मोज्तबा खामेनी बने इरानका नयाँ सर्वोच्च नेता

२०८२ फागुन २५ गते सोमवार
सारांश
  • इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेताका रूपमा घोषणा गरिएको छ । ईरानी सरकारी टेलिभिजनले सोमबार बिहान यसबारे औपचारिक जानकारी दिएको हो ।

काठमाण्डौ, २५ फाल्गुण । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेताका रूपमा घोषणा गरिएको छ । ईरानी सरकारी टेलिभिजनले सोमबार बिहान यसबारे औपचारिक जानकारी दिएको हो ।

 

अयातुल्ला अली खामेनीको हत्या भएपछि सुरु भएको तनाव र युद्धको अवस्थाबीच यस्तो निर्णय गरिएको जनाइएको छ । मोज्तबा खामेनीलाई लामो समयदेखि सम्भावित उत्तराधिकारीका रूपमा हेरिँदै आएको थियो । उल्लेखनीय कुरा के भने उनले यसअघि कुनै सरकारी पदका लागि चुनाव लडेका थिएनन् र कुनै औपचारिक पदमा नियुक्त पनि भएका थिएनन् ।

 

ईरानको ८८ सदस्यीय धार्मिक विशेषज्ञ सभाले मोज्तबालाई नयाँ सर्वोच्च नेता चयन गरेको हो । उक्त सभा धार्मिक विद्वानहरूको समूह हो, जसले देशको सर्वोच्च नेता छनोट गर्ने अधिकार राख्छ । सरकारी टेलिभिजनले सार्वजनिक गरेको वक्तव्यमा उनलाई बलियो समर्थनका आधारमा चयन गरिएको उल्लेख गर्दै देशवासीलाई उनको नेतृत्वमा एकजुट हुन आग्रह गरिएको छ ।

 

इस्लामी क्रान्तिपछि करिब आधा शताब्दीमा सर्वोच्च नेताको पदमा सत्ता हस्तान्तरण भएको यो दोस्रो पटक हो । केही दिनदेखि सार्वजनिक रूपमा नदेखिएका मोज्तबा अब ईरानको सत्ता संरचनाको केन्द्रमा रहनेछन् । उनी देशका महत्वपूर्ण निर्णय गर्ने अन्तिम अधिकारसहित सेना र शक्तिशाली अर्धसैनिक संगठन रिभोल्युसनरी गार्डका सर्वोच्च कमाण्डर पनि हुनेछन् ।

 

यद्यपि उनको नेतृत्वलाई अमेरिकाको विरोध सामना गर्नुपर्ने संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि खामेनीका छोरालाई आफूले स्वीकार नगर्ने टिप्पणी गरेका थिए । उनले ईरानमा शान्ति र सहकार्य ल्याउने नेतृत्व आवश्यक रहेको बताएका थिए ।

 

यसबीच ईरानको रिभोल्युसनरी गार्डले मोज्तबा खामेनीलाई समर्थन गर्ने घोषणा गरेको छ भने ईरान समर्थित लेबनानी संगठन हिजबुल्लाहले पनि उनको तस्बिर सार्वजनिक गर्दै इस्लामी क्रान्तिको नेतृत्वको रूपमा समर्थन जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार