- काठमाडौँ महानगरका प्रमुख बालेन शाह जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक कार्यक्रममा देखिएका छन् ।
काठमाडौँ, २१ कार्त्तिक । काठमाडौँ महानगरका प्रमुख बालेन शाह जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक कार्यक्रममा देखिएका छन् । शुक्रबार बालेनले ब्रह्माको मन्दिर समुद्घाटन गरेका हुन् ।
उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतसहित प्रमुख शाहले महानगरपालिकाको वडा नम्बर ८ जयवागेश्वरी, गायत्री मार्गमा रहेको मन्दिरको शिलालेख अनावरण गर्दै समुद्घाटन गरेका हुन् ।
मन्दिर समुद्घाटनपछि बोल्दै उपप्रमुख डंगोलले, प्राचीन स्मारकको जीवनका रुपमा रहेका आकृतिक, मूर्ति तथा कलाकृति पुनरुत्थानबाट सांस्कृतिक सहरको पहिचान पुनस्थापित गर्न लागिरहेको बताएकी थिइन् ।
यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक संगतका अनुसार १९९० साल अघि नै मन्दिर भग्नावशेष भएको थियो । यसपछि झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा मन्दिर भएको ठाउँमा उत्खनन गरेपछि यसको प्राचीनताको अध्ययन गरिएको थियो ।
संगत भन्छन्- 'अध्ययनबाट मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ । मन्दिरको वनावट र प्रकृति सम्बन्धी दस्तावेज नपाइए पछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुबाट मन्दिरको रेखाङ्कन गराएर पुननिर्माण गरिएको हो ।’
मन्दिरको मूर्ति गौशाला प्रहरी वृत्तमा राखिएको थियो । चतुर्मुख व्रह्माको यो मूर्तिलाई पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार कार्तिक १७ गतेको साइतमा प्रहरी परिसरबाट रथारोहण गरी मन्दिरमा लगेर पुनःस्थापना गराइएको हो । करिब २०३६ सालतिर यो मूर्ति चोरिएको थियो । चोरेर लैजाने क्रममा टाढा पुर्याउन नसकेपछि चोरले छोडेर भोगेका थिए । त्यसपछि प्रहरीले मूर्तिलाई संरक्षणमा राखेको थियो ।
पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत शुशिलकुमार गौत्तमले यस मूर्तिको विशेषताका बारेमा जानकारी दिँदै भने, ‘मूर्तिमा ४ वटा टाउका छन् । छातीतर्फको टाउकोले पश्चिम हेरेको छ । एउटा हातमा कमण्डलु र अर्को हातमा रुद्राक्षको माला बोकेको छ । २ वटा टाउका काँध माथि छन् भने एउटा टाउको पछाडिपट्टि छ । यसकारण यो मूर्ति व्रह्माको हो ।’ पछिल्लो समयमा यो मूर्ति कसको हो भन्ने विषयमा सामाजिक सञ्जालमा चलेको चर्चाका विषयमा कुरा गर्दै गौत्तम भन्छन्, ‘मूर्ति व्रह्मासनमा छ । यो व्रह्माको आसन हो । नेपालमा व्रह्माका २ वटा मूर्ति छन् । एउटा यही हो । अर्को चापागाउँमा छ । यहाँका विषयमा अभिलेख प्राप्त हुन सकेको छैन । चापागाउँमा रहेको मूर्तिसँग कुवेर गुप्त र आनिक गूप्तले निर्माण गराएको उल्लेख छ ।’
मन्दिरका आर्किटेक्ट डिजाइनर विनिता मगैयाका अनुसार जगबाट ३०० × २०० मिलिमिटरका ७२ वटा इटाको उचाइमा मूर्तिको आसन छ । एउटा इटाजत्ति मूर्तिको जग छ । १० वटा इटाको उचाइ बराबरको मूर्ति छ । झाडी र फोहर थुपारिएको ठाउँमा मन्दिरको प्रारुप खोज्ने बेलामा लम्बाइ चौडाई साढे ८ भएको संरचना भेटिएको थियो । मगैयाका अनुसार अहिले मन्दिरको पेटी २६ × २६ को र मन्दिर १६ × १६ को क्षेत्रफलमा बनाइएको छ ।
आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट १ करोड १२ लाख ४५ हजार रुपियाँ लागतमा मन्दिर पुननिर्माण भएको हो । सडकबाट ५ फिट उचाइमा पेटी उठाएर मन्दिर निर्माण गरिएको छ । माटो, इटा र काठको प्रयोगबाट पुनःनिर्माण भएको मन्दिर २३.५ फिट उचाइको दुई तले प्यागोडा शैलीको छ । मन्दिरमा शिरमा ३ फिटको गजुर राखिएको छ ।
संस्कृतिविद मुकुन्दराज वैद्यका अनुसार व्रह्मा मन्दिरको पुनरुत्थानले ग्वलःदे क्षेत्रको प्राचीनतालाई पुनस्थापना गराउन मद्दत गरेको । ग्वल देः को विशेषता भनेको तान्त्रिक विधि र प्राचीनतामा ९ अङ्कको प्रयोग हो । ग्वलः क्षेत्रमा ९ वटा पोखरी, ९ वटा ढुङ्गेधारा, ९ वटा इनार, ९ वटा ढोका, ९ वटा शक्तिपीठ, ९ वटा पाटीपौवा, ९ वटा डवली, ९ वटा टोल र ९ थरी जात छन् । मन्दिरको उत्खनन गर्दा जगमा ९ वटा कुण्ड भेटिएका थिए । यो कुण्ड ‘ग्वलः देँ’ (ग्वलः देश) निर्माणको प्राचीनता, धार्मिक आस्था र तान्त्रिक विधिसँग सम्बन्धित विशेषतासँग जोडिएको छ । २०८१ सालमा शिलान्यास र जगपूजा गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’