एआई च्याटबटको बढ्दो प्रयोगले मानसिक स्वास्थ्यमा असर

२०८२ चैत्र ०४ बुधवार
सारांश
  • कृत्रिम बुद्धिमत्ता (एआई) आधारित च्याटबटको बढ्दो प्रयोगसँगै मानसिक स्वास्थ्यमा असर पर्न सक्ने भन्दै नयाँ अध्ययनले चेतावनी दिएको छ ।

काठमाण्डौ, ०४ चैत्र । कृत्रिम बुद्धिमत्ता (एआई) आधारित च्याटबटको बढ्दो प्रयोगसँगै मानसिक स्वास्थ्यमा असर पर्न सक्ने भन्दै नयाँ अध्ययनले चेतावनी दिएको छ ।

 

ल्यान्सेट मनोचिकित्सा पत्रिकामा प्रकाशित अध्ययनअनुसार यस्ता प्रणालीहरूले अनजानमै मानिसभित्र रहेका गलत धारणा र भ्रमलाई अझ बलियो बनाउने जोखिम रहेको देखिएको छ ।

 

अध्ययनका प्रमुख अनुसन्धानकर्ता ह्यामिल्टन मोरिनका अनुसार यी प्रविधिले सिधै मानसिक रोग उत्पन्न नगरे पनि पहिलेदेखि संवेदनशील अवस्थाका व्यक्तिका लागि जोखिमपूर्ण हुन सक्ने निष्कर्ष निकालेका छन् । प्रयोगकर्ताले आफ्ना असामान्य वा गलत सोच प्रस्तुत गर्दा प्रणालीले त्यसलाई चुनौती दिनुको सट्टा सही ठहराउने प्रवृत्ति देखाउने उल्लेख गरिएको छ ।

 

अध्ययनमा मुख्य रूपमा तीन प्रकारका भ्रम बढ्ने देखिएको छ । पहिलो, आफू विशेष शक्ति वा विशेष उद्देश्यका लागि जन्मिएको भन्ने भावना । दोस्रो, काल्पनिक पात्र वा यन्त्रसँग प्रेमजस्तो अनुभूति । तेस्रो, बिना कारण डर वा कसैले पछ्याइरहेको जस्तो शंका । विशेषज्ञहरू रागी गिरगिस र क्वामे म्याकेंजीका अनुसार सुरुवाती चरणमा रहेका व्यक्तिमा यस्तो प्रभाव झन् खतरनाक हुन्छ । सामान्य अवस्थामा व्यक्तिलाई आफ्ना गलत विचारप्रति केही शंका हुन्छ, तर यस्तो प्रविधिले समर्थन गर्दा त्यो शंका विश्वासमा बदलिन सक्छ ।

 

डोमिनिक ओलिभरका अनुसार यी प्रणालीले केवल जानकारी मात्र नदिई सम्बन्ध जस्तो अनुभूति पनि गराउने भएकाले मानिसलाई आफूलाई बुझिएको महसुस हुन्छ र प्रभाव झन् बढ्छ ।

 

अध्ययनले नयाँ संस्करणका प्रणालीहरू पहिलेभन्दा सुरक्षित भए पनि अझै चुनौती रहेको जनाएको छ । विज्ञहरूका अनुसार प्रयोगकर्ताको विचारलाई अस्वीकार गर्दा प्रयोगकर्ता टाढिन सक्छन् भने स्वीकार गर्दा मानसिक अवस्था बिग्रन सक्छ । यस विषयमा थप चिकित्सकीय अध्ययन आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार