आज नोबेल शान्ति पुरस्कारको घोषणा हुदै, ट्रम्पले पाउने सम्भावना कति छ ?

२०८२ असोज २४ शुक्रवार
सारांश
  • विज्ञहरू ट्रम्पले यस बर्षको नोबेल शान्ति पुरस्कार जित्ने सम्भावना कम रहेको बताएका छन् । केहिले समयमा यस पुरस्कारका लागि ट्रम्पको नाम दर्ता नभएको दाबि गरेका छन् ।

काठमाडौँ: नोबेल शान्ति पुरस्कारको घोषणा आज नर्वेको राजधानी ओस्लोमा गरिदैछ । नेपाली समय अनुसार करिब २: ४५ बजे नोबेल समितिले यस बर्षको शान्ति पुरस्कारको घोषणा गर्दैछ । 
 

नोबेल शान्ति पुरस्कारका लागि यस वर्ष २४४ व्यक्ति र ९४ संस्थासहित ३३८ जनाको मनोनयन दर्ता भएको बताइएको छ । तीमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सबैभन्दा बढी चर्चामा छन् । उनले बारम्बार यो पुरस्कारको हकदार आफु भएको बताउदै आएका छन् । उनले भारत र पाकिस्तान बीचको युद्धसहित कैयौं युद्ध रोकेर विश्वमा शान्ति ल्याउन भूमिका खेलेको दाबि गर्दै आएका छन् । साथै पछिल्लो पटक गाजामा युद्धविरामको सहमति भएपछि उनको नाम नोबेल शान्ति पुरस्कारका लागि फेरी एकपटक चर्चामा रहेको छ । उनका नजिककासहित ह्वाइट हाउसले नै 'द पिस प्रेसिडेन्ट' भन्दै प्रचार समेत गरिरहेका छन् । 
 

यद्यपि, विज्ञहरू ट्रम्पले यस बर्षको नोबेल शान्ति पुरस्कार जित्ने सम्भावना कम रहेको बताएका छन् । केहिले समयमा यस पुरस्कारका लागि ट्रम्पको नाम दर्ता नभएको दाबि गरेका छन् ।
 

२०२५ को नोबेल शान्ति पुरस्कारको लागि मनोनयनको अन्तिम मिति जनवरी ३१, २०२५ थियो । नर्वेजियन नोबेल समितिको नियम अनुसार, २०२५ को नोबेल पुरस्कारको लागि यस मिति पछि प्राप्त कुनै पनि मनोनयन स्वीकार गरिएको छैन । मनोनयन प्रक्रिया प्रत्येक वर्ष फेब्रुअरी १ ​​मा सुरु हुन्छ, र त्यो मिति सम्म प्राप्त मनोनयनहरू मात्र मान्य हुन्छन् । ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए, त्यसको ११ दिनपछि नै मनोनयन प्रक्रिया बन्द भएको थियो ।
 

पाकिस्तान र इजरायल जस्ता कट्टर प्रतिद्वन्द्वीहरूले पनि ट्रम्पलाई नोबेलको लागि मनोनयन गरेका थिए । पाकिस्तानले भारतसँगको युद्धविराममा ट्रम्पले भूमिका खेलेको दाबी गरेको छ भने इजरायलले इरानसँगको युद्धमा युद्धविरामको लागि ट्रम्पलाई मनोनयन गरेको छ ।
 

त्यस्तै नोबेल शान्ति पुरस्कारका लागि चर्चामा रहेका अन्य नाममा पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खान, टेस्लाका प्रमुख एलन मस्क, मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिम र पोप फ्रान्सिस (जसको अप्रिलमा निधन भयो) लगायत रहेका छन् ।

 

अर्को वर्ष, ट्रम्पको सम्भावना बलियो

ट्रम्पले हालै गाजा युद्धविराम योजना प्रस्तुत गरे र युद्ध विरामको पहिलो चरणको योजनामा हमास र इजरायललाई सहमत बनाएका छन् । ट्रम्पले यसलाई उपलब्धिको रूपमा प्रचार गरिरहेका छन् । यद्यपि, विज्ञहरू गाजा शान्ति सम्झौता ढिलाइ भएको थियो, जसले गर्दा ट्रम्पलाई यस पटक जित्न गाह्रो भयो । साथै गाजा युद्धविरामले नोबेल निर्णयलाई असर नगर्ने र तर यदि शान्ति दिगो रुपमा भएमा ट्रम्पले अर्को बर्ष नोबेल शान्ति पुरस्कार पाउने सम्भावना बलियो हुने बताइएको छ ।
 

पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई मानव अधिकार र लोकतन्त्रका लागि पाकिस्तान विश्व गठबन्धनले मनोनित गरेको छ । खान अगस्ट २०२३ देखि पाकिस्तानको अदियाला जेलमा थुनिएका छन् । भ्रष्टाचारको मुद्दामा उनलाई १४ वर्षको जेल सजाय सुनाइएको छ । त्यस्तै टेस्लाका सीईओ एलन मस्कलाई युरोपेली सांसद ब्रान्को ग्रिम्सले अभिव्यक्ति स्वतन्त्रताको लागि मनोनित गरेका छन् । यद्यपि, मस्कले आफुले कुनै पुरस्कार नखोजेको स्पष्ट गरेका छन् ।

१९०१ देखि २०२४ सम्म १४१ पटक नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ । अहिलेसम्म १११ व्यक्ति र ३० संस्थाले यो सम्मान प्राप्त गरेका छन् ।  नोबेल पुरस्कारहरू १८९५ मा स्थापित गरिएको थियो र १९०१ मा प्रदान गर्न शुरु गरिएको थियो ।
 

यी पुरस्कारहरू वैज्ञानिक र आविष्कारक अल्फ्रेड बर्नहार्ड नोबेलको नाममा प्रदान गरिदै आएको छ । सुरुमा, भौतिक विज्ञान, चिकित्सा, रसायन विज्ञान, साहित्य र शान्तिको क्षेत्रमा मात्र नोबेल पुरस्कार प्रदान गरिन्थ्यो । पछि, अर्थशास्त्रको क्षेत्रमा पनि नोबेल पुरस्कार प्रदान गर्न थालिएको छ । अर्थशास्त्रमा नोबेल पुरस्कार सन् १९६९ देखि दिन थालिएको हो ।
 

नोबेल पुरस्कार वेबसाइटका अनुसार, कुनै पनि क्षेत्रमा नोबेल पुरस्कारको लागि मनोनित व्यक्तिहरूको नाम आगामी ५० वर्षसम्म खुलासा गरिएको छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार