- विश्वकै चर्चित प्रविधि उद्यमी एलन मस्कलाई अमेरिकी संघीय अदालतबाट ठूलो झट्का लागेको छ ।
एजेन्सी, ०५ जेठ । विश्वकै चर्चित प्रविधि उद्यमी एलन मस्कलाई अमेरिकी संघीय अदालतबाट ठूलो झट्का लागेको छ । क्यालिफोर्नियाको ओकल्यान्डस्थित संघीय अदालतले मस्कले कृत्रिम बौद्धिकता कम्पनी ओपन एआई र उसका शीर्ष अधिकारीविरुद्ध दायर गरेको बहुचर्चित मुद्दा पूर्ण रूपमा खारेज गरिदिएको हो ।
मस्कले अदालतमा च्याटजिपिटी निर्माण गर्ने कम्पनी ओपनएआईले मानवहितका लागि काम गर्ने आफ्नो मूल उद्देश्यलाई धोका दिएको आरोप लगाएका थिए । उनका अनुसार कम्पनी अहिले पूर्ण रूपमा नाफामुखी संस्थामा परिणत भएको छ ।
तीन सातासम्म चलेको लामो सुनुवाइपछि नौ सदस्यीय जूरीले ऐतिहासिक फैसला सुनाएको थियो । जूरीले दुई घण्टाभन्दा कम छलफलपछि मस्कले मुद्दा दायर गर्न कानुनी समयसीमा नाघिसकेको निष्कर्ष निकालेको थियो । त्यसपछि न्यायाधीश इभोन गोन्जालेज रोजर्सले जूरीको निष्कर्षलाई अन्तिम अदालतको फैसला मानेर मस्कका सबै दाबी खारेज गरिन् ।
यद्यपि, मस्क पक्षका वकिल स्टेभन मोलोले कानुनी लडाइँ अझै समाप्त नभएको बताएका छन् । उनले यो हारलाई अमेरिकी इतिहासका पुराना युद्धसँग तुलना गर्दै अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने स्पष्ट पारे ।
मस्क र ओपनएआईबीचको विवाद कम्पनी स्थापनाकालदेखि नै जोडिएको छ । सन् २०१५ मा मस्कले ओपनएआईको सह–स्थापना गरेका थिए । उनले प्रारम्भिक चरणमा करिब ३ करोड ८० लाख अमेरिकी डलर लगानीसमेत गरेका थिए । मस्कको आरोपअनुसार ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र उनका सहकर्मी ग्रेग ब्रोकम्यानले कम्पनीलाई पछाडिबाट नाफामुखी संरचनामा रूपान्तरण गरेका हुन् ।
मस्कले ओपनएआई सधैं गैरनाफामूलक संस्थाका रूपमा सञ्चालन हुनुपर्ने अडान राख्दै आएका छन् । अदालतमा सुनुवाइका क्रममा ग्रेग ब्रोकम्यानले ओपनएआईमा आफ्नो हिस्सेदारी करिब ३० अर्ब डलर बराबर रहेको खुलासा गरेका थिए ।
उता, स्याम अल्टम्यान र ओपनएआईले भने कम्पनीलाई सधैं गैरनाफामूलक बनाइराख्ने कुनै औपचारिक प्रतिबद्धता कहिल्यै नभएको दाबी गरेका छन् ।
ओपनएआईका वकिलहरूले अदालतमा मस्कको मुद्दा व्यावसायिक प्रतिस्पर्धाबाट प्रेरित भएको तर्क गरेका थिए । कम्पनीका अनुसार मस्कले तीव्र रूपमा विस्तार भइरहेको ओपनएआईमाथि एकल नियन्त्रण खोजेका थिए । त्यो सम्भव नभएपछि उनले मुद्दा दायर गरेको आरोप लगाइएको छ ।
ओपनएआईका वकिल विलियम साभिटले मस्कको वास्तविक उद्देश्य कम्पनीको तीव्र विकास रोक्नु रहेको बताए । उनका अनुसार मस्कले सन् २०२३ मा स्थापना गरेको आफ्नै कृत्रिम बौद्धिकता कम्पनी एक्सएआईलाई फाइदा पुग्ने उद्देश्यले यो कानुनी लडाइँ अघि बढाएका हुन् ।
सुनुवाइका क्रममा स्याम अल्टम्यानले प्रारम्भिक दिनमा आफूले मस्कलाई अत्यन्त सम्मान गर्ने गरेको बताएका थिए । तर, उनले मस्कले आफ्ना प्रतिबद्धता पूरा नगरेको र कठिन अवस्थामा कम्पनीलाई एक्लै छाडेको आरोप लगाए । अल्टम्यानले ‘आर्टिफिसियल जनरल इन्टेलिजेन्स’ अर्थात् मानिसभन्दा शक्तिशाली कृत्रिम बौद्धिकता कुनै एक व्यक्तिको नियन्त्रणमा हुनु नहुने धारणा पनि व्यक्त गरे ।
ओपनएआईमा ठूलो लगानीकर्ता रहेका माइक्रोसफ्टले समेत अदालतको निर्णयको स्वागत गर्दै ओपनएआईसँगको सहकार्य निरन्तर रहने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।