संयुक्त राष्ट्र संघको इतिहासमा पहिलोपटक महिला महासचिव बन्ने सम्भावना

६ भाद्र, २०८३, शनिवार
सारांश
  • संयुक्त राष्ट्रसंघका वर्तमान महासचिव एन्टोनियो गुटेरेसको दोस्रो पाँचवर्षे कार्यकाल ३१ डिसेम्बर २०२६ मा सकिँदैछ । त्यसैले नयाँ महासचिव चयन गर्ने प्रक्रिया सुरु भइसकेको हो ।

काठमाडौँ: संयुक्त राष्ट्रसंघको ८० वर्षे इतिहासमा पहिलोपटक महिला महासचिव बन्ने सम्भावना देखिएको छ । महासचिव पदका लागि अहिले आठ जना दाबेदार प्रतिस्पर्धामा छन्, जसमध्ये पाँच जना महिला छन् ।

 

शुक्रबार भएको दोस्रो चरणको अनौपचारिक मतदानमा गुयानाकी क्यारोलिन रोड्रिग्स बिर्केट सबैभन्दा अगाडि रहेकी छन् । कोस्टारिकाकी रेबेका ग्रिन्सप्यान दोस्रो स्थानमा छिन् ।

 

संयुक्त राष्ट्रसंघका वर्तमान महासचिव एन्टोनियो गुटेरेसको दोस्रो पाँचवर्षे कार्यकाल ३१ डिसेम्बर २०२६ मा सकिँदैछ । त्यसैले नयाँ महासचिव चयन गर्ने प्रक्रिया सुरु भइसकेको हो ।

 

संयुक्त राष्ट्रसंघका महासचिव प्रत्यक्ष रूपमा जनता वा सबै सदस्य राष्ट्रको मतदानबाट चयन हुँदैनन् । सुरुमा सुरक्षा परिषद्ले सम्भावित उम्मेदवारमाथि विचार गर्छ । सुरक्षा परिषद्मा उम्मेदवारका विषयमा विभिन्न चरणमा अनौपचारिक र गोप्य मतदान हुन्छ । यस क्रममा १५ सदस्य राष्ट्रले प्रत्येक उम्मेदवारका विषयमा समर्थन, विरोध वा कुनै धारणा नरहेको जनाउँछन् ।

 

यस्तो मतदान अन्तिम निर्वाचन भने होइन । यसको मुख्य उद्देश्य कुन उम्मेदवार कति बलियो अवस्थामा छन् र कसको नाममा सहमति बन्न सक्छ भन्ने बुझ्नु हो । कमजोर समर्थन पाउने उम्मेदवारले आफ्नो दाबी फिर्ता लिन पनि सक्छन् ।

 

सुरक्षा परिषद्मा १५ सदस्य राष्ट्र हुन्छन् । तीमध्ये अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स स्थायी सदस्य हुन् । यी पाँचै राष्ट्रसँग निषेधाधिकार अर्थात् कुनै निर्णय रोक्न सक्ने विशेष अधिकार हुन्छ । कुनै उम्मेदवारलाई सुरक्षा परिषद्बाट अघि बढाउन कम्तीमा नौ मत आवश्यक पर्छ । तर नौ मत मात्रै पर्याप्त हुँदैन। पाँच स्थायी सदस्यमध्ये कुनै एकले पनि उम्मेदवारको विरोध गरेमा उनको बाटो रोकिन सक्छ । त्यसैले उम्मेदवारले अन्य सदस्य राष्ट्रको समर्थन जुटाउनुका साथै पाँच स्थायी सदस्यमध्ये कुनै पनि राष्ट्र आफ्नो विपक्षमा नहोस् भन्ने सुनिश्चित गर्नुपर्छ ।

 

वार्ता र मतदानपछि कुनै एक उम्मेदवारको नाममा पर्याप्त सहमति बनेमा सुरक्षा परिषद्ले औपचारिक बैठकबाट महासचिवका लागि उनको नाम सिफारिस गर्छ ।

 

त्यसपछि उक्त नाम महासभामा पठाइन्छ । संयुक्त राष्ट्रसंघको महासभामा १९३ सदस्य राष्ट्र छन् । महासभाले सुरक्षा परिषद्को सिफारिसका आधारमा नयाँ महासचिव नियुक्त गर्छ । कतिपय अवस्थामा औपचारिक मतदान नगरी सर्वसम्मतिबाट पनि नियुक्ति हुने गरेको छ । महासचिवको सामान्य कार्यकाल पाँच वर्षको हुन्छ । उनलाई दोस्रो कार्यकालका लागि पनि चयन गर्न सकिन्छ ।

 

अनौपचारिक मतदानमा सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रले प्रत्येक उम्मेदवारका विषयमा तीनमध्ये एक धारणा व्यक्त गर्छन् । जसमा समर्थन, विरोध र कुनै धारणा छैन भन्ने राख्दछन् । त्यसैले प्रत्येक राष्ट्रले उम्मेदवारको पक्ष वा विपक्षमा मात्रै मत दिनुपर्छ भन्ने हुँदैन । जुलाई ३० मा भएको पहिलो अनौपचारिक मतदानमा रेबेका ग्रिन्सप्यान सबैभन्दा अगाडि थिइन् । उनलाई १० राष्ट्रले समर्थन गरेका थिए भने एक राष्ट्रले विरोध गरेको थियो । चार राष्ट्रले कुनै धारणा दिएका थिएनन् ।

 

अगस्ट २१ मा भएको दोस्रो अनौपचारिक मतदानमा भने क्यारोलिन रोड्रिग्स बिर्केट अगाडि आइन् । उनलाई आठ राष्ट्रले समर्थन गरे, तीन राष्ट्रले विरोध गरे र चार राष्ट्रले कुनै धारणा दिएनन् । तर यी मतदानका परिणाम अन्तिम निर्वाचनका नतिजा होइनन् । यसको उद्देश्य उम्मेदवारहरूको अवस्था बुझ्नु र सुरक्षा परिषद्मा कुन उम्मेदवारको नाममा सहमति बन्न सक्छ भन्ने पहिचान गर्नु हो ।

 

संयुक्त राष्ट्रसंघमा महासचिव चयन गर्दा विश्वका विभिन्न क्षेत्रलाई पालैपालो अवसर दिने प्रयास हुँदै आएको छ । यसको उद्देश्य एउटै क्षेत्रका व्यक्तिले लगातार महासचिवको जिम्मेवारी नपाऊन् भन्ने हो ।

सन् १९९७ मा संयुक्त राष्ट्रसंघको महासभाले महासचिव चयन गर्दा क्षेत्रीय प्रतिनिधित्व र महिला पुरुष समानतालाई ध्यान दिनुपर्ने बताएको थियो । यद्यपि, यो बाध्यकारी नियम भने होइन । महासचिवलाई संयुक्त राष्ट्रसंघको विश्वव्यापी प्रतिनिधिका रूपमा हेरिन्छ । त्यसैले अमेरिका वा चीनजस्ता शक्तिशाली राष्ट्रका प्रभावशाली राजनीतिक व्यक्तिलाई महासचिव बनाउँदा संयुक्त राष्ट्रसंघमा कुनै एक शक्तिको प्रभाव बढ्न सक्ने आशंका अन्य राष्ट्रमा उत्पन्न हुन सक्छ । त्यसकारण कुनै एक शक्तिशाली राष्ट्रसँग अत्यधिक निकट नभएको र विश्वका विभिन्न क्षेत्रको आवाज बुझ्न सक्ने व्यक्तिलाई प्राथमिकता दिने प्रवृत्ति देखिन्छ ।

 

संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशको संख्या ठूलो छ । ती राष्ट्रहरूले पनि संयुक्त राष्ट्रसंघको नेतृत्वमा विश्वका विभिन्न क्षेत्रको दृष्टिकोण प्रतिबिम्बित हुनुपर्ने अपेक्षा राख्छन् । यद्यपि विकसित राष्ट्रका उम्मेदवारले महासचिव बन्ने अवसर नपाएका भने होइनन् । सन् २०१६ मा पोर्चुगलका अन्तोनियो गुटेरेस महासचिव बनेका थिए । त्यतिबेला पूर्वी युरोपबाट महासचिव बनाउनुपर्ने मागसमेत बलियो थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार