चक्रवात 'अर्नब' का कारण भारतमा पाँच जनाको मृत्यु, १५ राज्यमा वर्षा

१२ कार्तिक, २०८३
सारांश
  • बंगालको खाडीबाट विकसित चक्रवात ‘अर्नब’का कारण भारतका आन्ध्र प्रदेश र ओडिशामा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौं : बंगालको खाडीबाट विकसित चक्रवात ‘अर्नब’का कारण भारतका आन्ध्र प्रदेश र ओडिशामा पाँच जनाको मृत्यु भएको छ ।

 

तीव्र हावाहुरी र भारी वर्षाले विभिन्न क्षेत्रमा रुख ढल्नुका साथै पुल तथा सडकमा क्षति पुगेको छ ।

 

चक्रवातको प्रभाव मध्य प्रदेश, राजस्थान, बिहार, उत्तर प्रदेशसहित १५ राज्यमा देखिएको छ । ती क्षेत्रमा वर्षा भइरहेको र आगामी दुई दिनसम्म वर्षा जारी रहने अनुमान गरिएको छ । छत्तीसगढका १२ र ओडिशाका १६ जिल्लामा बिहीबार विद्यालय बन्द गरिएका छन् ।

 

ओडिशामा करिब ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । गजपति जिल्लामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने छ गाउँको सडक सम्पर्क टुटेको बताइएको छ । चक्रवात मंगलबार राति आन्ध्र प्रदेशको तटीय क्षेत्रमा पुगेका बेला प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावा चलेको थियो ।

 

भारतको मौसम विभागका अनुसार चक्रवात कमजोर हुँदै गहिरो न्यून चापीय प्रणालीमा परिणत भएको छ । मध्य प्रदेश, राजस्थान, बिहार र उत्तराखण्डका विभिन्न जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको चेतावनी जारी गरिएको छ । खराब मौसमका कारण उत्तराखण्डको केदारनाथ क्षेत्रमा हेलिकप्टर सेवा पनि रोकिएको छ ।

 

यता, नेपालमा पनि मौसम पूर्वानुमान महाशाखाले आजदेखि चक्रवात 'अर्नब' को प्रभाव देखिने भन्दै सतर्क रहन अपिल गरेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार