के कुलमानमा राजनीतिक महत्त्वाकांक्षा पलाएको हो ?

११ कार्तिक, २०८१, आइतवार
सारांश
  • २०७९ को चुनावमा जब कुलमानको तस्विर सहित माओवादी पार्टीले प्रचार-प्रसार गऱ्यो तब धेरै कुरा सतहमा आयो कि कुलमान व्यवसायिक व्यक्तिमा मात्र सिमित हुन चाहन्नन् ।

के कुलमानमा राजनीतिक महत्त्वाकांक्षा पलाएको हो ?

 

काठमाडौँ । घरमा बिजुली आउँदा वा जाँदा 'कुलमान आयो' वा 'कुलमान गयो' जस्तो विम्ब अहिले पनि नेपाली समाजमा प्रयोग हुने गरेको छ । दिनको १८ घण्टासम्म लोडशेडिङ खेपेको आम नेपालीको लागी त्यो समय दिकदारीको समय थियो । उक्त समयमा कुलमानको विधुत प्राधिकरणको प्रमुखको रुपमा आगमनले आम मानिसलाई राम्रै सहुलियत प्रदान गऱ्यो । उनी नेपालीको मन मस्तिष्कमा बस्न सफल भए । किनभने उनले प्राधिकरणको प्रमुख पद सम्हालेपछी लगभग लोडशेडिङ पनि अन्त्य भयो । तर त्यहाँ एउटा संयोग के थियो भने, तत्कालिन नेपाल सरकारको अग्रसरतामा नेपाल-भारतको ढल्केवर-मुज्जफरपुर अन्तर-सिमा ट्रान्समिशन लाइन जस्तो पुर्वाधार तयार भएको र यसबाट पर्याप्त बिजुली आयात गर्ने स्थिति भएपछि लोडशेडिङको अन्त्य भयको हो । अर्थात् उनले प्राधिकरणको प्रमुख पद ग्रहण गरेको केहि समयपछी उक्त पुर्वाधार तयार भएर सम्झौता अनुरुप बिजुली आयात गरिएको थियो ।

 

कुलमान कुशल व्यवस्थापक थिए होलान् ! वा ईमान्दार कर्मचारी पनि थिए होलान् ! यो अर्को विषय हो । जे होस् लोडशेडिङको समस्या समाधान हुनु मूल रुपमा नेपाल सरकारको भारतसङ्ग भएको विधुत आयात सम्झौता नै हो । तर मिडियामा भने लोडशेडिङ अन्त्यको जस एकोहोर कुलमानलाई मात्र गयो । उनी यसै घटना पछि मिडियामा 'हिरो' बन्ने प्रक्रिया शुरु भयो । जुन आजसम्म अनवरत छ ।

एउटा खुल्ला तथ्य के भने कुलमानको सम्बन्ध माओवादी पार्टीसङ्ग अधिक सौहार्द छ, यो कतै लुकेको छैन । केहि माओवादी नेता तथा मिडिया अनुसार काठमाडौँ क्षेत्र नम्बर ३ बाट २०७९ को चुनावमा कुलमानलाई माओवादी पार्टीको तर्फबाट टिकट दिने कुरा निश्चित जस्तै थियो । त्यतीबेला माओवादीसङ्ग चुनावी गठबन्धन गरेको दलको सभापति शेर ब. देउवा समेत सकारात्मक थिए । तर कुलमानको महत्त्वाकांक्षा संसद पदमा मात्र सिमित नभएकोले माओवादी पछी हट्यो ।

 

२०७९ को चुनावमा जब कुलमानको तस्विर सहित माओवादी पार्टीले प्रचार-प्रसार गऱ्यो तब धेरै कुरा सतहमा आयो कि कुलमान व्यवसायिक व्यक्तिमा मात्र सिमित हुन चाहन्नन् । वास्तवमा त्यो उनमा पलाएको राजनीतिक महत्त्वाकांक्षा थियो ।
यद्यपि पछी निर्वाचन आचार-संहिता विपरीत भएकोले सामाजिक सञ्जालबाट ती तस्विरहरु हटाईयो । तस्विर हट्यो तर उनमा पलाएको राजनीतिक महत्त्वाकांक्षा भने तिव्रतर बढ्दै गयो । तत्पश्चात उनका गतिविधि एक व्यवसायिक व्यवस्थापकीय भन्दा अधिक रणनीतिक देखिन थालेको छ । यसरी बिस्तारै उनका क्रियाकलाप नेपाल विधुत प्राधिकरणको कार्यकारी प्रमुख भन्दा बढी राजनीतिक पार्टीको नेताका रूपमा प्रकट हुने गरेको कुरा मिडियामा समेत छाईरहेको छ ।

 

डेडिकेटेड र ट्रंक लाइन विवाद

 

६५ प्रतिशतसम्म अतिरिक्त शुल्क सहित उद्योगी–व्यवसायीलाई प्राधिकरणले त्यतीबेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली दिने व्यवस्था गरेको थियो । अर्थात् लोडशेडिङको समयमा पनि २० देखी २४ घण्टा विजुली लिन चाहने ती तमाम उद्योगको लागी यो व्यवस्था लागु गरिएको थियो ।  २०७२ साउनदेखि सुरु भएको डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम शुल्क २०७७ असारसम्मै चालु थियो । यस्तो सुविधा लिने विधुत प्राधिकरणको २९८ वटा ग्राहक थियो, जसमा उद्योग बाहेक सरकारी कार्यालय र अस्पताल समेत थियो । जसमध्ये ६१ उद्योगको बिलमा भने हाल विवाद यथावत् छ ।

 

प्राधिकरणको दावी अनुसार कतिपय उद्योगले त्यो संकटपूर्ण कालखण्डमा महँगो दर पर्ने बिजुली उपयोग गरे तर सामान्य दरमा बिल भुक्तानी गरे । त्यसरी अतिरिक्त शुल्क तिर्नुपर्ने कतिपय उद्योगको बाँकी बिल जारी गरिएको प्राधिकरण बताउँछ । यसै सिलसिलामा विधुत नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनबाट विधुत उपभोग गरेका ग्राहकसँग प्राधिकरणले तोकेको मापदण्ड पुगेको प्रमाणका आधारमा मात्रै शुल्क उठाउन पाउने निर्णय गरेको थियो । त्यसपछि पनि विवाद समाधान नहुँदा मन्त्रिपरिषद्ले २०८० पुस २४ मा छानबिन आयोग गठन गरेको थियो । आयोगले २३ वैशाख २०८१ मा प्रतिवेदन बुझाएर २०७२ पुसअघि र २०७५ वैशाखपछिको अवधिको प्रिमियम शुल्क प्राधिकरणले लिन नमिल्ने सिफारिस गरेको छ । लगत्तै मन्त्रिपरिषद्ले २७ वैशाख २०८१ मा उक्त आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गऱ्यो । तत्कालीन मुख्य सचिव बैकुण्ठ अर्याललको पत्रको आधारमा विधुत प्राधिकरणले पुनः महसुल गणना गरी पुरानै बिलका आधारमा बक्यौता उठाउन उद्योगीहरूलाई पत्राचार गरेपछि विवाद पुनः चुलिएको हो ।

 

उद्योगीहरूले बिलको आधार र टीओडी मिटरको तथ्यांक उपलब्ध नगराईकन महसुल नतिर्ने अडान राख्दै आएका छन् । त्यसपछि प्राधिकरणले ६ वटा ठूला उद्योगको लाइन काटिदिएको थियो । प्राधिकरण र ग्राहकबीच विवाद कायमै रहेको अवस्थामा लाइन काट्न नमिल्ने भन्दै विधुत नियमन आयोगले ६ साउनमा पत्र पठाएपछि प्राधिकरणले ८ साउनमा उद्योगहरुमा लाइन जोडिदिएको थियो । तर २४ असोजमा पुनः सूचना जारी गर्दै १५ दिनभित्र बक्यौता नतिरे कानूनबमोजिम कारबाही हुने प्राधिकरणले जनाएको थियो । त्यो म्याद सकिएपछि कुलमानले गत कार्त्तिक ०८ बाट भटाभट लाइन काट्न शुरु गरेका थिए ।

 

मन्त्रीलाई टेरेनन् कुलमानले  

 

४९ वटा उद्योगलाई बक्यौता बुझाउन र यदि नबुझाए लाइन काटिने भन्दै दिएको १५ दिने अल्टिमेटम सकिने दिन थियो गत कार्त्तिक ०८ गते विहिवार । तर यस विषयमा तत्काल लाइन नकाट्न तथा थप छलफल गर्न उर्जा मन्त्री दिपक खड्काले घिसिङलाई बोर्ड बैठक बोलाउन आह्वान गरेका थिए । उक्त दिन बसेको प्राधिकरण बोर्ड बैठकमा मन्त्री खड्काले बक्यौता असुली गर्नुपूर्व प्राधिकरणले प्रमाण दिनुपर्ने, अन्यथा उद्योगको लाइन काटिदा संकटमा रहेका अर्थतन्त्रमा थप क्षति हुने तर्क गरेका थिए । मन्त्री खड्काले डेडिकेटेड तथा ट्रंक लाइन विवाद दिगो रुपमा समाधान गर्नुपर्ने भन्दै उद्योगीहरूको लाइन तत्काल नकाट्न स्पष्ट निर्देशन दिएका थिए ।

 

तर कुलमान भने लाइन काट्ने पक्षमा उभिए र यदि लाइन नकाट्ने हो भने मन्त्री खड्कालाई कहिले प्राधिकरण बोर्डले त कहिले मन्त्री-परिषद्ले निर्णय दिनुपर्ने भन्दै बहालवाला मन्त्रीलाई नै 'परिक्षण' गर्ने काममा लागे । बोर्डले कुनै निर्णय दिन सकेन तर पछि मन्त्री खड्काको अनुरोध अनुआर तत्काल लाइन नकाट्न र उद्योगीहरुसँग छलफल गरेर समाधान निकाल्ने कुरामा कुलमानले वचन दिए । तर मन्त्रीसङ्ग गरेको वचनबद्दता विपरित बोर्ड बैठक सकिए लगत्तै उद्योगीलाई फोन गर्दै र कतिपयलाई कार्यालयमै डाक्दै किस्ताबन्दीमा भए पनि बक्यौता भुक्तानी थाल्न, नभए लाइन काटिदने धम्की दिए । त्यहाँ पुग्दा २८ किस्तामा बक्यौता भुक्तानी गर्न सहमत छु भन्ने बेहोराको सम्झौतापत्र तयार थियो,’ एक उद्योगीले भने, ‘यसमा सही गर्नुस्, थप किस्ता पनि चाहिन्छ भने त्यसो पनि गरौंला । तर तिर्नुको विकल्प छैन, नभए लाइन काटिन्छ भन्दै दबाब दिइयो, हामीले त्यसमा सही गर्न सक्दैनौं भनेर फर्कियौं ।’ जबकि उद्योगीहरुसँग यसरी छलफल गर्ने भनेर घिसङले मन्त्रीलाई जानकारी नै गराएका थिएनन् । उद्योगीहरुले भने तत्कालीन विधुत महसुल निर्धारण आयोगको १०३ औं र १०८औं बैठकको निर्णयको शर्त पुग्ने गरी प्रमाण दिए तत्काल भुक्तानी गर्ने जवाफ दिएका थिए । तर त्यसमा कुलमान तयार भएनन् ।

 

राजनीतिक महत्त्वाकांक्षा पुरा गर्ने रणनीति !

 

कुलमानले आफु निकट दलको हितमा काम गरेको हुनसक्ने शंका उब्जाएको छ ! उनी अहिले डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी समस्यालाई प्राधिकरण र सरकारको हित अनुरुप दिर्घकालिन समाधान दिने भन्दा पनि राजनीतिक महत्त्वाकांक्षा पुरा गर्ने मार्गमा माओवादी दलको हितमा लागेको आभास हुन्छ ।

 

एक, प्रचण्ड सरकार ढलेर कांग्रेस सहित केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने निश्चित भइसकेको अवस्थामा घिसिङले २५ र २६ असारमा ६ वटा उद्योगको लाइन काटे । जबकि यस्ता काम मन्त्रालयको समन्वयमा हुनेगर्छ । तर उनले समन्वय गर्न आवश्यक ठानेनन् ।

 

दुई, सरकारले दिगो समाधान खोज्न दिएको निर्देशनलाई कुलमानले लत्याएर लाइन काट्ने निर्णय गर्नु र त्यसको सेरोफेरो पारेर माओवादी पार्टीले काठमाडौं उपत्यकामा सरकारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम राख्नुलाई संयोग मात्रै मान्न सकिएला ?

 

तिन, एउटा के कुरामा स्पष्ट हुनुपर्छ भने उद्योगले खपत गरेको त्यस्तो तमाम बक्यौता भुक्तानी गर्नुपर्छ । यसमा किन्तु, परन्तु लगाइनु हुन्न । तर अहिलेको समस्यालाई पनि कार्यकारी निर्देशक घिसिङले प्रमाण जुटाएर बक्यौता भुक्तानी गर्न कुनै पहल गरेका छैनन् । उल्टो आफनो समर्थन रहेको पार्टीलाई लाभ पुर्‍याउने उद्देश्यले लाइन काट्ने कदम उठाएको देखिन्छ ।

 

एक राजनीतिक बुज्झकडको भनाईमा, ‘यो विवाद बढ्दै जाँदा सरकारले कुलमान हटाउन सक्ने र जनस्तरमा विरोध हुने हुँदा त्यसको लाभ माओवादी पार्टीले लिन पाउँछ भन्ने रणनीतिक हिसाबले अहिले लाइन काट्ने काम भएको हो, घिसिङलाई बक्यौता उठाउनु छैन, उनी आफ्नो छवि प्रयोग गरेर आफू र पार्टीलाई राजनीतिक लाभ दिलाउन लागेका छन् ।’ कतिपयको आँकलन उनी अवकाशपछि राजनीतिमा आउन सक्ने र अहिले व्यक्तिगत लोकप्रियताका लागि महसुल विवादलाई प्रयोग गरिरहेको हुनसक्ने रहेको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार