ट्रम्पको सहयोगमा बोल्सोनारो अमेरिका पुगेको दाबी

१३ कार्तिक, २०८३,
सारांश
  • ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएका फ्लाभियो बोल्सोनारो पक्राउ पर्ने डरले परिवारसहित अमेरिका पुगेको खुलासा भएको छ ।

काठमाडौं : ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएका फ्लाभियो बोल्सोनारो पक्राउ पर्ने डरले परिवारसहित अमेरिका पुगेको खुलासा भएको छ ।

 

अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगमा उनले ७२ घण्टाभित्र तीन देश पार गर्दै अमेरिका पुग्ने योजना बनाएका थिए ।

 

फ्लाभियो पत्नी र दुई छोरीसहित पहिले अर्जेन्टिना पुगेका थिए । त्यसपछि निजी विमानमार्फत इक्वेडर हुँदै अक्टोबर २८ मा अमेरिकाको मियामी पुगेका थिए । उनले यात्राका क्रममा इटालीको राहदानी प्रयोग गरेको बताइएको छ । अर्जेन्टिना पुगेको करिब ४० मिनेटपछि उनीहरू निजी विमानमा अमेरिका प्रस्थान गरेका थिए ।

 

फ्लाभियोमाथि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीलगायतका विषयमा अनुसन्धान भइरहेको छ । उनका बुबाको जीवनमा आधारित चलचित्र निर्माणका लागि १ करोड २० लाख अमेरिकी डलर जुटाउने प्रयास गरेको विषय पनि अनुसन्धानमा परेको छ । प्रहरीले उनलाई २४ घण्टाभित्र राहदानी बुझाउन आदेश दिएको थियो । त्यसपछि उनले देश छाड्ने निर्णय गरेको बताइएको छ ।

 

न्युयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासनले फ्लाभियो र उनको परिवारलाई अमेरिका प्रवेशको अनुमति दिएको थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर २७ मा उनीहरूलाई प्रवेशाज्ञा दिने प्रक्रिया अघि बढाएका थिए । उनीहरूलाई मानवीय आधारमा एक वर्षसम्म अमेरिकामा बस्न पाउने विशेष अनुमति दिइएको छ ।

 

अमेरिका पुगेपछि फ्लाभियोले आफू राजनीतिक प्रतिशोधका कारण देश छाड्न बाध्य भएको दाबी गरेका छन् । उनले ब्राजिलको न्यायपालिकामाथि पनि प्रश्न उठाएका छन् । अक्टोबर २५ मा भएको राष्ट्रपति निर्वाचनमा उनी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग ४४ लाख मतान्तरले पराजित भएका थिए । लुलाले ५२ प्रतिशत र फ्लाभियोले ४८ प्रतिशत मत प्राप्त गरेका थिए । पराजयपछि उनले निर्वाचन परिणाम स्वीकार गरेका थिएनन् ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार