उत्तर कोरियाको भ्रमणमा सी जीङपीङ, किमले गरे भव्य स्वागत

२५ जेठ, २०८३, सोमवार
सारांश
  • यस वर्षको सी जिनपिङको यो पहिलो विदेश भ्रमण हो । यो भ्रमण केही साताअघि उनले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई छुट्टाछुट्टै स्वागत गरेपछि भएको हो ।

काठमाडौँ: चिनियाँ राष्ट्रपति सी जीङपीङ सात वर्षपछि दुर्लभ भ्रमणका लागि सोमबार उत्तर कोरिया पुगेका छन् । राजधानी प्योङयाङ विमानस्थलमा उत्तर कोरियाली नेता किम जोंग उन र उनकी पत्नी री सोल जुले सी जिनपिङ र उनकी पत्नी पङ लियुआनलाई स्वागत गरेका थिए ।

 

दुईदिने राजकीय भ्रमणका क्रममा प्योङयाङमा भव्य स्वागत समारोह आयोजना गरिएको थियो । किम इल सुङ चोकमा आयोजित कार्यक्रममा घोडसवार सुरक्षाकर्मी, हजारौं सर्वसाधारण, झण्डा र फूलसहितको विशेष प्रदर्शन गरिएको थियो । स्वागत समारोहमा २१ तोपको सलामीसमेत दिइएको थियो ।

 

यस वर्षको सी जिनपिङको यो पहिलो विदेश भ्रमण हो । यो भ्रमण केही साताअघि उनले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई छुट्टाछुट्टै स्वागत गरेपछि भएको हो ।

 

भ्रमणअघि उत्तर कोरियाली सञ्चारमाध्यमलाई पठाएको सन्देशमा सी जिनपिङले चीन र उत्तर कोरियाबीचको परम्परागत मित्रता समय र अन्तर्राष्ट्रिय परिस्थितिले परिवर्तन गर्न नसक्ने बताएका थिए । उनले दुई देशको सम्बन्ध अटुट र दीर्घकालीन रहेको उल्लेख गरेका छन् ।

 

यो भ्रमणलाई चीनले उत्तर कोरियासँगको ऐतिहासिक तथा रणनीतिक सम्बन्ध पुनः बलियो बनाउने अवसरका रूपमा लिएको विश्लेषण गरिएको छ । पछिल्ला वर्षहरूमा उत्तर कोरिया र रुसबीच सैन्य तथा राजनीतिक सम्बन्ध नजिकिँदै गए पनि चीन अझै पनि उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण आर्थिक तथा कूटनीतिक साझेदार मानिन्छ ।

 

सी जिनपिङ प्योङयाङ पुग्नुअघि उत्तर कोरियाली नेता किम जोङ उनका गतिविधिले पनि अन्तर्राष्ट्रिय ध्यान तानेका थिए । भ्रमणको एक दिनअघि उनले एक प्रमुख हतियार उद्योगको निरीक्षण गर्दै विभिन्न प्रकारका ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र उत्पादन क्षमता विस्तारबारे जानकारी लिएका थिए ।

 

यसअघि गत साता किमले आणविक हतियार निर्माणमा प्रयोग हुने सामग्री उत्पादन गर्ने नयाँ कारखानाको निरीक्षण गर्दै देशको आणविक शक्ति तीव्र गतिमा विस्तार गर्ने योजना रहेको बताएका थिए ।

 

उत्तर कोरियाको आणविक कार्यक्रम चीनका लागि संवेदनशील विषय मानिन्छ । एकातिर बेइजिङ क्षेत्रीय स्थायित्व चाहन्छ भने अर्कोतर्फ उसले प्योङयाङलाई अमेरिकाको प्रभावको सन्तुलन कायम गर्ने महत्वपूर्ण साझेदारका रूपमा हेर्दै आएको छ ।

 

सी जिनपिङको यो भ्रमण सन् १९६१ मा हस्ताक्षर भएको चीन–उत्तर कोरिया मैत्री, सहयोग तथा पारस्परिक सहायता सन्धिको ६५औँ वार्षिकोत्सवसँग पनि जोडिएको छ । उक्त सन्धि चीनको एक मात्र पारस्परिक रक्षा सन्धि मानिन्छ । पछिल्ला वर्षहरूमा उत्तर र दक्षिण कोरियाबीच सम्बन्ध चिसिँदै गएको अवस्थामा दक्षिण कोरियाका राष्ट्रपति ली जाइ मिउंगले संवादलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

 

उता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियासँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्ने इच्छा देखाउँदै आएका छन् । यद्यपि उत्तर कोरियाले आणविक हतियार त्याग्ने अमेरिकी माग स्वीकार नगरेसम्म सम्बन्ध सुधार सहज नहुने विश्लेषण गरिएको छ ।

 

विश्लेषकहरूका अनुसार सी जिनपिङको प्योङयाङ भ्रमणले चीन, उत्तर कोरिया र रुसबीच बढ्दो निकटता तथा बदलिँदो विश्व शक्ति सन्तुलनबीच पूर्वी एसियाको कूटनीतिक समीकरणलाई थप महत्त्वपूर्ण बनाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार