बुधको सतहले खोल्यो ग्रहको अत्यन्त तातो प्राचीन इतिहास

२०८३ भाद्र २८ आइतवार
सारांश
  • सूर्यको सबैभन्दा नजिक र सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुधको सतहबारे गरिएको नयाँ अध्ययनले यसको प्राचीन इतिहासमा नयाँ तथ्य सार्वजनिक गरेको छ ।

काठमाण्डौ, २८ भाद्र । सूर्यको सबैभन्दा नजिक र सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुधको सतहबारे गरिएको नयाँ अध्ययनले यसको प्राचीन इतिहासमा नयाँ तथ्य सार्वजनिक गरेको छ । वैज्ञानिकहरूका अनुसार बुधको सतहमा सिलिकन डाइअक्साइडको मात्रा यसअघि अनुमान गरिएको भन्दा निकै कम, करिब ३७ प्रतिशत मात्रै रहेको पाइएको छ ।

 

जर्मनीका वैज्ञानिक संस्थाका शोधकर्ताहरूले गरेको अध्ययनअनुसार बुधको सतहमा कम सिलिकन डाइअक्साइड हुनुबाट अर्बौं वर्षअघि ग्रहको भित्री भाग र ज्वालामुखीय वातावरण अनुमान गरिएभन्दा निकै तातो रहेको हुन सक्ने देखिएको छ। यो अध्ययन ‘प्लेनेटरी रिसर्च जर्नल’मा प्रकाशित भएको छ ।

 

वैज्ञानिकहरूका अनुसार बुधका प्राचीन ज्वालामुखीबाट निस्किएको लाभा ग्रहको भित्री तहको निकै गहिरो भागबाट आएको हुन सक्छ । त्यहाँ अत्यधिक तापक्रमका कारण ठूलो मात्रामा चट्टान पग्लिएको र त्यसबाट बनेको लाभामा सिलिकन डाइअक्साइडको मात्रा कम रहेको हुन सक्ने उनीहरूको अनुमान छ ।

 

यद्यपि बुधको प्रारम्भिक सतहमा सिलिकन डाइअक्साइड बढी रहेको र पछि ग्रहले अक्सिजन गुमाएका कारण यसको मात्रा घटेको हुन सक्ने अर्को सम्भावना पनि वैज्ञानिकहरूले औँल्याएका छन् ।

 

बुधका चट्टानका प्रत्यक्ष नमुना पृथ्वीमा उपलब्ध नभएकाले वैज्ञानिकहरूले यसको सतहबाट प्राप्त हुने अवरक्त विकिरणको अध्ययन गरेका थिए । अध्ययनलाई अझै सटीक बनाउन प्रयोगशालामा करिब आधा मिलिमिटर आकारका काँचका साना गोलाहरू तयार गरी तिनमा निश्चित मात्रामा सिलिकन डाइअक्साइड राखेर अवरक्त गुण परीक्षण गरिएको थियो ।

 

यो विधि पहिले चन्द्रमामा परीक्षण गरिएको थियो। चन्द्रमाबाट प्राप्त वास्तविक चट्टानका नमुना र अन्तरिक्ष यानबाट प्राप्त तथ्याङ्क तुलना गरेर विधिको विश्वसनीयता परीक्षण गरिएको थियो । त्यसपछि यही विधि बुधमा प्रयोग गर्दा पृथ्वीबाट गरिएको अवरक्त अवलोकनका आधारमा बुधको सतहमा करिब ३७ प्रतिशत सिलिकन डाइअक्साइड रहेको अनुमान गरिएको हो ।

 

अब युरोपेली अन्तरिक्ष निकाय र जापानको संयुक्त ‘बेपीकोलम्बो’ अभियानबाट यसबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । बुधको कक्षमा पुगेर उक्त अभियानले उच्च गुणस्तरका अवरक्त तथ्याङ्क संकलन गर्नेछ। यसबाट बुधको सतहमा सिलिकन डाइअक्साइडको वास्तविक मात्रा तथा यसको अत्यन्त तातो ज्वालामुखीय अतीतबारे थप जानकारी प्राप्त हुने वैज्ञानिकहरूको अपेक्षा छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार