इरानसँगको युद्धमा अमेरिकाको ३७ अर्ब ५० करोड डलर खर्च

६ श्रावण, २०८३, बुधवार
सारांश
  • रक्षामन्त्री हेगसेथले थप बजेट स्वीकृत नभए सैन्य तालिम, मर्मतसम्भार र भविष्यका सैन्य क्षमता विकासका कार्यक्रम प्रभावित हुने चेतावनी दिएका छन् । उनले सन् २०२७ का लागि १.५ ट्रिलियन डलरको रक्षा बजेट पनि आवश्यक रहेको बताएका छन् ।

काठमाडौँ: अमेरिकाले इरानसँग जारी युद्धमा हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च भएको जनाएको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले मंगलबार संसद्को सुनुवाइका क्रममा उक्त जानकारी दिँदै युद्ध सञ्चालनका लागि थप बजेट आवश्यक रहेको बताएका हुन् ।

 

हेगसेथका अनुसार हालसम्मको खर्चमा युद्ध सञ्चालनका विभिन्न गतिविधि र आगामी सेप्टेम्बर ३० सम्म हुने अनुमानित खर्चसमेत समावेश गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना इरानसँगको युद्धका लागि मुख्य रूपमा प्रयोग हुने गरी थप करिब ९० अर्ब डलर बजेट स्वीकृत गर्न संसद्समक्ष प्रस्ताव गरेका थिए ।

 

इरानसँगको युद्ध लामो बन्दै गएपछि अमेरिकी संसद्मा यसको विरोध बढ्दै गएको छ । सत्तारुढ रिपब्लिकन र विपक्षी डेमोक्र्याट दुवै दलका सांसदहरूले राष्ट्रपति ट्रम्पले युद्धको अवस्था र रणनीतिबारे पर्याप्त जानकारी नदिएको आरोप लगाएका छन् । डेमोक्र्याट सांसदहरूले युद्धले देशको अर्थतन्त्रमा थप भार परेको र जनजीवन महँगिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

 

रक्षामन्त्री हेगसेथले थप बजेट स्वीकृत नभए सैन्य तालिम, मर्मतसम्भार र भविष्यका सैन्य क्षमता विकासका कार्यक्रम प्रभावित हुने चेतावनी दिएका छन् । उनले सन् २०२७ का लागि १.५ ट्रिलियन डलरको रक्षा बजेट पनि आवश्यक रहेको बताएका छन् ।

 

यसैबीच, अमेरिका र इरानबीच यसअघि भएको युद्धविराम केही समयमै भंग भएपछि दुवै पक्षले फेरि दैनिक आक्रमण जारी राखेका छन् । पछिल्लो विवरणअनुसार युद्धमा १८ अमेरिकी सैनिकको मृत्यु भएको छ भने करिब ४३० जना घाइते भएका छन् । तीमध्ये अधिकांश सैनिक उपचारपछि पुनः सेवामा फर्किएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

 

राष्ट्रपति ट्रम्पले इरानका ऊर्जा संरचना, पुल तथा अन्य रणनीतिक स्थलहरूलाई समेत निशाना बनाउन सकिने चेतावनी दिँदै भूमिगत आणविक केन्द्रमाथि पनि छिट्टै आक्रमण गरिने बताएका छन् । युद्ध चर्किंदै जाँदा थप सैन्य खर्च र यसको राजनीतिक प्रभाव अमेरिकाभित्रै प्रमुख बहसको विषय बनेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार