उद्योगी व्यवसायीलाई निराश नहुन महासंघ अध्यक्षको अपिलः ‘फेरि उठ्नुपर्छ, अघि बढ्नुपर्छ’

२०८२ भाद्र २८ शनिवार
सारांश
  • शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफ्नै व्यवसायमा समेत ठूलो क्षति पुगेको अवस्थामा पनि अध्यक्षले देशभरका उद्यमी व्यवसायीहरूलाई पुनः निर्माणमा जुट्न आह्वान गरेका हुन् ।

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हालैको जेनजी पुस्ताको आन्दोलनका क्रममा देशभरका उद्योग व्यवसायमा भएको तोडफोड, आगजनी र क्षतिपछि व्यवसायीहरूलाई मनोबल नखसाल्न आग्रह गरेका छन् ।

 

शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफ्नै व्यवसायमा समेत ठूलो क्षति पुगेको अवस्थामा पनि अध्यक्षले देशभरका उद्यमी व्यवसायीहरूलाई पुनः निर्माणमा जुट्न आह्वान गरेका हुन् ।

 

उनले शून्य पुँजीबाट सुरु गरिएको व्यवसायिक यात्राको संघर्ष र प्रतिबद्धता सम्झँदै अहिले मुलुकका २० हजारभन्दा बढी नेपालीको प्रत्यक्ष रोजगारीसँग आफ्नो व्यवसाय जोडिएको उल्लेख गरे ।

 

‘हामीले चार दशकअगाडि इमान्दारिता, निरन्तरता र देशमै केही गरौँ भन्ने अठोटका साथ सुरु गरेको सानो व्यवसाय आज फराकिलो राजमार्ग बनेको छ,’ अध्यक्ष ढकालले लेखेका छन,’तर अहिले भने जिम्मेवारीकै सबैभन्दा कठिन मोडमा पुगेको महसुस भइरहेको छ ।’

 

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा धेरै उद्योग, व्यवसाय तथा निजी सम्पत्तिमा ठूलो क्षति भएको भन्दै उनले लेखेका छन्,‘यो क्षण केवल भौतिक सम्पत्तिको क्षति मात्र होइन, मन, समर्पण र सपनामाथि लागेको चोट पनि हो । तर हामी हतोत्साहित हुन मिल्दैन ।’

 

उनले व्यवसायीहरूलाई आजैदेखि क्षतिग्रस्त उद्योग व्यवसायको पुनर्निर्माणमा जुट्न, थप लगानी गरी रोजगारी सिर्जनामा लाग्न र प्रत्येक चुनौतीलाई नयाँ अवसरका रूपमा लिन सुझाव दिएका छन् । ‘८१ प्रतिशत भन्दा बढी योगदान र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्रबिना मुलुकको समृद्धि सम्भव छैन,’ उनले जोड दिएका छन, ‘त्यसैले हामी नआत्तिऔँ, नथाकौं, फेरि उठौं र अघि बढौं ।’

 

अध्यक्षले नयाँ पुस्तालाई पनि निजी क्षेत्र नै मुलुकको अर्थतन्त्रको इन्जिन हो भन्ने सन्देश दिन आवश्यक रहेको बताएका छन् । ‘भोलिका पुस्ताले रोजगारी खोज्दै खाडी वा मलेसिया जान नपरोस् भन्ने सपना हामीले पूरा गर्नुपर्छ,’ उनले भनेका छन, “विश्वास गरौँ, भोलि सुनौलो विहानी आउने नै छ । फेरि उठ्नुछ, निर्माण गर्नुछ र भविष्यका पुस्तालाई प्रेरणा दिनुछ ।’

 

उनले सबै व्यवसायीहरूलाई दुःखलाई साझा ठानी अझ सबल भएर अघि बढ्न आग्रह गर्दै भनेका छन, ‘आउनुहोस्, सबैको प्रयास र निजी क्षेत्रको साहसले सुनौलो नेपालको मार्गचित्र कोर्ने सन्देश दिन सकिने गरी काम गरौँ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार