वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन

२०८२ असार ११ बुधवार
सारांश
  • पर्या–पर्यटनका दृष्टिकोणले महत्त्वपूर्ण मानिएको डल्फिन संरक्षणका लागि यस क्षेत्रमा संरक्षण र प्रवर्द्धनका लागि विभिन्न काम भइरहेका छन् ।

घोडाघोडी (कैलाली), ११ असारः पछिल्लो समय वर्षा भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन् । जिल्लाको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका हुन् ।

 

डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले डल्फिन संरक्षण केन्द्र आसपासका क्षेत्रमा एउटा बच्चासहित चार वटा डल्फिन देखिएका जानकारी दिए। “मनसुन लागेपछि नदीहरूमा पानीको सतह बढिरहेको छ । नदीमा जलस्तर बढेपछि सोमबारदेखि यहाँ डल्फिन देखापर्न थालेका हुन्”, उनका अनुसार गत वर्ष असार पहिलो साता डल्फिन आएकामा यस वर्ष ढिलो पानी परेकाले केही ढिलो डल्फिन देखिएका छन् ।

 

डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठका अनुसार जिल्लाको मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिने गर्दछन् । उनले भने, “भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गर्दछन् । यसरी तीन महिनाभन्दा बढी समयसम्म डल्फिन यहाँ बस्छन् । मनसुन बाहिरिएसँगै कर्णाली नदीमा फर्कने गर्दछन् ।”

   

यी नदी क्षेत्रमा मुख्य आहारा माछा, घोँगीका साथै लेउ प्रशस्त पाइने भएकाले हरेक वर्षायाममा डल्फिन यहाँ आउने गरेका श्रेष्ठले बताए। स्वच्छ जल, प्रशस्त आहारा र बढी दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने उनको भनाइ छ । “यहाँ ‘प्लानिभेष्टा ग्याँगेटिक’ जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइन्छ”, उनले भने ।

 

हरेक वर्षायाममा डल्फिनको आगमन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको संरक्षणकर्मी ढुङ्गानाले बताए। “भर्खरै डल्फिन देखिन थालेका छन् । अबको केही दिनमा पर्यटकहरू अवलोकनका लागि दैनिकी जसो यहाँ पुग्ने गर्दछन्”, उनले भने ।  

 

पर्या–पर्यटनका दृष्टिकोणले महत्त्वपूर्ण मानिएको डल्फिन संरक्षणका लागि यस क्षेत्रमा संरक्षण र प्रवर्द्धनका लागि विभिन्न काम भइरहेका छन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), तराई भूपरिधि कार्यक्रम, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुरले संरक्षणका काम गरिरहेका हुन् ।

 

साथै टिकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले पनि संरक्षणका क्षेत्रमा काम गरिरहेका छन् । यहाँ चारपटक डल्फिन महोत्सवको आयोजनासमेत गरिएको थियो । कर्णालीमा विसं २०५४ मा पहिलो पटक डल्फिन देखिएको थियो ।

 

स्थानीय भोजराज श्रेष्ठ (गुलेली बाजे) ले पहिलोपटक डल्फिन देखेपछि उहाँले यसको प्रचारप्रसार गर्नुभएको थियो । आफूले यहाँ पहिलोपटक डल्फिन देखेपछि प्रचारप्रसार तथा संरक्षणका लागि जुटेको उनले बताए । “सुरूमा डल्फिन देखिएपछि प्रचारप्रसार र संरक्षणका लागि पहल गरेको थिएँ”, उनले भने, “चुनौती धेरै थिएँ तर विस्तारै यसको महत्त्वका बारेमा जानकारी दिँदै गएपछि स्थानीय सरकार, अभियानकर्मी, सरकोकार भएका निकायलगायत संरक्षण अभियानमा जुटेका छन् ।”

 

मनसुनको याम सुरु भएपछि डल्फिन अवलोकनका लागि आन्तरिकसँगै भारत, चीन, थाइल्याण्ड, जापान, अमेरिकालगायत तेस्रो मुलुकका नागरिक यहाँ आउने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले डल्फिनलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार