हेयर 'एक्सटेन्सन'मा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

२०८२ चैत्र ०६ शुक्रवार
सारांश
  • विश्वभर प्रयोग हुँदै आएका हेयर एक्सटेन्सनमा स्वास्थ्यका लागि हानिकारक रसायन हुने सम्भावना रहेको एक विस्तृत अध्ययनले देखाएको छ ।

काठमाण्डौ, ०६ चैत्र । विश्वभर प्रयोग हुँदै आएका हेयर एक्सटेन्सनमा स्वास्थ्यका लागि हानिकारक रसायन हुने सम्भावना रहेको एक विस्तृत अध्ययनले देखाएको छ ।

 

वैज्ञानिकहरूले कृत्रिम तथा मानव कपालबाट बनेका विग, ब्रेडिङ कपाल, वीभ्स र क्लिप–इनजस्ता विभिन्न प्रकारका हेयर एक्सटेन्सन परीक्षण गर्दा अधिकांश नमुनामा करिब ५० भन्दा बढी खतरनाक रसायन फेला परेका छन् । अमेरिकन केमिकल सोसाइटी पत्रिकामा प्रकाशित यो अध्ययन अहिलेसम्मकै ठूलोमध्ये एक मानिएको छ ।

 

अनुसन्धानमा ४३ नमुनाको परीक्षण गर्दा १७० प्रकारका फरक-फरक रसायन भेटिएका छन् । तीमध्ये ४८ रसायन अन्तर्राष्ट्रिय रूपमा खतरनाक सूचीमा रहेका छन् । अध्ययनमा आगो रोक्ने रसायन, कीटनाशक तथा हार्मोनमा असर गर्ने पदार्थसमेत रहेको पाइएको छ ।

 

विशेषगरी हार्मोन प्रणालीमा असर गर्ने रसायनहरू भेटिनुले चिन्ता बढाएको छ । यस्ता पदार्थले शरीरको प्राकृतिक प्रक्रिया प्रभावित पार्ने, प्रजनन क्षमता घटाउने र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्ने बताइएको छ ।

अध्ययनले स्तन क्यान्सरसँग सम्बन्धित १७ प्रकारका रसायन ३६ वटा नमुनामा भेटिएको देखाएको छ । यसले दीर्घकालमा स्तन क्यान्सरको जोखिम बढाउन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ ।

 

यस्तै केही नमुनामा औद्योगिक प्रयोगमा आउने अर्गेनोटिन नामक यौगिक पनि फेला परेको छ, जुन सामान्यतया प्लास्टिक र आगो प्रतिरोधी सामग्रीमा प्रयोग हुने गर्दछ । यसलाई छालामा जलन र हार्मोन असन्तुलनसँग सम्बन्धित मानिन्छ ।

 

अनुसन्धानकर्ताका अनुसार हेयर एक्सटेन्सन लामो समयसम्म टाउको, घाँटी र शरीरसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले जोखिम अझ बढ्न सक्छ । धेरै महिलाले यसलाई हप्तौं वा महिनौंसम्म प्रयोग गर्ने भएकाले रसायनको असर क्रमशः बढ्न सक्छ ।

 

अध्ययनले मानव कपालबाट बनेका एक्सटेन्सन पनि पूर्ण रूपमा सुरक्षित नहुने देखाएको छ । ‘भर्जिन’ वा ‘र’ भनेर बेचिने कपालमा समेत रसायन भेटिएका छन् । कतिपय अवस्थामा मानव कपालका नमुनामा कृत्रिम कपालभन्दा बढी हानिकारक पदार्थ पाइएको उल्लेख गरिएको छ ।

 

वैज्ञानिकहरूका अनुसार कपाललाई चम्किलो, टिकाउ वा सजिलै मिलाउन योग्य बनाउन विभिन्न रसायन प्रयोग गरिने हुँदा यस्तो समस्या देखिएको हुन सक्छ ।

 

अर्कोतर्फ, हेयर एक्सटेन्सन प्रयोग गर्दा तातो उपकरण वा उम्लिएको पानी प्रयोग गर्ने चलनले पनि जोखिम बढाउन सक्छ । यस क्रममा विषालु ग्यास निस्कन सक्ने र श्वासमार्फत शरीरमा प्रवेश गर्न सक्ने चेतावनी दिइएको छ ।

 

विश्वभर हेयर एक्सटेन्सनको बजार आक्रामक रुपमा विस्तार भइरहेको बेला यस्तो रिपोर्ट सार्बजनिक भएको छ । हेयर एक्सटेन्सनको बजार विश्वव्यापी रूपमा द्रुत गतिमा बढिरहेको छ र २०२८ सम्ममा १४ अर्ब डलरभन्दा बढीको हुने अनुमान गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार