'नेपो बेबी' अभियान अराजकतावादी प्रवृत्ति हो : महेश बस्नेत

२०८२ भाद्र २२ आईतवार
सारांश
  • सामाजिक सञ्जाललाई हतियार बनाएर राज्य, स्थापित दल र नेताहरूलाई बदनाम गर्ने अभियान असफल भएपछि आफ्नो असफलता ढाकछोप गर्न यस्तो अफवाह फैलाइएको आरोप लगाएका हुन् ।

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालमा चलाइएको ‘जेन–जी नेपो बेबी’ अभियान अराजकतावादी तत्वहरूले चलाएको आरोप लगाएका छन्।
 

सामाजिक सञ्जाललाई हतियार बनाएर राज्य, स्थापित दल र नेताहरूलाई बदनाम गर्ने अभियान असफल भएपछि आफ्नो असफलता ढाकछोप गर्न यस्तो अफवाह फैलाइएको आरोप लगाएका हुन् ।
 

नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाएपछि जेनजी पुस्ताले सोमबार देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेका छन् । यसै सन्दर्भमा टिकटक लगायतका प्लेटफर्ममा नेताका छोराछोरीको विलासी जीवनलाई कटाक्ष गर्दै 'नेपो बेबी' अभियान चलाइएको छ ।

नेता बस्नेतले भनेका छन्- 
 

अहिले चर्चामा आएको 'Gen Z Nepo baby अभियान' कुनै स्वतन्त्र वा रचनात्मक आन्दोलन होइन । यो पुनरुत्थानवादी र अराजकतावादी प्रवृत्तिले सोशल मिडिया तथा पैड मिडियालाई हतियार बनाएर राज्य, त्यसका संयन्त्र, स्थापित दल र नेताहरूमाथि बदनाम अभियान सञ्चालन गर्न थालेको घिनलाग्दो प्रयास असफल भएपछि तिनै तत्वहरूले आफ्नो असफलता ढाकछोप गर्न र गलत लोकप्रियता कमाउन यसलाई अफवाहका रूपमा प्रयोग गरिरहेका छन्।
 

यसै सन्दर्भमा मेरो छोरीको विवाहजस्तो पवित्र पारिवारिक अवसरलाई समेत ईर्ष्या र द्वेषका आधारमा टिकटकमार्फत तोडमोड गरी गलत प्रचार गरिएकोप्रति म गम्भीर आपत्ति प्रकट गर्दछु। मेरो स्पष्ट चुनौती छ। मेरो छोरी, ज्वाइँ वा मेरो परिवारले नातावाद, कृपावाद वा राज्यका कुनै सेवा–सुविधा अनुचित रूपमा प्रयोग गरेका छैनन्। छ भने पुष्टी गराउन चुनौति दिन्छु। मेरो र मेरो परिवारको  सम्पत्ति तथा जीवनशैली पूर्ण पारदर्शी छ र म गौरवपूर्वक जुनसुकै स्थानमा यसको पुष्टि गर्न सक्छु।
 

मेरो चिकित्सक छोरी र राष्ट्रसेवक ज्वाइँको सामाजिक मर्यादामा आँच आउने, मानसिक यातना दिने र भ्रम फैलाउने यस्ता गतिविधि आपराधिक प्रकृतिका हुन् ।  साथै रास्वपाका केही विवादित व्यक्तिहरूले आफ्ना व्यक्तिगत झगडा र लफडासम्ममा मेरो नाम जोड्ने प्रयास गरेको समेत देखिन्छ। यस्तो प्रवृत्तिको म कडा भर्त्सना गर्दछु ।
 

अतः, म सरकारसमक्ष माग गर्दछु । यस्ता अपराधी तत्वहरूलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याइयोस् र टिकटकजस्ता सामाजिक सञ्जाललाई अपराध र द्वेष फैलाउने माध्यम नबनाइयोस्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार