राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले के के निर्णय गर्यो ?

२०८३ अषाढ़ ०६ शनिवार
सारांश
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले असार ५ र ६ गते काठमाडौँमा बसेको केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले असार ५ र ६ गते काठमाडौँमा बसेको केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

 

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार र महाधिवेशन तयारीलगायत विभिन्न निर्णय गरेको हो । बैठकले वर्तमान राजनीतिक परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएको छ । पार्टीले सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रतिबद्धता बोकेको सरकारले व्यवहारमा त्यसअनुसार काम गर्न नसकेको आरोप लगाएको छ ।

 

राप्रपाले सरकारमाथि विगतका सरकारकै शैलीमा शासन सञ्चालन गर्ने प्रयास भइरहेको भन्दै आलोचना गरेको छ भने परराष्ट्र नीतिमा स्पष्ट दृष्टिकोणको अभाव देखिएको र छिमेकी मुलुकहरूसँग अविश्वास बढ्ने जोखिम रहेको निष्कर्ष निकालेको छ । साथै प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपाले त्यसलाई प्रमाणसहित स्पष्ट गर्न वा सच्याउन माग गरेको छ ।

 

बैठकले सल्लाहकार र स्वकीय सचिवहरूको नियुक्तिमा योग्यताको सट्टा निकटता हाबी भएको आरोप लगाउँदै राज्य संयन्त्रमा अनियमित अभ्यास बढेको दाबी गरेको छ । त्यसैगरी राप्रपाले बजेटमा शिक्षा, स्वास्थ्य र विद्युत जस्ता क्षेत्रमा लगाइएको कर फिर्ता लिन सरकारसँग माग गर्दै मूल्यवृद्धि नियन्त्रण गरी दैनिक उपभोग्य वस्तु सस्तो बनाउन र बजार अनुगमन प्रभावकारी बनाउन आग्रह गरेको छ ।

 

त्यस्तै काठमाडौँका नदी किनारका बस्ती हटाउने क्रममा वैकल्पिक व्यवस्थापन नगरेको भन्दै राप्रपाले तत्काल पुनर्वासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । यसैगरी, निजी क्षेत्रमाथि अनावश्यक धरपकडले लगानी वातावरण बिग्रने चेतावनी दिँदै कानुनी प्रक्रिया अनुसार मात्र नियमन गर्न माग गरेको छ भने किसानलाई आवश्यक रासायनिक मल सहज रूपमा उपलब्ध गराउन र चिया क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

 

बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी २०८३ मंसिर २६, २७ र २८ गते काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि अध्यक्ष लिङ्देनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

 

त्यसैगरी सक्रिय सदस्यता वितरण, जिल्ला र प्रदेश अधिवेशन, प्रतिनिधि चयन तथा निर्वाचनसम्बन्धी कार्यतालिका पनि बैठकले पारित गरेको छ । जसअनुसार भाद्र मसान्तभित्र जिल्ला अधिवेशन, असोजमा प्रदेश अधिवेशन र मंसिरमा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न गर्ने योजना बनाइएको छ ।

 

राप्रपाले राष्ट्रिय राजनीतिमा आफ्नो नीति र विचारको आवश्यकता अझ बढ्दै गएको दाबी गर्दै पार्टीका सबै सदस्यलाई उच्च मनोबलका साथ सक्रिय रहन आह्वान गरेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार