भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज

२०८३ वैशाख २१ सोमवार
सारांश
  • पश्चिम बंगाल, तमिलनाडु, असम, केरल र पुडुचेरीका नतिजा आज सार्बजनिक हुन लागेको हो ।

काठमाण्डौ, २१ वैशाख । भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशमा सम्पन्न प्रदेशसभा निर्वाचनको मतगणना आज सुरु हुँदैछ । पश्चिम बंगाल, तमिलनाडु, असम, केरल र पुडुचेरीका नतिजा आज सार्बजनिक हुन लागेको हो ।

 

भारतको निर्वाचन आयोगका अनुसार मतगणनाका सबै तयारी पूरा भइसकेका छन् र कडा सुरक्षा व्यवस्थाबीच बिहान ८ बजेदेखि मतगणना सुरु हुनेछ । सुरुमा हुलाकमार्फत आएका मतपत्र गणना गरिनेछ भने त्यसपछि विद्युतीय मतदान मेसिनका मत गनिनेछन् । प्रारम्भिक नतिजा दिउँसोसम्म आउने अनुमान गरिएको छ ।

 

निर्वाचन सम्पन्न भएसँगै सबै राजनीतिक दलहरूले आ–आफ्नो जितको दाबी गरेका छन्। तर वास्तविक अवस्था मतगणनापछि मात्र स्पष्ट हुनेछ । दलहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । मतगणनाको एक दिनअघि दलहरूले सम्भावित राजनीतिक अवस्था समीक्षा गर्दै आन्तरिक बैठकसमेत गरेका थिए ।

 

पश्चिम बंगालमा सबैभन्दा कडा प्रतिस्पर्धा देखिएको छ । त्यहाँ अन्तिम समयसम्म चुनावी गतिविधि तीव्र बनेको थियो ।

तमिलनाडुमा द्रमुक नेतृत्वको गठबन्धन बलियो अवस्थामा रहेको अनुमान गरिएको छ । उच्च मतदान र प्रारम्भिक सर्वेक्षणहरूले यसलाई समर्थन गरेका छन् । विदुथलै चिरुथैगल कच्चीका प्रमुख थोल तिरुमावलवनले द्रमुक गठबन्धनले स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् । यहाँ तीन तहको सुरक्षा व्यवस्थासहित मतगणनाको तयारी पूरा गरिएको छ ।

 

असममा भारतीय जनता पार्टीले आफ्नो कार्यकालका उपलब्धिका आधारमा पुनः सत्ता कायम गर्ने अपेक्षा राखेको छ । केन्द्रीय मन्त्री पियुष गोयलले असम र पुडुचेरीमा भाजपा विजयी हुने विश्वास व्यक्त गरेका छन् । विपक्षी दलहरूले भने भ्रष्टाचारका मुद्दा उठाउँदै कांग्रेसको पुनरागमन हुने दाबी गरेका छन् । असममा महिलाको मतदान प्रतिशत पुरुषभन्दा बढी रहेको छ, जसले नतिजामा प्रभाव पार्न सक्ने बताइएको छ ।

 

केरलमा सत्तारुढ वामपन्थी लोकतान्त्रिक मोर्चा लगातार दोस्रो कार्यकालका लागि प्रयासरत छ । तर प्रारम्भिक सर्वेक्षणहरू विभाजित देखिएका छन् र कांग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चाले सत्ता फर्काउने आशा राखेको छ । कांग्रेस नेता इमरान प्रतापगढीले पाँचै क्षेत्रमा भाजपा सरकार बनाउन नसक्ने दाबी गरेका छन् । उच्च मतदान र महिलाको सक्रिय सहभागिताले केरलको राजनीतिक वातावरण थप चासोपूर्ण बनेको छ ।

 

पुडुचेरीमा पनि कडा प्रतिस्पर्धा देखिएको छ । भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन आफ्नो स्थिति मजबुत बनाउन प्रयासरत छ भने कांग्रेस–द्रमुक गठबन्धन पुनरागमनको लक्ष्यमा छ । यहाँ पनि उल्लेखनीय रूपमा उच्च मतदान भएको छ ।

 

यस निर्वाचनमा उच्च मतदान, कडा सुरक्षा व्यवस्था र प्रत्यक्ष प्रसारणजस्ता प्रविधिको प्रयोगले निर्वाचन प्रक्रिया थप विकसित भएको संकेत दिएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार