ट्रम्प र सी जिनपीङबीच भेटवार्ता जारी

२०८३ वैशाख ३१ विहिवार
सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी रहेको छ ।

एजेन्सी, २१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपीङबीच  बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी रहेको छ । ट्रम्प बैठकस्थल पुगिसकेका छन् भने दुवै नेताले हात मिलाएर औपचारिक भेट गरेका छन् ।

 

ट्रम्पको स्वागतका लागि राष्ट्रपति सी ‘ग्रेट हल अफ द पिपुल’को सिँढीबाट तल झरेका थिए । रेड कार्पेटमा दुवै नेताबीच भेट हुँदा चिनियाँ सैन्य टोली पनि त्यहाँ तैनाथ देखिएको थियो ।

 

‘ग्रेट हल अफ द पिपुल’ तियानआनमेन चोकको पश्चिम भागमा रहेको सरकारी भवन हो । उक्त भवन विदेशी नेताको स्वागत तथा अन्य सरकारी कार्यक्रमका लागि प्रयोग गरिन्छ ।

 

ट्रम्पको बिहीबारको पहिलो औपचारिक कार्यक्रम राष्ट्रपति सीसँगको स्वागत समारोह रहेको छ । त्यसपछि दुवै नेताबीच द्विपक्षीय वार्ता हुनेछ भने साँझ राजकीय भोजको आयोजना गरिएको छ ।

 

ट्रम्पको प्रतिनिधिमण्डलमा विद्युतीय सवारी कम्पनी टेस्लाका प्रमुख एलन मस्क र प्रविधि कम्पनी एनभिडियाका प्रमुख जेन्सन ह्वाङसहित विभिन्न प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहभागी छन् ।

 

राष्ट्रपति ट्रम्पको  बेइजिङमा भव्य स्वागत गरिएको छ, स्वागतमा ब्रास ब्याण्डको धुन बजाइएको थियो भने झण्डा फहराउँदै सर्वसाधारणले स्वागत गरेका थिए । त्यहाँ उपस्थित मानिसहरूले 'वेलकम, वेलकम, अ वार्म वेलकम' भन्दै नारा लगाएका थिए ।

 

अमेरिका र चीनका झण्डा पनि सँगै राखिएको थियो । दुई दिने महत्वपूर्ण बैठकअघि यसलाई दुवै देशबीच एकताको संकेतका रूपमा हेरिएको छ ।

 

ट्रम्प र उनको प्रतिनिधिमण्डलको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियो । उपराष्ट्रपति हान झेङ एयर फोर्स वन अवतरण गरेपछि रनवेमा नै ट्रम्पको स्वागत गर्न पुगेका थिए । हान झेङ चीनका शीर्ष नेतामध्ये एक मानिन्छन् । उनको उपस्थितिलाई बेइजिङले ट्रम्पलाई दिएको विशेष सम्मानका रूपमा व्याख्या गरिएको छ ।

 

यसअघि सन् २०१७ मा ट्रम्पको चीन भ्रमणका क्रममा तुलनात्मक रूपमा तल्लो तहका नेता तथा राज्य परिषद्का सदस्य याङ चिएछीलाई स्वागतका लागि पठाइएको थियो । हान झेङ भने गत वर्ष ट्रम्पको शपथग्रहण समारोहमा पनि सहभागी भएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार