सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध आइतबार प्रदर्शन

२०८२ भाद्र २२ आईतवार
सारांश
  • पूर्वपदाधिकारीहरुले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

काठमाडौँ: नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरुले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध आइतबार प्रदर्शन गर्ने भएका छन् । 

 

पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दहाल, गोविन्द आचार्य, रमेश विष्ट लगायतका पूर्वपदाधिकारीहरुले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

 

उनीहरूले सरकारको यो कदमलाई 'अलोकतान्त्रिक र असंवैधानिक' भन्दै तत्काल फिर्ता लिन अल्टिमेटम दिएका छन् । संसद्‌बाटै कानुन बनाएर नियमनको बाटो खुला हुँदा हुँदै सरकारले सामाजिक सञ्जालहरुलाई पूर्णरूपमा बन्द गर्ने कठोर र अलोकतान्त्रिक कदम चालेको उल्लेख गरेका छन् ।

 

विज्ञप्तिमा भनिएको छ- 'दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको संविधानले प्रत्याभूत गरेका धारा १७ (स्वतन्त्रताको हक), धारा १९ (सञ्चारको हक) र धारा २७ (सूचनाको हक) जस्ता मौलिक अधिकारहरूमाथि सिधा प्रहार गरेको उल्लेख छ। 'प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु हो । यस्ता संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यता विपरीत र पूर्णरूपमा अस्वीकार्य छ ।’

 

त्यस्तै, यो निर्णयले विदेशमा रहेका लाखौँ नेपाली नागरिक र उनीहरूका परिवारबीचको सम्पर्क विच्छेद गराएको, बालबालिकाको सिकाइमा दीर्घकालीन असर पारेको र हजारौँ व्यक्तिको रोजीरोटीसमेत बन्द भएको विषयलाई प्रमुखताका साथ उठाएका छन् ।


सरकारले तत्काल सामाजिक सञ्जाल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न माग गरेका छन् । साथै, सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन र विधिसम्मत समाधान खोज्न पनि उनीहरुले सरकारलाई आह्वान गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार