ।

 

यसअघि मार्च महिनामै ओरेकलले ठूलो मात्रामा रोजगारी कटौती गर्ने संकेत दिएको थियो । त्यतिबेला कृत्रिम बुद्धिमत्ता डेटा केन्द्र विस्तारका लागि भएको ठूलो खर्चका कारण कम्पनीले नगद प्रवाहमा दबाब सामना गरिरहेको थियो । अध्यक्ष ल्यारी एलिसनको नेतृत्वमा ओरेकलले परम्परागत डेटाबेस सफ्टवेयर कम्पनीको छवि परिवर्तन गर्दै कृत्रिम बुद्धिमत्ता र क्लाउड कम्प्युटिङ क्षेत्रमा प्रमुख खेलाडी बन्ने प्रयास गरिरहेको छ ।

 

कम्पनीले ओपन एआईजस्ता ग्राहकका लागि विशाल कृत्रिम बुद्धिमत्ता डेटा केन्द्र निर्माण गरिरहेको छ । यस रणनीतिअन्तर्गत ओरेकलले अमेजन र माइक्रोसफ्टजस्ता कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ । यी कम्पनीहरू पहिलेदेखि नै क्लाउड बजारमा बलियो अवस्थामा छन् ।

 

तर ओरेकलका लागि चुनौती भनेको अमेजन र माइक्रोसफ्टजस्तो बलियो नगद प्रवाह क्षमता नहुनु हो । त्यसैले विस्तार योजनाका लागि कम्पनीले ऋण र अतिरिक्त लगानीमा निर्भर हुनुपरेको छ ।

 

कम्पनीले हालै चालु आर्थिक वर्षमा आफ्नो पूँजीगत खर्च करिब ७० अर्ब डलरसम्म पुग्न सक्ने जनाएको थियो । यसका लागि ओरेकलले करिब ४० अर्ब डलर अतिरिक्त ऋण र सेयरमार्फत जुटाउने योजना बनाएको छ ।

 

कृत्रिम बुद्धिमत्ता केन्द्रित पुनर्संरचनाको लागत पनि उल्लेखनीय रूपमा बढेको छ । आर्थिक वर्ष २०२६ मा कम्पनीले कर्मचारीलाई प्रदान गरिएको सेवा समाप्ति सुविधा र अन्य पुनर्संरचना खर्चमा एक अर्ब ८४ करोड डलर खर्च गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा भने यस्तो खर्च केवल ३७ करोड ४० लाख डलर मात्रै रहेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार