दक्षिण कोरियामा सात वर्षयताकै उच्च जन्मदर, जनसंख्या संकट कम हुने संकेत

१० आषाढ़, २०८३, बुधवार
सारांश
  • यो सन् २०१९ यताकै अप्रिल महिनामा दर्ज भएको सबैभन्दा ठूलो संख्या हो । अप्रिल महिनामात्रै होइन, जनवरीदेखि अप्रिलसम्म कुल ९९ हजार ५३४ बालबालिकाको जन्म भएको छ । यो संख्या पनि पछिल्लो सात वर्षयताकै उच्च रहेको र गत वर्षको तुलनामा १५ दशमलव ५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

काठमाडौँ: लामो समयदेखि घट्दो जन्मदरको समस्यासँग जुधिरहेको दक्षिण कोरियाका लागि राहतको खबर आएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को अप्रिल महिनामा जन्मिने बालबालिकाको संख्या पछिल्लो सात वर्षयताकै उच्च स्तरमा पुगेको छ ।

 

दक्षिण कोरियाली सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिल महिनामा २४ हजार ५२१ बालबालिकाको जन्म भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब १८ प्रतिशतले बढी हो ।

 

 यो सन् २०१९ यताकै अप्रिल महिनामा दर्ज भएको सबैभन्दा ठूलो संख्या हो । अप्रिल महिनामात्रै होइन, जनवरीदेखि अप्रिलसम्म कुल ९९ हजार ५३४ बालबालिकाको जन्म भएको छ । यो संख्या पनि पछिल्लो सात वर्षयताकै उच्च रहेको र गत वर्षको तुलनामा १५ दशमलव ५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

 

विशेषज्ञहरूले विवाहको संख्या बढ्नु र परिवार विस्तारप्रति नागरिकको सोचमा आएको परिवर्तनलाई जन्मदर बढ्नुको मुख्य कारण मानेका छन् । अप्रिल महिनामा विवाहको संख्या पनि ९ प्रतिशतले बढेर २० हजार ६२२ पुगेको छ, जुन पछिल्लो एक दशककै उत्कृष्ट तथ्याङ्कमध्ये एक हो ।

 

देशको कुल प्रजनन दर पनि बढेको छ। अप्रिलमा यो दर ०.९३ पुगेको छ, जबकि एक वर्षअघि यो ०.८० थियो । यद्यपि, जनसंख्या स्थिर राख्न आवश्यक मानिने २.१ को स्तरभन्दा यो अझै निकै तल रहेको छ । यसबीच सम्बन्धविच्छेदका घटनामा पनि वृद्धि भएको छ ।

 

 अप्रिल महिनामा सात हजार ८२९ सम्बन्धविच्छेद भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७.३ प्रतिशतले बढी हो । अर्कोतर्फ, मृत्यु हुनेको संख्या भने सामान्य रूपमा घटेको छ । अप्रिलमा २८ हजार ४०५ जनाको मृत्यु भएको छ, जुन गत वर्षको तुलनामा १.३ प्रतिशतले कम हो ।

 

यद्यपि जन्मभन्दा मृत्युको संख्या अझै बढी रहेकाले देशको जनसंख्यामा तीन हजार ८८४ जनाको प्राकृतिक कमी आएको छ । त्यसका बाबजुद लगातार केही महिनादेखि जन्मदरमा देखिएको वृद्धि दक्षिण कोरियाका लागि आशाको नयाँ संकेतका रूपमा हेरिएको छ ।

 

सरकार र विज्ञहरूले यो सकारात्मक प्रवृत्ति आगामी दिनमा पनि कायम रहे घट्दो जनसंख्याको समस्यालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार