भेनेजुएलाको १३.५ किलो उच्च सम्वर्धित युरेनियम अमेरिकाको नियन्त्रणमा

२०८३ वैशाख २७ आइतवार
सारांश
  • अमेरिकाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार कराकास नजिक रहेको केन्द्रबाट युरेनियम निकालेर सुरक्षित रूपमा अमेरिका पुर्‍याइएको हो ।

एजेन्सी, २७ वैशाख । अमेरिकाले भेनेजुएलाबाट १३.५ किलो उच्च सम्वर्धित युरेनियम आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । उक्त युरेनियम लामो समयदेखि भेनेजुएलाको पुरानो अनुसन्धान रिएक्टरमा राखिएको थियो । अमेरिकाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार कराकास नजिक रहेको केन्द्रबाट युरेनियम निकालेर सुरक्षित रूपमा अमेरिका पुर्‍याइएको हो ।

 

यो अभियान अमेरिका, भेनेजुएला, बेलायत र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको संयुक्त समन्वयमा सम्पन्न भएको बताइएको छ । अमेरिकी ऊर्जा विभागका अनुसार युरेनियमलाई स्थल र समुद्री मार्ग हुँदै अमेरिका ल्याइएको हो । अहिले यसलाई दक्षिण क्यारोलिनास्थित सवाना रिभर आणविक केन्द्रमा प्रशोधन गरिनेछ ।

 

अमेरिकी राष्ट्रिय आणविक सुरक्षा प्रशासनले यो अभियान दक्षिण अमेरिका र अमेरिकाको सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको जनाएको छ । प्रशासनका अनुसार भेनेजुएलाको आरभी–१ अनुसन्धान रिएक्टर दशकौँसम्म आणविक अनुसन्धानमा प्रयोग गरिएको थियो । सन् १९९१ मा अनुसन्धान कार्य बन्द भए पनि त्यहाँ उच्च सम्वर्धित युरेनियम सुरक्षित रूपमा राखिएको थियो ।

 

अमेरिकी अधिकारीहरूका अनुसार पूरा अभियान छ साताभन्दा कम समयमै सम्पन्न गरिएको हो । युरेनियमलाई विशेष सुरक्षा कन्टेनरमा राखेर करिब १०० माइल सडकमार्ग हुँदै बन्दरगाहसम्म लगिएको थियो । त्यसपछि बेलायती आणविक ढुवानी कम्पनीको जहाजमार्फत अमेरिका पठाइएको जनाइएको छ ।

 

अभियानको निगरानी गर्न राष्ट्रिय आणविक सुरक्षा प्रशासनका उपप्रशासक डाक्टर म्याट नेपोली पनि भेनेजुएला पुगेका थिए । उनले अनुभवी टोलीका कारण अभियान सफल भएको बताएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पनि अभियानको पुष्टि गर्दै यसलाई जटिल र संवेदनशील कार्य भनेको छ ।

 

प्रशासनका अनुसार सन् १९९६ यता विश्वका विभिन्न देशबाट ७ हजार ३५० किलोभन्दा बढी उच्च संवर्धित युरेनियम र प्लुटोनियम हटाउने वा सुरक्षित बनाउने काम गरिसकिएको छ ।

 

यसबीच अमेरिकी प्रशासनले लामो समयदेखि इरानसँग रहेको उच्च सम्वर्धित युरेनियमबारे दबाब बढाइरहेको छ । विभिन्न प्रतिवेदनअनुसार इरानसँग करिब ४०८ किलो यस्ता सामग्री रहेको बताइए पनि अमेरिका त्यसलाई हत्याउन भने सफल भएको छैन ।

 

हाल अमेरिका र भेनेजुएलाबीचको सम्बन्धमा पनि परिवर्तन देखिन थालेको छ । पछिल्ला महिनाहरूमा अमेरिकी गुप्तचर निकायका प्रमुख जोन र्‍याटक्लिफसहित उच्च अधिकारीहरू भेनेजुएला पुगेका छन् । सात वर्षपछि दुई देशबीच व्यावसायिक हवाई उडान पुनः सञ्चालनमा आएको छ भने अमेरिकी दूतावास पनि पुनः खोलिएको छ । विश्वकै ठूलो तेल भण्डार भएका देशमध्ये भेनेजुएला पनि एक हो । प्रतिवेदनहरूमा अमेरिकाले अहिले त्यहाँ ऊर्जा र खानी क्षेत्रमा लगानी तथा व्यापार विस्तार गर्ने प्रयास गरिरहेको उल्लेख गरिएको छ । यद्यपि केही लोकतन्त्र समर्थक समूहहरूले अमेरिकी नीतिको आलोचना गरेका छन् ।

 

यसैबीच अमेरिकाले सन् २०२६ जनवरीमा भेनेजुएलामा ठूलो सैन्य अभियान सञ्चालन गरेको थियो । अमेरिकी सेनाले राजधानी कराकासमा कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरिएको थियो । अमेरिकाले उनीमाथि लागुऔषध तस्करी र आतंकवादसँग सम्बन्धित आरोप लगाएको थियो । त्यसपछि भेनेजुएलामा राजनीतिक संकट गहिरिएको थियो ।

 

मादुरो पक्राउ परेपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाइएको थियो । अमेरिकाले नयाँ सरकारलाई समर्थन गर्दै तेल व्यापारसहित केही आर्थिक प्रतिबन्धहरू खुकुलो बनाएको थियो । तर रूस, चीनलगायत केही देशहरूले अमेरिकी कदमको विरोध गरेका थिए । त्यसयता अमेरिका र भेनेजुएलाबीच कूटनीतिक सम्पर्क र आर्थिक सहकार्य बढ्दै गएको बताइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार